काठमाडौं। भ्रष्टाचार र दलीयकरणविरुद्धको विद्रोह सफल भएपछि जेनजीको रुचाइअनुसार प्रधानमन्त्री बनेकी सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले कुशासनको नमुना देखाएका छन्।
प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती संगीता श्रेष्ठलाई स्वकीय सचिवमा नियुक्ति दिइएको विषयमा जेनजीको संस्था नेपाल जेनजी फ्रन्टले ध्यानाकर्षण भएको भन्दै राजीनामा मागेको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको खबर आएपछि नेपाल जेनजी फ्रन्टले राजीनामा मागेको हो।
राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग भएको नेपाल जेनजी फ्रन्टले बताएको छ। सुशासन, नैतिकता, जवाफदेहीता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको नेपाल जेनजी फ्रन्टको ठहर छ।
जेनजी फ्रन्टले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठको तत्काल बर्खास्ती गर्न र उनले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ।
सुशासन र जवाफदेहिताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भया ? प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी दिनुपर्ने जेनजी फ्रन्टको माग छ।
नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी छन्। संगीता र कमला दुवै असोज २ मा नियुक्त भएका हुन्। सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको बुझिएको छ। नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए ।
आदर्श सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी हुन्।
विवादमा आएपछि श्रेष्ठले प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाउ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको र त्यसक्रममा श्रीमतीले नियुक्त गरेको प्रतिक्रिया दिएका छन्।
भदाै २३ र २४ काे जेनजी प्रदर्शनपछि भदाै २७ मा प्रधानमन्त्री नियुक्त हुनासाथ भ्रष्टाचार नियन्त्रण र सुशासनमा ध्यान दिइने वाचा कार्कीले गरेकी थिइन्। तर, सिंहदरबार सचिवालयबाटै प्रधानमन्त्रीका स्वकीय सचिवनै कुशासनकाे चरित्र देखाएका छन्। यसबारे प्रधानमन्त्री कार्यालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकाे छैन्।
जेनजीले सुशीला सरकारसँग भ्रष्टाचार नियन्त्रण र सुशासनलगायत विभिन्न बुँदासहितमाग राखिसकेकाे छ। तर, प्रधानमन्त्रीकै सचिवालयमा नियुक्त पदाधिकारीले कुशासन देखिने अभ्यास गरेपछि नैतिकताकाे प्रश्न सिंहदबारतिरै फर्किएकाे छ–श्रेष्ठले राजीनामा देलान् वा प्रधानमन्त्रीले नै बर्खास्त गर्लिन्?
रक्षा बमकाे गुनासाे-रगतकाे अपमान भयाे
जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई पदमुक्त गर्न माग गरेकी छन्। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको समाचार बाहिर आएपछि बमले सो माग गरेकी हुन्। साथै, उनले श्रेष्ठका परिवारका सदस्य तथा नातेदारलाई दिलाएको नियुक्ति पनि खारेज गर्न माग गरिन्।
जेनजी विद्रोह रकमको भ्रष्टाचारविरुद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावादविरुद्ध पनि रहेको बताइन्। साथै उनले नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम सरासर गलत भएको बताएकी छिन्।
बमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ’भदौ २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं। तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम गरेका छन्, त्यो सरासर गलत भएको छ।’
संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनका लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको संवेदनशील अवस्थामा बनेको सरकारको फाइदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनका लागि बगेको रगतको अपमान भएको उनको भनाइ छ।
‘भदौ २३ मा पारदर्शिता र जवाफदेहिता’ हाम्रो मूल मागमध्यको एक थियो। नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जवाफदेही हुनैपर्छ। आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्ति तुरुन्तै खारेज गरियोस।नागरिक सरकार सीमित व्यक्तिको चंगुलमा फस्नुहुँदैन। सरकार बेलैमा सचेत होओस्,’ उनले भनेकी छन्।
सचिवलाई सुशासनकाे निर्देशन
आइतबार मात्रै आफ्नै सचिवालयमा कुशासन भएका खबर सार्वजनिक भइरहे पनि प्रधानमन्त्री कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवलाई सिंहदबार बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन्। तर, सचिवालयमा भइरहेको बदमासीबारे कुनै निर्णय हालसम्म लिएकी छैनन्।
सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्न उनको निर्देशन थियो।
जेनजी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्न सचिवलाई प्रधानमन्त्रीले सुझाएकी छन्।
उनले भनिन्, ‘नीतिगत प्रशासनिक जे काम छन्, फटाफट अघि बढाउनुहोस्। मन्त्रीको भौतिक उपस्थिति छैन भनेकै आधारमा कुनै काम नरोक्नुहोस्। यही कारण जनताको काम नहुने र सेवाग्राहीले दुःख पाउने अवस्था नहोस्।’
राहदानी, अनुमतिपत्र, कर भुक्तानीजस्ता अत्यावश्यक र उच्च जनसम्पर्क हुने सेवामा नागरिकको भौतिक उपस्थिति शून्यमा झार्ने गरी ई–गभर्नेन्स प्रणालीलाई युद्धस्तरमा लागू गर्न पनि उनले निर्देशन दिएकी छन्।
