काठमाडौं। नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। एक कार्यक्रमका बीच जेको जे ५ इलेक्ट्रिक एसयूभी हस्तान्तरण गर्दै कम्पनीले उक्त घोषणा गरेको हो।
कार्यक्रममा ब्रान्डका पुराना एम्बेसडर तथा राष्ट्रिय क्रिकेट स्टार दिपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरिएको थियो। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पौडेलको नेतृत्वमा लुम्बिनी लायन्सले ऐतिहासिक च्याम्पियनसिप जितेको थियो। प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शनका आधारमा रोहित ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए।
यस उपलब्धिको कदरस्वरूप एसपीजी अटोमोबाइल्सले रोहितलाई अत्याधुनिक जेको जे५ इलेक्ट्रिक एसयूभी उपहार दिएको छ। साथै, उक्त गाडीमा लाग्ने सम्पूर्ण विन्डफल कर कम्पनीले आफैं बेहोर्ने घोषणा गरेको छ, जसका कारण खेलाडीलाई कुनै आर्थिक भार पर्ने छैन।
एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले रोहित पौडेलको नेतृत्व क्षमता, ऊर्जा र नवीन सोच ओमोडा–जेको ब्रान्डको मूल्यसँग मेल खाने उल्लेख गर्दै नेपाली क्रिकेटप्रतिको कम्पनीको प्रतिबद्धता अझ सशक्त बनेको बताए।
रोहितले प्राप्त गरेको जेको जे ५ प्रिमियम इलेक्ट्रिक एसयूभीमा ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, १५५ किलोवाट मोटर पावर, ४८८ लिटर बुट स्पेस र अत्याधुनिक स्मार्ट ककपिट जस्ता विशेषता रहेका छन्।
एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा, जेको र इकाउर ब्रान्डको आधिकारिक बिक्रेता हो। कम्पनीले दिगो तथा वातावरणमैत्री सवारी साधनमार्फत हरित ऊर्जा प्रवर्द्धनसँगै नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान दिँदै आएको छ।