काठमाडौं। गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि राजकीय पद (प्रधानमन्त्री)बाट गलहत्याइएका खड्गप्रसाद ओली (केपी शर्मा ओली)ले पार्टीभित्र भने एकछत्र राज गर्दै आएका छन्। २०७१ असारमा काठमाडौं भृकुटीमण्डपमा भएको नवौं महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतान्तरले हराएर अध्यक्ष चुनिएका ओली त्यसयता निरन्तर एमालेलाई आफ्नो हातबाट फुस्किन दिएका छैनन्।
२०७१ देखि एमाले अध्यक्ष रहेका ओलीले ११ महाधिवेशनमा पनि फराकिलो मतान्तरले जित हात पार्दै तेस्रो कार्यकालको ह्याट्रिक गरेका छन्। ओलीले तेस्रो कार्यकालका लागि १६६३ मत ल्याएर प्रतिस्पर्धी ईश्वर पोखरेललाई हराएका छन्। पोखेरेलले ५६४ मत मात्रै ल्याउन सके। यसले पनि एमाले पार्टीमा ओलीकै वर्चस्व रहेको देखाउँछ। एमालेको ११औं महाधिवेशनमा कुल मतदाता २२६३ जना रहेकामा ३६ जनाले वहिष्कार गरेका थिए। पार्टीभित्र अलग विचार राख्नेलाई विरोधीको ट्याग भिराएर ओलीले एमालेबाट किनाराकृत गरिसकेका छन्। यसको पछिल्लो उदाहरण एमाले छाडेर नेकपा एस गठन गरेका माधवकुमार नेपाल, झलनाथ खनाल हुन्।

अध्यक्षका प्रत्यासी पाेखरेलसँग नवनिर्वाचित अध्यक्ष ओली
अझ चितवनको नारायणी नदी किनारमा भएको दसौं महाधिवेशनमा त्यतिबेलाका उपाध्यक्ष नेता भीम रावलले आफूसँग प्रतिस्पर्धा गरेको भन्दै नोकझोंकमा उत्रिएका ओलीले उनलाई पनि जबर्जस्त एमाले छाड्न बाध्य पारे। ओलीले पार्टीलाई एकछत्र चलाउन आफ्ना विरोधीलाई अराष्ट्रवादी, यो पक्ष, त्यो पक्षको भनेर धारे हात लाइरहन्छन्। मंसिर २८ देखि सुरु भएको एमालेको ११औं महाधिवेशनमा समेत ओलीले प्रत्यासी पोखरेललाई विद्या भण्डारी र अरुबाट पार्टीबाट बेनेको उम्मेदवार भनेर तिखो टिप्पणी गरेका थिए।
एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस पेचिलो हुँदै गएपछि नियमित महाधिवेशनलाई एक वर्ष अगाडि नै सारेर ओलीले सरकारबाट गलहत्याइए पनि पार्टीमा आफू सर्वेसर्वा रहेको पुनः प्रमाणित गरेका छन्। ११औं महाधिवेशनमा पनि ओली पक्षकै पल्ला भारी भएको छ। ओलीले आगामी कार्यकालका लागि भएको अध्यक्ष निर्वाचनमा प्रतिस्पर्धी पोखरेललाई धेरै मतले पछाडि पारे। हुन त, यसअघि महाधिवेशनमा आफूले जे भन्यो त्यहीँ हुने भन्दै ओलीले ईश्वर पोखरेलहरूलाई निर्वाचनमा नउठ्न चेतावनी दिइसकेका थिए।
ओलीलाई अघिल्लो चितवन महाधिवेशनमा सर्वसम्मत हुनबाट पूर्वउपाध्यक्ष रावलले रोकेका थिए भने यसपटक वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनौती दिए। दुवै पक्षले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए।
पदमा रहँदा बारम्बार छुद्रो बोली, रुखो र टर्रो बोलीका टिप्पणी, आलोचक एवं मिडियाप्रति भैरभाव राख्ने, सहकर्मी र व्यापारिक सहयोगीको भ्रष्टाचारमा मौनता साँध्ने, पार्टीमा एकल पदको वकालत गर्दै सर्वेसर्वा हुने भनेर ओलीमाथि आरोप लागिरहेको छ। यस्ता आरोपलाई ओलीले नसुन्ने बताइसकेका छन्। साता दिनअघि पार्टी निकटको प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमालेको नेतृत्व आफूले बाहेक अरुले गर्नै नसक्ने तर्क राखेका थिए। उनले फुटबलको प्रसंग निकाल्दै भनेका थिए, ‘मैदानमा फुटबल खेल भइरहन्छन्। रोनाल्डो, पेलेले बल छोएपछि गेम हुन्छ। एमालेमा पनि त्यहीँ हो। म रोनाल्डो, पेले हो। आगामी कार्यकालका लागि पनि म नै अध्यक्ष हो। अरु उठ्ने मात्र हुन्।’
