काठमाडाैं। आइडिया स्टुडियो नेपालको पहलमा यस वर्षदेखि सुरु गरिएको इम्प्याक्ट क्याफेको चौथो आउटलेट ललितपुरको लगनखेलस्थित नेसफिल्ड इन्टरनेशनल कलेजमा मंसिर २८ गते औपचारिक रूपमा सञ्चालनमा आएको छ।
कलेज परिसरभित्र नै स्थापना गरिएको यस इम्प्याक्ट क्याफेको उद्देश्य विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिर पनि नयाँ विचार, नवप्रवर्तन र उद्यमशीलताका विषयमा छलफल, सहकार्य तथा प्रयोग गर्न सक्ने सिर्जनात्मक वातावरण उपलब्ध गराउनु हो।
उक्त क्याफेको उद्घाटन कार्यक्रम नेसफिल्ड इन्टरनेशनल कलेजका अध्यक्ष प्रोफेसर विजय गोपाल श्रेष्ठले समुद्धाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आइडिया स्टुडियो नेपाल र नेसफिल्ड कलेजबीचको सहकार्यले विद्यार्थीहरूलाई उद्यमशीलता र नवप्रवर्तनसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण अवसर सिर्जना भएको बताए।
यस्तै, नेसफिल्ड कलेजका कार्यक्रम संयोजक दामोदर निरौलाले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा कलेजभित्रै इन्क्युबेशन सेन्टर स्थापना गरी क्याफे सुरु गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए। उनले इम्प्याक्ट क्याफेले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्यम विकास र उद्योगसँग जोडिन सहयोग गर्ने विश्वास व्यक्त गरे।
बिहान ९ बजेबाट सुरु गरिएको उक्त क्याफे उद्घाटनको दिनभरि नै विद्यार्थी, शिक्षक तथा आगन्तुकहरूको चहलपहलले निकै व्यस्त देखिएको थियो। कफीको स्वादसँगै विचारको आदान–प्रदान, छलफल र नेटवर्किङले क्याफेलाई कलेजभित्रको एक सक्रिय नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने प्रारम्भिक संकेत देखिएको आयोजकहरूको भनाइ छ।