काठमाडौं। इक्रा नेपालले टाइगर्स ब्रुअरी इन्डस्ट्रिज प्राइभेट लिमिटेडको कर्जा रेटिङ गरेको छ। मंसिर ३ गते प्रकाशित रिपोर्टमा इक्राले कम्पनीको दीर्घकालीन कर्जा रेटिङ एलबी प्लस र छोटो अबधि कर्जा रेटिङ ए फाे राखेको हो। कम्पनीको कुल कर्जा सीमा रु २ अर्ब ३५ करोड ५० लाख पुगेको छ, जुन गत वर्षको १ अर्ब ८९ करोडभन्दा उल्लेखनीय रूपमा बढी हो। यसमध्ये दीर्घकालीन कर्जा रु १ अर्ब ४ करोड २० लाख र छोटो अबधि कर्जा रु १ अर्ब ३१ करोड ३० लाख रहेको रेटिङ एजेन्सीले जनाएको छ।
सन् २०२४/२५ मा कम्पनीको राजस्व झन्डै ४८ प्रतिशतले बढेर रु ८३ करोड ६० लाख पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको रु ५६ करोड ७० लाखभन्दा उल्लेखनीय वृद्धि हो। विगत तीन वर्षसम्म राजस्वमा क्रमशः गिरावट आएपछि गत आर्थिक वर्षमा कम्पनीको बिक्री पुनः सुधारतर्फ फर्केको हो। साथै, सन् २०२५/२६ को पहिलो त्रैमासमा बिक्री गत वर्षको सोही अवधिको तुलनामा १४४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।
तर, राजस्व वृद्धिका बाबजुद पनि कम्पनीको आर्थिक स्थिति कमजोर रहेको इक्राले औंल्याएको छ। कम्पनीको सञ्चालन लाभ मार्जिन सन् २०२४/२५ मा घटेर २७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ३८ प्रतिशत थियो। यद्यपि, यो मार्जिन उद्योगको तुलनामा अझै पनि उच्च रहेको रेटिङ रिपोर्टमा उल्लेख छ।
कम्पनीको गियरिङ केन्द्रीय बैंकले तोकेको ४ गुणाको सीमा नाघेर निरन्तर उच्च रहिरहेको समस्या रहेको छ। यसका कारण सन् २०२४/२५ मा ऋण सेवा कभरेज अनुपात १ भन्दा कम रहेको छ, जसको अर्थ कम्पनीले आफ्नो सञ्चालनबाट आउने नगदबाट ऋण चुक्ता गर्न सक्ने अवस्था छैन। यसका लागि प्रवर्द्धकहरूको नियमित आर्थिक सहयोग आवश्यक परिरहेको रिपोर्टमा उल्लेख छ।
कम्पनीको कार्यशील पुँजी चक्र पनि अत्यधिक लामो रहेको छ। सन् २०२४/२५ मा यो सञ्चालन आयको १५७ प्रतिशत रह्यो, जुन अघिल्लो वर्षको १८६ प्रतिशतभन्दा केही सुधार भए पनि अझै पनि उच्च नै छ। उच्च स्टक स्तर र घटेको सञ्चालन लाभ मार्जिनका कारण कम्पनीलाई प्रवर्द्धकबाट थप आर्थिक सहयोग आवश्यक परेको इक्राले जनाएको छ। मध्यमकालीन अवधिमा आर्थिक कठिनाइ जारी रहने अपेक्षा गरिएकोले प्रवर्द्धकको सहयोगमा कुनै ढिलाइ वा अपर्याप्तता आएमा रेटिङमा नकारात्मक प्रभाव पर्न सक्ने चेतावनी समेत दिइएको छ।
यी चुनौतीहरूका बाबजुद पनि इक्राले कम्पनीका केही सकारात्मक पक्षहरू पनि औंल्याएको छ। सन् १९९३ मा स्थापित टाइगर्स ब्रुअरीसँग तीन दशकभन्दा बढीको अनुभव रहेको र मद्य उत्पादनमा यसको स्थापित ट्र्याक रेकर्ड रहेको उल्लेख छ। नेपाल टाइगर, रकस्टार र टेन्सबर्ग जस्ता यसका प्रमुख ब्राण्डहरू बजारमा राम्रोसँग स्थापित छन्। नेपाल टाइगर र रकस्टारले मात्र विगत तीन वर्षमा कुल राजस्वको ६० प्रतिशतभन्दा बढी योगदान गरेका छन्। कम्पनीसँग देशभर १५० भन्दा बढी डिलरहरूको बिस्तृत वितरण सञ्जाल रहेको पनि रिपोर्टमा उल्लेख छ।
नेपाल सरकारले तयारी बियरमा प्रतिलिटर रु २०० वा मूल्यको ८० प्रतिशत (जुन बढी हुन्छ त्यति) आयात शुल्क लगाएकोले घरेलु मद्य उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट संरक्षण मिलिरहेको छ। यो संरक्षण कायम रहनु टाइगर्स ब्रुअरीलगायत घरेलु उत्पादकहरूका लागि फाइदाजनक रहेको इक्राले जनाएको छ।
टाइगर्स ब्रुअरी पारिवारिक स्वामित्वको कम्पनी हो, जसको सम्पूर्ण शेयर तीन व्यक्तिहरू ईश्वरी खड्का, प्रेम खड्का र लक्ष्मण खड्कासँग छ। कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा र उत्पादन इकाई रुपन्देहीमा रहेको छ। यसको वार्षिक उत्पादन क्षमता करिब १ करोड १० लाख केस छ र यसले स्ट्रङ र प्रिमियम गरी सात विभिन्न ब्राण्डका बियर उत्पादन गर्दै आएको छ।
इक्राले भविष्यमा कम्पनीको रेटिङका लागि सञ्चालन थप विस्तार गर्ने क्षमता, कार्यशील पुँजी चक्र उल्लेखनीय रूपमा घटाउने र ऋणको स्तर नियन्त्रणमा ल्याउने कुराहरू महत्त्वपूर्ण हुने जनाएको छ। कम्पनीले आर्थिक आत्मनिर्भरता हासिल नगरेसम्म प्रवर्द्धकहरूको निरन्तर सहयोग रेटिङका लागि मुख्य संवेदनशील विषय रहने समेत रिपोर्टमा स्पष्ट पारिएको छ।
तीव्र प्रतिस्पर्धा, नियामकीय जोखिम र उच्च करभारका बाबजुद घरेलु मद्य उद्योगमा सरकारी संरक्षण र स्थापित ब्राण्ड पहिचानले टाइगर्स ब्रुअरीलाई बजारमा टिकाइरहन सहयोग पुर्याइरहेको छ। तर, दिगो वित्तीय स्वास्थ्यका लागि कम्पनीले आफ्नो ऋणभार घटाउन र सञ्चालन दक्षता बढाउनुपर्ने आवश्यकता रहेको रेटिङ एजेन्सीले औंल्याएको छ।