काठमाडौं । सरकारले हालसम्म निकासीकर्ता व्यवसायीलाई २ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु निर्यातमा नगद अनुदान दिएको छ । निर्यात अनुदान सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि हालसम्म सो रकम प्रदान गरिएको हो ।
सरकारले आर्थिक वर्ष २०६७/०६८ को बजेटमार्फत निर्यात गर्ने उद्योगलाई प्राप्त विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाणको आधारमा नगद अनुदान प्रदान गर्ने व्यवस्था गरेको हो ।
उक्त व्यवस्था कार्यान्वयनका लागि निर्यातमा नगद अनुदान सम्बन्धी कार्यविधि, २०६८ जारी गरिएको थियो । उक्त कार्यविधि २०७५ सालमा संशोधन गरिएको हो ।
नगद अनुदान सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि जडीबुटी, अलैंची, चिया, ऊनी गलैंचा, पश्मिना, जुट र जुटका सामान, तयारी पोशाक आदिले निर्यातमा सकारात्मक योगदान पुर्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सरकारले उक्त कार्यविधि अनुसार मूल्य अभिवृद्धिका आधारमा नगद अनुदान उपलब्ध गराउँदै आएको छ । वस्तुको मुल्य अभिवृद्धि ५० प्रतिशत वा सो भन्दा बढी भएमा कुलमुल्य अभिवृद्धिको ५ प्रतिशत र ५० प्रतिशत भन्दा कम भएमा ३ प्रतिशतका दरले अनुदान दिने व्यवस्था रहेको छ ।
वस्तुको मुल्य अभिवृद्धि ३० प्रतिशत वा सो भन्दा बढी भएमा कुल मूल्य अभिवृद्धिको ३ प्रतिशत नगद अनुदान प्रदान गर्ने व्यवस्था छ ।
नेपालको व्यापार घाटा हरेक वर्ष बढ्दै गएको छ ।
बढ्दो व्यापार घाटामा कमी ल्याउन संरचनात्मक सुधारको आवश्यकता रहेको नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ अध्ययनले देखाएको छ ।
व्यापार घाटा बढ्दै गएको परिप्रेक्ष्यमा संरचनागत सुधार, प्रतिस्पर्धात्मक क्षमता विकास एवम् आन्तरिक उत्पादन वृद्धिमा जोड दिई बाह्य क्षेत्र स्थायित्व कायम गर्न प्रयास गर्नुपर्ने आवश्यकता देखिएको छ ।
वैदेशिक व्यापारको आकारमा भएको वृद्धि अनुसार निर्यातको हिस्सा बढ्न सकेको छैन । निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात घट्दै गएको छ । लामो समयदेखि आयातको संरचनामा खासै ठूलो परिवर्तन भएको छैन ।
निर्याततर्फ भने २०४० को दशकमा अग्रस्थानमा रहेका वस्तुहरुको हिस्सा पछिल्ला वर्षमा उल्लेख्य रुपमा घटेको छ । नेपालको वैदेशिक व्यापार देशगत र वस्तुगतरुपमा विविधिकरण गर्दै जानु पर्ने अध्ययनले सुझाएको छ ।
नगद अनुदान सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि अनुदान प्राप्त गर्ने वस्तुहरु जस्तै जडीबुटी, अलैंची, चिया, ऊनी गलैंचा, पश्मिना, जुट र जुटका सामान, तयारी पोशाक आदिले निर्यातमा सकारात्मक योगदान पुर्याएको अध्ययनले देखाएको छ ।