काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेपछि अमेरिकी डलर झनै बलियो भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले कच्चा तेलको भाउमा भारी गिरावट आएपछि डलरमा उछाल आएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार १ डलर बराबर १२३ रुपैयाँ २४ पैसा बिक्रीदर तोकेको छ । मंगलबारको तुलनामा बुधबार नेपाली रुपैयाँ डलरसंग ४८ पैसाले कमजोर भएको छ । हालसम्मको सर्वाधिक उच्च हो ।
विश्व बजारमा तेलको भाउ घटेर प्रतिव्यारेल १३ डलरमा झरेको छ ।विश्वव्यापी बन्द (लकडाउन) भएपछि तेलको मागमा भारी गिरावट आउँदा मूल्य पनि घटेर तल्लो विन्दुमा पुगेको हो ।
डलर महंगिएर नयाँ रेकर्ड कायम, १ डलर किन्न १२२.७६ रुपैयाँ खर्च गर्नुपर्ने
भारु कमजोर भएर ७७ नजिक पुगेको छ । नेपाल र भारतबीच स्थिर विनिमयदर (फिक्सपेग) भएकाले भारु कमजोर हुनसाथ यसको असर नेपाली रुपैयाँ पनि पर्छ । विश्व बजारमा तेलको माग ज्यादै न्युन भएपछि मूल्य घटेर तल्लो विन्दुमा आउँदा डलर मजवुत हुन पुगेको हो ।
तेलको बढी खपत गर्ने भारत र चीनलगायत विश्व नै ठप्प भएको छ । तेलका माग नबढुन्जेलसम्म डलर माथिनै गइरहने देखिएको छ ।
कोरोना भाइरस संक्रमण महामारीले उद्योग व्यवसाय क्षेत्र बन्द हुँदा विश्वमा तेलका मागमा भारी कटौती भएको विश्लेषकहरुको भनाई छ । एक महिनाका बीचमा भारत र चीनलगायत उदयीमान मुलुकहरुबाट १०० अर्ब डलर लगानी पुन अमेरिकातिर गएको छ ।
कोरोना भाइरसले अर्थतन्त्रलाई कमजोर बनाएका बेला डलर बलियो हुँदा मूल्यवृद्धिमा चाप पर्ने अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउछन । डलर बलियो हुँदै जानु नेपाली अर्थतन्त्रका लागि थप चुनौति भएको उनको तर्क छ ।
डलर महंगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । डलरमा पठाउने रेमिट्यान्स बढी हुने छ । यस्तै निर्यात व्यापारमा फाइदा हुन्छ ।
हाल मुलुक लकडाउनमा भएकाले निकासी बन्द छ । यस्तै विश्वव्यापी महामारीले रेमिट्यान्स आप्रवाह ठप्प छ । डलर बढ्दा पनि यी दुई क्षेत्रले लाभ लिन सक्ने अवस्था छैन ।
यसैगरी आयात गरिने वस्तु महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजादा बढी दिनुपर्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली किन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ ।