काठमाडाैं। चन्द्रौटा–करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नो उत्पादन केन्द्रमा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना सफलतापूर्वक जडान गरी सञ्चालनमा ल्याएको छ। यो प्लान्टले २३ नोभेम्बर २०२५ देखि स्वच्छ तथा हरित ऊर्जा मार्फत बिजुली उत्पादन सुरु गरिसकेको कम्पनीले जनाएको छ।
यससँगै यशोदा फुड्स नेपालमा पहिलोपटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ। कम्पनीले ‘नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिङ फेसिलिटी’को श्रेय पनि प्राप्त गरेको छ। कपिलवस्तु औद्योगिक करिडोरभित्र छानामाथि सौर्य प्रणाली जडान गर्ने पहिलो उद्योगको उपाधि पनि यसले हासिल गरेको छ।
कम्पनीका अनुसार उद्योगको करिब ८० प्रतिशत विद्युत् आवश्यकता स्व–आश्रित सौर्य ऊर्जाबाट पूरा हुने अपेक्षा गरिएको छ। यसबाट विद्युत् खर्च ६५ प्रतिशतले घट्ने, छाना सदुपयोग हुने तथा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने बताइन्छ। परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिले निर्माण गरेको हो।
परियोजनाका लागि आवश्यक वित्तीय सुविधा एनएमबी बैंक लिमिटेडले उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट डीकेटीआई परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) ले व्याज–अनुदानसहित सहयोग गरेको हो।
उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी साहले ८५६ केडब्ल्यु क्षमताको प्लान्टबाट प्रत्येक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुने जानकारी दिए। ‘यसले २,००० टन सीओटू उत्सर्जन घटाउनेछ। उत्पादन लागत घट्ने भएकाले हामी थप प्रतिस्पर्धी बन्नेछौँ,’ उनले भने।
एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस प्रकारका परियोजनाले नेपाली उद्योगहरूलाई डिकार्बोनाइजेशनतर्फ अग्रसर गराउन टेवा पुग्ने बताए। ‘सरकार तथा जर्मन सहयोगले यस्ता परियोजनामा दीर्घकालीन प्रभाव पार्नेछ,’ उनले उल्लेख गरे।
प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गले तीन महिनाभित्र प्रविधि–सम्पन्न बाइफेसियल सोलार प्यानल र एआई–सक्षम स्मार्ट इनभर्टर प्रयोग गरेर परियोजना सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे।
सौर्य ऊर्जा विश्वभर वातावरणमैत्री, किफायती तथा टिकाउ स्रोतको रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ। नेपालमा पनि आवासीय तथा औद्योगिक क्षेत्रले छाना–आधारित सौर्य प्रणालीलाई डिकार्बोनाइजेशन र लागत–घटाउने प्रमुख उपायका रूपमा अवलम्बन गरिरहेकाछन्। एईपीसीका अनुसार पछिल्ला वर्षमा मात्र २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगमा यस्ता प्रविधि जडान भइसकेका छन्।
नेपाल जलविद्युत्मा धनी देश भए पनि सुख्खा मौसममा उत्पादन कम हुने अवस्थालाई सौर्य ऊर्जा तथा भण्डारण प्रविधिले प्रभावकारी वैकल्पिक स्रोत प्रदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणले औद्योगिक रूफ–टप परियोजनालाई नेट–मिटरिङ सुविधा उपलब्ध गराएकाले अतिरिक्त उत्पादन राष्ट्रिय ग्रिडमा प्रवाह गर्न सकिन्छ। उद्योग परिसरमै उत्पादित स्व–आश्रित ऊर्जाले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार समेत कम हुने भएकाले यस्ता पहललाई अझ प्रोत्साहन आवश्यक देखिन्छ।
उद्घाटन समारोहमा एईपीसीका सन्तोष राई, निरज सापकोटा, तारा प्रसाद पोखरेल, यशोदा फुड्सका अध्यक्ष जीपी शाह, इन्जिनियरिङ प्रमुख शिवराज, चन्द्रौटा प्लान्ट प्रमुख, प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्ग, अभिषेष दाहाल, योगेश बिष्टलगायतको उपस्थिति थियो।