विश्व नै अहिले कोरोना भाइरस (कोभिड –१९) को संक्रमणबाट ग्रसित छ । अधिकांश मुलुक अहिले लकडाउनको अवस्थामा छन् । लाखौं मानिसहरु संक्रमित भएर अस्पतालमा उपचार गराइरहेका छन् भने लाखौं मानिसको ज्यान समेत भाइरसले लिइसकेको छ ।
भाइरसको उपचारका लागि कुनै औषधी र भ्याक्सीन हालसम्म बनिसकेको छैन । यस्तो अवस्थामा एकबाट अर्कोलाइ बचाउनका लागि लकडाउनलाई मुख्य माध्यमको रुपमा विश्वले नै लिइरहेको छ ।
विश्वका केहि मुलुक चीन सहितका देशमा भाइरस नियन्त्रणमा आइसकेको छ भने केहि देशमा नियन्त्रण बाहिर पनि छ । ती देशहरुले स्वास्थ्य उपचारलाई विषेश प्रबन्ध गरिरहेको छ । विकसित मुलुकमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिइएको पाइन्छ ।
विकासन्मुख देशको मुख्य समस्या भनेकै स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकतामा नराख्नु नै हो । अहिले नेपालले पनि निजी स्वास्थ्य संस्थाहरुलाई प्राथमिकतामा राखेको पाइँदैन ।
यो पनि हेर्नुहोस,
निजी स्वास्थ्य संस्थालाई हेर्ने राज्यको दृष्टिकोण विभेदकारी छः स्वास्थ्य व्यवसायी संघका अध्यक्ष वसन्त चौधरीको विचार
राजनीतिक दलहरुले शिक्षा,स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भनेपनि व्यवहारिक रुपमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको पाइँदैन । अहिले पनि स्वास्थ्य क्षेत्रलाई सरकारको आर्थिक नियमावलीमा पारेको देखिदंैन । यसलाई सेवा क्षेत्रको रुपमा राखेर सबैभन्दा ओझेलमा पारिएको छ ।
अहिले सरकारले केहि प्रयास गरिरहेको देखिन्छ । तर उद्योग व्यवसायभन्दा स्वास्थ्य क्षेत्रलाई सधै विभेद गरेको पाइन्छ । उत्पादन मुलुक भनेर सिमेन्ट, रड आदीलाई लिइन्छ तर, स्वास्थ्यलाई लिइएको पाइदैंन । तर, अहिलेको समयले अरु क्षेत्रमा पछाडी परे पनि स्वास्थ्य क्षेत्रमा भने धेरै नै अगाडी बढ्नु पर्ने पाठ सिकाएको छ ।
यो सरकारी स्वास्थ्य क्षेत्र र निजी क्षेत्रले सञ्चालित स्वास्थ्य क्षेत्र दुवैमा । सहि ढंगले अस्पतालहरुको विकास भएन भने मानिसको जीवन ठूलो खतरामा रहेछ भन्ने कुरा विकसित देशका घटनाहरुले पनि देखाइदिएको छ ।
पहिला मान्छेहरुलाई पैसा भयो भने विकसित मुलुकमा गएर उपचार गर्न सकिन्छ भन्ने सोच थियो तर, अहिलेको लकडाउनले त्यो पनि देखाइदिएको छ की पैसाले मात्र हुँदैन रहेछ । आफ्नै देशमा सुुविधासम्पन्न र राम्रो अस्पतालहरु चाहिने रहेछ भनेर ।
त्योसँगै काठमाडौंकेन्द्रित मात्र हैन, हरेक प्रदेश र जिल्लाजिल्लामा सुविधासम्पन्न अस्पतालहरु चाहिने रहेछ भन्ने राम्रो पाठ सिकाएको छ । लकडाउनले एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने भएकोले सबै प्रदेश र जिल्लाहरुमा सुविधासम्पन्न अस्पतालहरु सञ्चालन गर्न सकिएन भने मानिसको जीवन जोखिममा रहेछ भन्ने प्रस्ट पारेको छ ।
