गण्डकी। आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ। प्रदेश निर्वाचन सुरक्षा कमाण्ड पोष्टका संयोजक एवं गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको बताए।
‘शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ”, उनले भने, ‘निर्धक्क भएर मतदानमा सहभागी हुन सबै मतदाताहरूमा आह्वान गर्दछौँ।’ सोमबार सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले बताए।
मतदानको दिन नजिकिँदै गर्दा सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेको संयोजक घिमिरेको भनाइ छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
जिल्ला कमान्ड पोस्टसँगको समन्वयमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरिएको उनले जनाए। ‘गण्डकी प्रदेशमा ठूलो सुरक्षा चुनौती छैन, सुरक्षा विश्लेषण र निगरानीको काम नियमित भइरहेको छ’, संयोजक घिमिरेले भने, ‘सोमबारदेखि मतदानस्थल केन्द्रित सुरक्षा तयारी सुरु भएको छ।’
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले सोमबार सबै मतदानस्थलमा प्रहरीको सुरक्षा टोली परिचालन भएका जानकारी दिए। एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत प्रदेशभर सात हजारभन्दा बढी नेपाल प्रहरी परिचालित भएको उहाँले उल्लेख गरे।
‘मतदानस्थलमा गर्नुपर्ने सुरक्षाको पूर्वतयारीमा नेपाल प्रहरी जुटेको छ, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी तयार छ’, प्रवउ कार्कीले भने। उनले निर्वाचनका बेला शंकास्पद गतिविधि गर्ने व्यक्ति र समूहलाई निगरानीमा राखिएको बताए।
सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्वाचन शान्तिपूर्ण र भयरहित हुनेमा कुनै आशंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मतदानस्थलको अनुगमन र सुरक्षा विश्लेषणका आधारमा सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याइएको बताए।
नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको उनले जानकारी दिए। नेपाली सेना र सशत्र प्रहरी बलले प्रदेशका हरेक निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरी सुरक्षा निगरानी बढाएको छ।
प्रदेशभर एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो। निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइरहेका छन्।
एकीकृत निर्वाचन सुरक्षा योजनाबमोजिम नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने जनाइएको छ। प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछ। दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ।
मतदानको दिन आउन दुई दिन बाँकी रहँदा प्रदेशभर निर्वाचन सुरक्षादेखि अन्य व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको जनाइएको छ। निर्वाचन सम्पन्न गर्न झन्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिएको छ। १८ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता, एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन्।–रासस