काठमाडौं। नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधबार मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शतप्रतिशत सेयरधनीको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले कम्पनीको आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा/नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ।
त्यस्तै, २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पुँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश पारित गर्नुका साथै चुक्ता पुँजीको ३१.५८ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ रकम बराबरको बोनस सेयर जारी गर्ने निर्णयसमेत पारित गरेको छ।
साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुवास शर्मा र सौगात केसीलाई पुनःनिर्वाचित गर्नुका साथै आव २०८२/८३ का लागि पीकेएफ टीआर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त पनि गरेको छ।
वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको बताउँदै आगामी दिनमा यसलाई थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, उनले कम्पनीले नियामकीय अनुपालनप्रति शून्य सहनशीलता राख्ने बताउँदै कम्पनीका सम्पूर्ण प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कम्पनीका कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेका थिए।