काठमाडौं । वीरगन्जस्थित सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको हिमालय टर्मिनलको चरम लापरबाहीका कारण ३ हजार हाराहारीमा कन्टेनरहरु बन्दरगाहमा थुप्रिएका छन् ।
भारतबाट आएको रेलबाट सामान अनलोड गर्ने तर, नेपाली कन्टेनरलाई सामान लोड नगरिदिएर हिमालय टर्मिनलले चरम लापरबाही गरेको भन्सार एजेन्ट अनील पटेलले बताए ।
हिमालय टर्मिलनको बदमासीका कारण २ हजार ९०० कन्टेनरमा सामान लोड हुन सकेको छैन । उनका अनुसार वीरगन्ज सुख्खा बन्दरगाहमा एक दिनमा ४ ओटा रेक आइरहेको छ । भारतबाट दैनिक ३४० देखि ३६० ओटा कन्टेनर भित्रिरहेका छन् ।
भारतबाट सामान ल्याएर राख्ने र नेपाली कन्टेनरलाई लोड नदिने अहिले बन्दरगाहमा ठाउँको अभाव हुँदै गएको भन्सार एजेन्ट विजय तिवरेवालाले जानकारी दिए ।
हिमालय टर्मिनलले दैनिक ३०० वटा कन्टेनरको बुकिङ गरिरहेको छ । तर, दैनिक २५ देखि ५० ओटालाई मात्रै सामान डेलिभरी दिइरहेको उनको भनाइ छ ।
एकातिर भारतलगायत तेस्रो मुलुकबाट सामान निरन्तर आइरहेको छ भने नेपालभित्र जुन गतिमा भारतबाट सामान आएको छ, त्यही रफ्तारमा नेपाल सामान नभित्रिँदा सुख्खा बन्दरगाह भरिसकेको भन्सार एजेन्टहरु बताउँछन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले केही दिन अघि ३ हजार २०० कन्टेनर सुख्खा बन्दरगाहमा रहेकामा अहिले २ हजार ९०० मात्रै रहेको बताए ।
हिजो मात्रै को को व्यापारीको कन्टेनर रोकिएको रहेछ भनेर लिस्ट मगाएको उनले बताए । सूची आइसकेको छ । आज (बिहीबार) भन्सार विभाग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय मिलेर ठुल्ठूला आयातकर्तालाई तत्काल सामान ल्याउन आग्रह गर्ने ढकालले जानकारी दिए ।
तर, एजेन्टले हिमालय टर्मिनललाई आरोप लगाएका छन्, त्यसमा उसको कुनै हात नहुने पनि उनले प्रस्ट्याए । भारतबाट आएको सामान ओराल्ने र नेपाली कन्टेनरलाई सामान लोड गर्ने मेसिन एउटै हुन् । तर, ती मेसिनमध्ये केही बिग्रेकाले लोड अनलोड गर्न केही समस्या भएको ढकालले जानकारी दिए ।
उनका अनुसार अहिले औसत २ ओटा रेकमा सामान आइरहेको छ । अहिले एउटा मात्रै रेक नेपाल आइरहेको ढकालले जानकारी दिए ।
कोलकात्ता पोर्टमा आएपछि सिधै वीरगन्ज सुख्खा बन्दरगाहमा सामान आउँछ । नेपाल आउने रेल अहिले निरन्तर रुपमा चलिरहेको छ । पहिलो प्राथमिकता रेलको सामान झार्नु नै हुन्छ । रेललाई रोक्न सम्भव नहुने उनको भनाइ छ ।
‘हामीसँग भएका दुई चार ओटा क्रेन भारतीयले मात्रै चलाउन सक्ने रहेछन्, । अहिले भारतीयलाई नेपाल आउन दिएका छैनौं’ उनले भने, ‘त्यही भएर ती क्रेनहरु चल्न सकेका छैनन् । त्यसले पनि केही समस्या भएको हो ।’
डिटेन्सन, डेमरेज र पार्किङ चार्ज निःशुल्क हटेपछि अनुचित लाभ लिए
सरकारले विभिन्न चार्ज हटाएपछि नेपालका व्यापारीले ‘अनुचित’ लाभ लिएको मन्त्रालयको बुझाइ छ । निःशुल्क पार्किङ गर्न पाउने भएपछि त्यहाँबाट (सुख्खा बन्दरगाह) कन्टेनर नझिक्ने गरेका छन् । पहिलो त्यहाँ राख्दा शुल्क तिर्नुपर्ने हुन्थ्यो । अहिले कुनै पनि शुल्क लाग्दैन । त्यसैको अनुचित फाइदा लिएको मन्त्रालयले बताएको छ ।
पहिला नै व्यापारीले त्यसलाई गोदाम बनाएका थिए । कन्टेनर ल्याएर कुनै घर वा कतै राखेमा महिनाको ३० हजार रुपैयाँ चार्ज तिर्नुपर्छ । तर, त्यहाँ राखे ५ हजार रुपैयाँ मात्रै तिरे पुग्छ ।
भन्सार पास गराउने नसक्ने, पैसा नहुनेले त्यहाँ ट्रक वा कन्टेनरलाई होल्ड गरेर राख्ने गरेका थिए । तर, अहिले निःशुल्क भयो ।