काठमाडौं। धनुषाको कमला नगरपालिका तत्कालीन मेयर रामउदगार गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार गोइतसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरुले नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा अनियमितता गरेको अख्तियारकाे आराेप छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदावी लिइएको छ।
मुद्दा दायर हुनेमा तत्कालीन नगर प्रमुख गोइत, कमला नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल (पाँचौ) संजीवकुमार महतो र जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, नगरपालिकाका तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन तथा ठेकेदार इन्फ्रास्टक्चर एस एण्ड बी बिल्डर्स प्रालिका अध्यक्ष सन्तोषकुमार यादव छन्।
ठेक्का लगाउँदा सबैभन्दा कम कबोल गर्नेलाई नदिएर बढी कबोल गर्ने यादवको कम्पनीलाई मिलेमतोमा ठेक्का सुम्पिएको खुलेपछि बढी हुन आउने रकमलाई नै बिगो कायम गरिएको हो। मेयर, अरु ३ कर्मचारी, कार्यपालिकाका ५ सदस्य र ठेकेदारलाई छुट्टाछुट्टै बिगो कायम गरिएको छ।
आव २०७६/७७ का लागि आह्वान गरिएको ठेक्कामा ४२ लाख ७४ हजार ५५१ कबोल गर्नेलाई नदिएर ७२ लाख २१ हजार ६३० कबोल गर्ने यादवको कम्पनीलाई दिइएको थियो। त्यसपछि अख्तियारमा उजुरी परेकामा मिलेमतोमा अनियमितता भएको अनुसन्धानबाट खुलेको थियो।