हामी आफ्नो जीवनसँग सम्बन्धित भएको हुनाले आफै लकडाउनमा सहज तरिकाले घरमा बसिरहेका छौं । पहिला मान्छेहरुलाई भेटन् नजाँदा रिसाउँथे भने अहिले भेट्न जाँदा रिसाउने अवस्था आएको छ । किन कि यो आफुसँग सम्बन्धित छ ।
अहिलेको अवस्थामा नेपालमा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको पनि छैन र लगानीका लागि कुनै प्रोत्साहन पनि दिएको छैन । जबसम्म प्रोत्साहितका कुराहरु आउँदैन तबसम्म स्वास्थ्य क्षेत्रमा लगानी बढ्न सक्दैन ।
सरकारले सुरुमा हाइड्रोपावरको क्षेत्रमा उत्साहजनक प्याकेजहरु ल्याउँदा लगानी धेरै बढेको छ र बिजुलीमा आत्मनिर्भर हुने अवस्थामा पुग्न थालिसकेका छौं । उत्पादनमुुलक उद्योगहरुका लागि पनि सरकारले बाटो निर्माणदेखि विभिन्न प्याकेजहरु ल्याएसँगै सिमेन्टमा आत्मनिर्भर भइसकेका छौं ।
यस्तो अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रमा दिनुपर्ने प्याकेजहरु धेरै छन् । अहिलेसम्म कुनैपनि संघसस्थाले स्वास्थ्य क्षेत्र पनि समस्यामा छन् भने बोलेको सुनिदैन । नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघ लगायत निजी क्षेत्रका छाता संगठनहरुले स्वास्थ्य संस्थाको समस्याको बारेमा बोल्न हिचकिचाइरहेका छन् ।
निजी क्षेत्रबाटै सञ्चालित स्वास्थ्यसंस्थाहरु समस्यामा पर्दा समेत ती संगठनहरुले नबोलिँदा सर्वसाधारणहरुमा कोरोना भाइरसपनि अस्पतालहरुसँगै सम्बन्धित भएकोले भरिभराउ होला भन्न लाग्नु स्वभाविक नै हो ।
तर, वास्तविकता अर्कै छ । अहिले अस्पतालहरुमा विरामीको संख्या १० प्रतिशत भन्दा कम छ । एक हिसावले यो राम्रो कुरा हो । मानिसहरु विरामी नहुनु भनेको सकारात्मक विषय हो तर, अस्पताल अरु उद्योगहरु जस्तो छैन । जसलाई हामीले निश्चित समयका लागि बन्द गरौं र कर्मचारीहरुलाई पनि विदामा पठाउँ भन्न सम्भव छैन ।
यो त अहिलेको युद्धमा लड्ने मुख्य सिपाही भनेको स्वास्थ्यकर्मीहरु नै हुन् । उनिहरुलाई प्रत्येक अस्पताल निजी होस वा सरकारी सबैमा स्टाण्डबाइमा राखिएको छ । अस्पतालमा कार्यरतहरु आफ्नो जीवनलाई समेत दाउमा राखेर कोरोना भाइरसको संक्रमितहरु आएमा कसरी उपचार गर्ने भन्ने विषयमा विभिन्न तालिमहरु लिइरहेका छन् ।
आफ्नो परिवारलाई छोडेर अस्पतालमा आएर बस्नु भनेको त्यो नै सबैभन्दा ठूलो हिम्मत हो । यस्तो बेलामा सरकारले अवश्यपनि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकताको रुपमा राख्नु पर्ने बेला आएको छ ।
सरकारी अस्पताल बाहेक निजी अस्पतालहरुमा कार्यरत कर्मचारीहरुलाई तलब खुवाउने देखी विजुली, पानी देखी व्यक्तिगत सुरक्षा सामाग्री (पीपीआइ) समेत आफ्नै खर्चमा किनेर जोहो गरिरहेका छन् । त्यसो हुँदा सञ्चालन खर्च बढिरहेको छ भने आम्दानी ९० प्रतिशतले खस्किएको छ । यस्तो अवस्थामा निजी क्षेत्रद्धारा सञ्चालित अस्पताललाई कसरी बचाउने भन्ने चिन्ता प्रमुख हो ।
