काठमाडौं । देशभित्रै विद्युत उत्पादनको क्षमतामा क्रमश वृद्धि भइरहेको एक अध्ययनले देखाएको छ ।
आगामी वर्षहरुमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन र १०२ मेगावाटको मध्य भोटेकोसीलगायत ठूला परियोजनाहरु सञ्चालनमा आउने हुनाले विद्युत व्यापार नेपालको पक्षमा हुने नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ अध्ययनले देखाएको हो ।
यस्तै केन्द्रीय तथ्याँक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याँकमा कोरोना भाइरसले अर्थतन्त्रमा मन्दी ल्याए पनि विद्युत, ग्याँस र पानी क्षेत्रको वृद्धि २८.७५ प्रतिशत हुने अनुमान गरेको छ । कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा यो क्षेत्रको १.४१ प्रतिशत योगदान रहेकोमा यो वर्ष अझ बढ्ने विभागको भनाई छ ।

चालु आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा भारतबाट विद्युतको खरिद ३२.९ प्रतिशतले घटेर ६ अर्ब ६१ करोड रुपैयाँ सीमित भएको अध्ययनले देखाएको छ । यसअवधिमा ६८ करोड रुपैयाँको बिजुली निर्यात भएको छ ।
यसले नेपालभित्रै विद्युत उत्पादनको क्षमतामा वृद्धि भइरहेको देखाउँछ । गत वर्ष ६ महिनामा ९ अर्ब रुपैयाँ बराबरको बिजुली भारतबाट आयात भएको थियो । यस्तै अघिल्लो वर्ष २१ अर्ब ३१ करोड रुपैयाँको बिजुली आयात भएको थियो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले बन्दावन्दी (लकडाउन) घोषणा गरेपछि भारतबाट बिजुली आयात धेरै कम भएको छ ।
लकडाउनले गर्दा बिजुलीको माग ८६२ मेगावाटमा सीमित भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । उनका अनुसार गत वर्ष १ हजार १६२ मेगावाट बिजुलीको माग थियो । भारतबाट १०२ मेगावाट मात्र आयात भइरहेको छ । गत वर्ष ६०० मेगावाटको हारहारीमा आयात भएको थियो ।
विद्युत प्राधिकरणका आयोजनाबाट ४६५ र निजी क्षेत्रबाट २९५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । लकडाउन सुरु भएपछि बढी विद्युत खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द हुँदा विद्युतको माग ह्वातै घटेको हो ।
विद्युत लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको ठुलो योगदान रहेको छ । अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भएपछि यसको प्रभाव मागमा परेको हो ।
लकडाउनले बिजुली आयात धेरै घटाउने देखिएको छ । माग कम भएपछि अधिकाँश आयोजना रातीको समयमा बन्द हुने गरेको छ । विद्युतगृह बन्द भएपछि पानी खेर गएको छ ।
बिजुलीको माग घटेपछि सरकारले खपत बढाउन इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउन भनेको छ । लकडाउनको असर छिटै हट्यो भने आगामी वर्षदेखि माथिल्लो तामाकोसी, सान्जेन र रसुवागढी र मध्य भोटेकोसीलगायत निजी क्षेत्रबाट निर्माणधिन अन्य ठुला आयोजना सञ्चालनमा आएपछि वर्षादमा बिजुली उत्पान बढी हुने अनुमान गरिएको छ ।