काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ८औं विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ। सभाले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफरेन्स) शेयर जारी गर्ने निर्णय गरेको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न साधारण सभाले चार जना सञ्चालक सदस्य समेत निर्वाचित गरेको छ।
संस्थापक शेयरधनी समूह ‘क’ बाट अनिलकुमार ज्ञवाली, सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रकाशनचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवि खड्का केशीलाई सञ्चालकमा निर्वाचित गरेको हो।
नवनिर्वाचित सञ्चालकहरू बैंकिङ, अर्थशास्त्र, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय विकास व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका व्यक्तित्व रहेको बैंकले जनाएको छ। विशेषगरी अनिल कुमार ज्ञवालीले नेपालका दुई ठूला वाणिज्य बैंक र नेपाल इन्फ्रास्टक्चर बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन् भने डा. राजेन्द्र पण्डितले दुई दशकभन्दा बढी समय केन्द्रीय बैंकमा कार्यअनुभव हासिल गरेका छन्।

सभाले बैंकको प्राथमिक पुँजीकोष अनुपात सुदृढ बनाउन, व्यवसाय विस्तार गर्न तथा जोखिम वहन क्षमता बढाउन २ अर्ब रुपैयाँ बराबरको प्रिफरेन्स शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको बैंकले जनाएको छ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।