अहिले अस्पतालहरुलाई बचाउन सकिएन भने ठुलो समस्या आउँन सक्छ । अहिले निजी क्षेत्रका अस्पतालहरुले भने कोरोना भाइरसको उपचारका लागि सबै तयारीहरु पुरा गरेर बसेका छन् । हुन त अहिलेसम्म नेपालमा ठूलो संक्रमण त देखिएको छैन, र आशा गरौं धेरै संक्रमितहरु नहोस ।
तर,समस्या आयो भने त सरकारी अस्पतालहरुले मात्र धान्न सक्दैन । त्यसपछि जाने भनेको त निजी अस्पतालमै हो । त्यसैले सरकारले प्राथमिकतामा राख्ने निजी र सरकारी दुबैलाई एकै किसिमले हेरेर राख्नु पर्ने अवस्था सिर्जना भएको छ ।
अहिले निजी क्षेत्रका संघसंस्थाहरुलाई पनि स्वास्थ्य क्षेत्रको विषयमा जानकारी नभएको बुझिएको छ । उनिहरुको दिमागमा पनि अहिले अस्पतालहरु नै सबैभन्दा फाइदामा छन् भन्ने भान परिरहेको छ । किन की अहिलेसम्म नेपालमा ठूला लगानीहरु अझै भएको छैन । यसका लागि सरकारले अस्पताल क्षेत्रमा लगानी भित्र्याउने वातावरण बनायो भने भाइरसको नियन्त्रणपछि धेरै लगानीहरु भित्रिन सक्छ ।
स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्छ भनेर अहिले सामाजिक,नैतिक र आर्थिक जिम्मेवारी लिनुपर्ने बेला आएको छ । आज लगानी गरेर भोलिनै प्रतिफल लिन्छु भनेर अस्पतालमा लगानी गर्छन् भने त्यो सम्भव देखिदैंन । धैर्यता पनि चाहिन्छ र देश, समाजप्रति जिम्मेवार बोध भएकाहरुले भने स्वास्थ्य क्षेत्रमा लगानी गर्न सक्छन् ।
तर पनि लगानी गर्नका लागि अहिलेको अवस्थामा काठमाडौं लगायत देशभरी नै सुविधासम्पन्न अस्पतालहरु चाहिन्छ । त्यसका लागि सरकारले प्राथमिकताको क्षेत्रमा राखेर लगानीकर्ताहरुलाई बढिभन्दा बढि सहुलियत दिएर अगाडी बढाउनुपर्छ ।
अर्को डर के छ भने वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्सको भरमा हाम्रो अर्थतन्त्र धान्ने हो । तर, अहिले विदेशमै आफ्नै आर्थिक समस्याको कारणले केहि समय रेमिट्यान्स कम हुन्छ । त्यो हामीले चाहेर होस् या नचाहेर ,नियन्त्रण गर्न सकिदैंन ।
तर,रेमिट्यान्स कम भइरहेको बेलामा पनि हाम्रो स्वाथ्य क्षेत्र राम्रो भएन भने पैसा भएका मानिसहरु बाहिरी मुलुकमा गएर उपचार गराउन थाले भने रेमिट्यान्स कम हुने र विदेशी मुद्रा बाहिर जाने डरलाग्दो अवस्था आउँन सक्छ ।
त्यस कारण नेपालमा राम्रा डक्टरहरु,टेक्नोलोजीहरु,उपकरणहरु पनि ल्याउन सकिन्छ । हुन त नेपाली डक्टरहरु नै राम्रा छन भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणले पनि देखाएको छ । त्यसबाट के विश्वास जन्मेको छ भने हामी अरुभन्दा कम छैनौं ।
तर, यो विषयमा बोलेर मात्र त भएन त्यसलाई आवश्यक संरचनाहरु हुनुपर्छ । संरचनाका लागि लगानी चाहिन्छ । लगानीका लागि सरकार र बैकहरुबाहेक अरु कोहि पनि छैन । त्यसैले अहिले अस्पतालहरुलाई कसरी बचाउने भन्ने तर्फ सरकार लाग्नुपर्छ र त्यसपछि लगानी भित्र्याउन आवश्यक वातावरण सिर्जना गर्नुपर्छ ।
