काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कृषिमा गरिएको लगानीअनुसार अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएका छन्। नेपाल कृषि अर्थशास्त्र समाजको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमार्फत ठूलो मात्रामा कृषि क्षेत्रमा ऋण लगानी भए पनि त्यसको प्रभावकारी नतिजा देखिन नसकेको उल्लेख गरेका हुन्।
गभर्नर पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाले कृषिमा निरन्तर कर्जा प्रवाह गरिरहेका छन्। हालसम्म ३१ हजार ४२ जनाले सहुलियतपूर्ण कर्जा पाइसकेका छन्। उनका अनुसार हाल बैंकिङ क्षेत्रको ऋण करिब ६ खर्ब ८८अर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी भएको छ। तर, सो लगानीअनुसार उत्पादन र उपलब्धि नदेखिनुमा विभिन्न कारणहरू रहेको उनले बताए।
गभर्नर पौडेलले लगानीकर्ता र बैंकबीच समन्वयको अभाव, कृषि अनुसन्धान र व्यवहारिक खेतीबीचको ‘कम्युनिकेशन ग्याप’ रहेको बताए। यसका साथै अनुसन्धान अपेक्षाअनुसार हुन नसकेको अवस्था प्रमुख समस्या भएको बताए। उनले वैदेशिक रोजगारीलाई मात्रै लक्षित गरेर अनुसन्धान हुने गरेको र दीर्घकालीन कृषि विकासतर्फ पर्याप्त ध्यान नपुगेको टिप्पणी गरे।
उनले बैंकहरूले ऋण प्रवाह (क्रेडिट फ्लो) सिर्जना गरे पनि त्यसको प्रभावकारिता कमजोर रहेको बताए। किसानप्रति आकर्षण घट्दै गएको, ३५ वटा जिल्लामा जनसंख्या घटेको, उत्पादन क्षेत्रफल संकुचित हुँदै गएको अवस्थाले पनि कृषि क्षेत्र कमजोर बनेको उनको भनाइ छ।
गभर्नर पौडेलका अनुसार कृषि ऋण सहज बनाउन १० लाख रुपैयाँसम्मको ऋणमा धितो नचाहिने व्यवस्था गरिएको छ। साथै नेपाल कृषि अनुसन्धान परिषद्बाट सिफारिस भएका परियोजनामा पनि धितो आवश्यक नपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।
उनले १ करोड रुपैयाँसम्मको कृषि ऋण योजना लागू गरिएको र दुग्ध, सुन्तला, कफी लगायतका व्यावसायिक कृषि परियोजनामा ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइँदै आएको बताए। तर, कृषिमा ऋण प्रवाह भए पनि सोअनुसार उपलब्धि देखिन नसकेको उनले दोहोर्याए।