यसबाट पनि थाहा लाग्छ, ओलीले एमालेलाई आफ्नो हातबाट फुस्किन दिँदैनन्। ओलीले जेनजी आन्दोलनपछि ‘बूढा’हरुले राजनीति छाड्नुपर्ने पार्टीभित्रै आवाज उठे पनि पुरानै विधान ब्युँताएर एमालेको वरिष्ठ उपाध्यक्ष पद अबदेखि खारेज हुने व्यवस्था गरेका छन्। मंसिर २८ मा भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले पुरानै विधान कायम गरेर ११औं महाधिवेशनमा जाने निर्णय गरेको हो। बैठकमा अध्यक्ष ओली वा पदाधिकारीले विधान संशोधन प्रस्ताव ल्याएका थिएनन्। अध्यक्ष ओली पक्षका पोलिटब्युरो र स्थायी कमिटीका नेताहरूले पुरानै विधानअनुसार अघि बढ्नुपर्ने भन्दै विधान संशोधन प्रस्ताव ल्याएको र पारित गरिएको हो।
गत भदौमा बसेको एमाले विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाएकोमा अब पुरानै व्यवस्था अनुसार पदाधिकारी र केन्द्रीय कमिटी रहनेछ। केन्द्रीय कमिटीले एक जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, उपमहासचिव ३, सचिव ९ जना रहने व्यवस्था गर्ने निर्णय गरेको छ। यसअघि एमालेमा वरिष्ठ उपाध्यक्ष हालका अध्यक्षका प्रत्यासी पोखरेल थिए।
पोलिटब्युरोको एक तिहाइ संख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ। पुरानै विधान ब्युँत्याएकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव गोकर्ण विष्ट, योगेश भट्टराई, कर्ण थापा, काशीनाथ अधिकारीलगायतले विरोध गरेका थिए। तर, ओलीले अध्यक्ष निर्वाचित भएपछि पनि पार्टीभित्र पकड राखिराख्न पुरानो विधान ब्युँताएका हुन्।
२०७४ मा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत भएका थिए, ओली। तर, अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मनमुटाव भएपछि नेकपा विभाजन भयो र ओली एमाले अध्यक्ष रहिरहे। २०७८ मा एमाले विभाजन भएपछि मंसिरमा चितवनको सौराहमा भएको १०औं महाधिवेशनमा दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए, ओली। ओलीले त्यतिबेला १८४० मत ल्याएका थिए भने प्रतिस्पर्धी रावलले २२३ मत मात्रै पाएका थिए। तर, अहिले पोखरेलले पाएको मत सन्तोषजनक नै हो।
_jZWFjnahcc-1766043460.jpg)
अध्यक्षकाे निर्वाचनका लागि शुल्क एमाले भृकुटीमण्डप निर्वाचन कार्यालयमा १५०० शुल्क बुझाउँदै ओली, मंसिर २९।
एमालेको ११औं महाधिवेशनबाट विद्रोहीको छवि बनेका पोखरेल कुनै बेला ओली नजिकका पात्र थिए। नेकपा विवाद हुँदा सचिवालयमा सधैं पोखरेल ओलीको पक्षमा उभिए। तर, पछिल्लो समय ओलीले पोखरेललाई प्रतिस्पर्धीभन्दा पनि तल्लो स्तरमा राखेर व्यवहार गरेको घटनाक्रमले देखाएको छ।
पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमाले फर्काउने विषयमा कुरो नमिलेपछि पोखरेलले ओलीको साथ छाडेका हुन्। अझ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा निर्दोष केटाकेटी मारिएको घटनामा तत्कालीन सरकार प्रमुखको नाताले जिम्मेवार बनाउनुपर्ने बताएपछि ओली पोखरेलप्रति आगो बनेका छन्। तत्कालीन प्रधानमन्त्रीका हैसियतमा जाँचबुझ आयोगमा बयान दिनुपर्ने पोखरेलको भनाइलाई प्रतिवादसमेत गरेका छन्।