काठमाडौं। भुजुङ हाइड्रोपावरले आजदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमध्ये लमजुङको क्व्होलासोथार गाउँपालिका–४ को प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता सोही पालिकाका–१, २, ३, ५, ६, ७, ८ र ९ का लागि अप्रत्यक्ष रुपमा प्रभावित स्थानीयका लागि आईपीओ बिक्री गर्नेछ।
यसैगरी सर्वसाधारणका लागि छुट्याएको १० लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबराको १०० रुपैयाँ अकित दरका साधारण सेयर निष्कासन अनुमति पाएको छ। जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँबराबरको सेयर आयोजना प्रभावित र १० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
दुवै समूहले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आइपीओका निष्कासन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ सम्म हुनेछ भने स्थानीयका लागि छिटोमा पुस १७ र ढिलोमा माघ २ सम्म रहेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।