पश्चिमी देशहरुमा भाइरसको जुन समस्यामा खडा गरेको छ । पछि उनिहरुलाई आर्थिक व्यवस्थापनमा समस्या हुँदैन किनकी उनिहरु आर्थिक रुपमा बलिया छन् हामीलाई आर्थिक व्यवस्थापन गर्न धेरै दुख र कष्टकर हुन्छ । त्यसकारण सरकारले पहिलो प्राथमिकतामा ती उद्योगहरुलाई दिनुपर्छ ।
जसले रोजगारी पनि दिन्छ । अहिले त झण्डै निजी अस्पतालहरुमा ७५ हजार भन्दा बढिले प्रत्यक्ष रुपमा रोजगारी गरिरहेका छन् भने कुल जनसंख्याको ६० प्रतिशत भन्दा बढीलाई उपचार गराइरहेको छ । २४ सै घण्टा सञ्चालनमा हुने क्षेत्र हो, अस्पताल । अरु उद्योग जस्तो निश्चित समय मात्र चल्ने पनि हैन ।
अर्को भनेको सबैभन्दा बढी म्यानपावरसँग भर पर्ने क्षेत्र पनि हो । अस्पतालको करिब ६० प्रतिशत खर्च कर्मचारीको तलब भत्तामा जान्छ । अर्को भनेको अरु उद्योगमा एक सिफ्टमा मात्र काम हुने गरेको हुन्छ भने अस्पतालमा तीन सिफ्टमा काम पाउँछन् ।
हामीले समयमै केही कुराहरुलाई व्यवस्थापन र समायोजना गर्न सकिएन भने पछि पछुताएर मात्र केहि हुँदैन । विकसीत देशहरुमा हिजो निर्माण क्षेत्रमा दक्ष कामदारहरु चाहिएको थियो । होटल रेष्टुरेन्टमा काम गर्ने मानिसहरु र गार्डहरुको आवश्यकता थियो । हाम्रा नेपालीहरु इमान्दर र लगनशिल छ भनेर धेरै जनशक्ति उनिहरुले लगेर गए ।
अहिले कोरोना भाइरसबाट के देखियो भने स्वास्थ्य क्षेत्रमा पनि मानिसहरु चाहिने रहेछ भन्ने ती देशहरुले बुझिसकेका छन् । किन की विकसीत देशमा सबैभन्दा इमान्दार रुपमा काम गर्नेहरु त तेश्रो मुलुलकबाट गएका स्वास्थ्यकर्मीहरु, डक्टर र प्राविधिकहरु रहेको पाइयो ।
त्यसैले अव हाम्रा नर्स, डक्टरहरुलाई विदेशीहरुले राम्रो सेवा सुविधा दिएर लान सक्छन् । त्यो जनशक्ति रोक्नका लागि पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ । लगानी नबढेसम्म ती नर्स र डक्टरहरु पनि यहाँ बस्दैनन् । त्यसैले यी कुरालाई सरकारले ध्यानमा राखेर पहिलो स्वास्थ्य क्षेत्रलाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिनुपर्छ ।
यसमा कमसेकम निजी अस्पताललाई पनि प्राथमिकताको क्षेत्रमा राखेर पर्यटन र अरु उत्पादनमुलक उद्योगहरुलाई दिने सुविधासरह स्वास्थ्य क्षेत्रलाई पनि दिनुपर्छ । अरु भन्दा यसको अपठ्यारो भनेको बन्द गर्न मिल्दैन ।
त्यसैले अरु क्षेत्रलाई जसरी खर्च कम गराउन अस्पताल क्षेत्रमा मिल्दैन । अस्पतालमा लगानी गर्ने साथीहरुले बुझन आवश्यक छ की यो हाम्रो नैतिक र सामाजिक जिम्मेवारी हो । देश अहिले अप्ठ्यारो अवस्थामा छ ।
यस्तो बेलामा हाम्रो कमाई मात्र हेरेर हुँदैनव । त्यसैले अस्पताललाई बचाउनमा सञ्चालकहरुको पनि भूमिका अपरिहार्य हुन्छ । सक्दै सकिएन भने केहि लाग्दैन तर, सकेसम्म हाम्रा लगानीहरु बचाउन लाग्नुपर्छ ।
स्वास्थ्य क्षेत्रमा लगानी गर्नेहरुले पनि बुझ्न आवश्यक छ की अरु क्षेत्रको भन्दा यहाँ बढी नै धैर्यता हुनुपर्छ भनेर । सरकारले पनि यसलाई आवश्यकता ठानेर विशेष सेवा सुविधा दिनुपर्छ ।
महतो, नेपाल मेडिसिटी अस्पतालका सञ्चालक हुन् ।