कोरोना भाइरसका कारण नेपाल अर्थतन्त्रमा ठूलो गिरावट आउने विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जार्भोसले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले कोरोना भाइरस महामारीले दक्षिण एसियाली अर्थतन्त्र र नेपालमा पार्ने प्रभावका विषयमा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विश्व, दक्षिण एसिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य अनुपातले कमी आउने छ । महामारीभन्दा पहिला आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको थियो । तर कोभिड–१९ का कारणले यस नेपालको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहने उनको भनाइ छ ।
‘यो विगत चालीस वर्षकै सर्वाधिक खराब वृद्धिदर हो । आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा छ,’ उनले भने । विश्वव्यापी अर्थतन्त्रमा आउँदा केही वर्षसम्म कोरोना भाइरस महामारीको प्रभाव दुर्भाग्यपूर्ण हुने बताए ।
नेपाल दुई ठूला छिमेकीको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकरात्मक प्रभाव पार्नेछ ।
यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो । सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ । सामान्यतयाः मन्दीहरु मागद्वारा हाकिएका हुन्छन्, तर विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको छ । अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेका छौं । यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वद्धिलाई फरक ढंगले पुनरजीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
यो संक्रासलाई अलग रुपमा बुझ्नाले देशहरुलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्नेछ । विश्व बैंकका प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको जीडीपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ । यो नेपालका लागि विश्वका अन्य भागहरुजस्तै ठूलो प्रहार हो ।
विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनियमयमा प्रभाव पानेछ । नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् । आपूर्ति प्रणाली पारेको झटका कारण कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने हामीले अपेक्षा गरेका छौं भने भने वित्तीय घाटा र चालु घाटा दुवै विस्तारित हुने अपेक्षा गरिएको छ ।
विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको छ । विश्व बैंक आगामी वर्ष प्राथमिकताका आधारमा निकै काम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्दछ । पहिलो प्राथमिकता तत्काल स्वास्थ्यका लागि चाल्नु पर्ने कदम हुनुपर्छ र सरकार यसअघि नै यस्तो काम गरिरहेको छ । दोस्रो तत्काल सामाजिक सहयोग र रोजगारी हो । ठूलो संख्यामा विदेशिएका नेपालीहरु स्वदेश फर्कदैछन्, जसका लागि ठूलो आकारमा रोजगारीको आवश्यकता छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमहरु र अन्य यस्तै खालका कार्यक्रमहरुमा ध्यान केन्द्रीत गरिनुपर्ने उनले बताए । यो आपूर्तिजन्य झट्का भएकाले, तेस्रो हामीले वस्तुको उत्पादन सुचारु रहने सुनिश्चित तुल्याउँदै साना तथा मझौला उद्योगहरूलाई केन्द्रीत र बढावा दिँदै वास्तविक क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ ।
विश्व बैंकले विद्यमान आफ्नो कुल लगानी (पोर्टफोलियो) परियोजनाहरुबाट पोर्टफोलियाको १८ प्रतिशत कोभिड–१९ को प्रतिक्रियात्मक क्षेत्रमा केन्द्रीत गरेको छ ।