काठमाडौं। ‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित मर्यादित सीपयुक्त आप्रवासन’ नारासाथ सरकारले यस पटकको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउने निर्णय गरेको छ।
आगामी डिसेम्बर १८ मा पर्ने श्रमिक दिवस मनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको हो।
दिवसका अवसरका वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने विषयमा सरोकारवाला निकायसहित व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई जिम्मेवार हुन बहस चलाइने भएको छ।
मूल समिति संयोजक घिमिरेले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको श्रमशक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीतिअनुरूप सप्ताहव्यापी कार्यक्रम गरिने बताए।
आप्रवासी श्रमिकले पठाएको विप्रेषणले तिनका घरपरिवार सञ्चालन, मानवीय सम्पत्ति सूचकांकमा सुधार र गरिबीमा रहेका परिवारको आर्थिक जोखिम कम गर्न तथा नेपालको अर्थतन्त्रमा ठुलो सहयोग पुगेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ। संयुक्त राष्ट्रसंघले आप्रवासनका चुनौती र अवसरबारे चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ।