काठमाडौं। निम्बस इन्टरनेसनल कम्पनीले एक वर्षमै आठ अर्ब बढीको व्यापार गरेको छ। सन् २०२५ मा कम्पनीले खाद्यान्न, कृषि सामग्री तथा पशु आहारको उत्पादन तथा बिक्रीमार्फत् आठ अर्ब ३ करोड ३० लाख रुपैयाँ (अपरिस्कृत)को व्यापार गरेको हो।
यो कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा ७.५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष (सन् २०२४) कम्पनीले सात अर्ब ४७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले सन् २०२३ भने सात अर्ब ४ करोड, सन् २०२२ मा ८ अर्ब ६२ करोड र सन् २०२१ मा सात अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो र वितरण सञ्जाल विस्तार गरेका कारण आम्दानीमा वृद्धि देखिएको रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि इक्रा नेपालमा गराएको रेटिङमा कर्जा सीमा एक अर्ब ९५ करोड २० लाख रुपैयाँ निर्धारण भएको छ। जसमा इक्राले ‘एफोर’ रेटिङ दिएको छ। उक्त रेटिङ अघिल्लो पटक पाएकै रेटिङलाई पुनः पुष्टि गरिएको हो।
कम्पनीले यसअघि पनि एक अर्ब ९५ करोड रुपैयाँ कर्जा सीमा पाएको थियो। जसमध्ये ९९ प्रतिशत अर्थात् एक अर्ब ९५ करोड रुपैयाँ कर्जा उपयोग गरिसकेको रिपोर्टमा उल्लेख छ। अघिल्लो पटक लिएको ऋणले अपुग भएपछि कम्पनीले पुनः कर्जा लिन रेटिङ गराएको हो।
जसमा कर्जा सीमा र रेटिङ पुरानै दिइएको हो। कम्पनीसँग अब थप आकस्मिक खर्च टार्नका लागि बैंकबाट पैसा निकाल्ने सुविधा बाँकी छैन। यदि, उधारो दिएको पैसा उठ्न अझै ढिलो भए कम्पनीलाई दैनिक व्यापार चलाउन गाह्रो पर्न सक्छ।
इक्रा नेपालका अनुसार कम्पनीको व्यापारिक हिस्सामा खाद्यान्न र पशु आहारका सामग्रीको माग बलियो रहेको छ। यद्यपि, व्यापार बढे पनि कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपिएम) केही खुम्चिएको छ। अघिल्लो वर्ष २.८ प्रतिशत रहेको नाफा मार्जिन गत वर्षमा घटेर २.५ प्रतिशतमा सीमित भएको छ।
हाल कम्पनीको व्यापारमा ग्राहक केन्द्रित जोखिम देखिएको छ। कुल आम्दानीको करिब ७२ प्रतिशत हिस्सा शीर्ष १० ग्राहकमा निर्भर छ। जसमा ५८ प्रतिशत हिस्सा कम्पनीकै भगिनी संस्थाहरूको रहेको इक्राले जनाएको छ। साथै, सामान आयातका लागि वैदेशिक मुद्रामा हुने उतारचढाव र उचित हेजिङको अभावले नाफामा चुनौती थप्न सक्ने देखिन्छ।
सन् २००० मा स्थापित निम्बस इन्टरनेसनलको शतप्रतिशत स्वामित्व निम्बस होल्डिङ प्राइभेट लिमिटेडसँग छ। यसमा व्यवसायी आनन्द कुमार अग्रवाल (बगरिया) र जगदीश प्रसाद अग्रवालको समान ५०/० प्रतिशत सेयर स्वामित्व छ।