काठमाडौं। कुनै समय थियो, नेपालीहरु घुम्न कहाँ जाने भन्दा धेरैको मुखमा आउँथ्यो, थाइल्यान्ड सस्तो गन्तव्यको रुपमा परिचित थाइल्यान्डमा पारिवारिक घुमघाम, व्यक्तिगतदेखि कर्पोरेट टुरसमेत सोही मुलुकमा पर्ने गरेको थियो। तर, पछिल्लो केही महिनायता नेपालीहरु घुम्न जाने गन्तव्यमा परिवर्तन भएको छ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र कम खर्चिलो यात्रा विकल्पले भियतनामलाई नयाँ आकर्षणको केन्द्र बनाएको हो। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले पछिल्लो समय नेपाली घुम्ने गतव्यको रुपमा भियतनाम पर्न थालेको बताए।
भियतनामतर्फ जाने नेपाली यात्रुहरूको संख्या पछिल्ला महिनामा तीव्र रूपमा बढ्दै गएको उनले बताए। ‘आकर्षक प्राकृतिक दृष्य, सांस्कृतिक विविधता, सुरक्षित वातावरण र तुलनात्मक रुपमा किफायती खर्चका कारण भियतनाम नेपाली यात्रुका लागि नयाँ रोजाइँ बनेको छ,’ अध्यक्ष थपलियाले भने, ‘हाल आउटबाउन्ड क्षेत्रमा संलग्न करिब १०-१५ वटा ट्राभल कम्पनीले भियतनाम केन्द्रित प्याकेजमार्फत राम्रो व्यवसाय गरिरहेका छन्।’
व्यवसायीका अनुसार पछिल्लो समय भिसा प्रक्रियासम्बन्धी समस्यासँगै अन्तर्राष्ट्रिय नीतिगत उतार चढावका कारण यात्रुको संख्या घटे पनि समग्र माग उच्च छ। सरकारले लागू गरेको ५ प्रतिशत आउटबाउन्ड कर यस वर्ष पनि निरन्तर लाग्ने हो वा होइन भन्ने विषयमा स्पष्टता नहुँदा यात्रु र सेवा प्रदायक दुवै अन्योलमा परेका छन्। कहिले, कुन मितिदेखि कर लागू हुन्छ भन्ने विषयमा आधिकारिक निर्देशन नआउँदा ट्राभल एजेन्सीलाई मूल्य निर्धारण र योजना बनाउन कठिन भइरहेको अध्यक्ष थपलियाले जानकारी दिए।

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन-असोज)सम्म विदेश घुमफिरमा जाने नेपालीले २१ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसै अवधिमा पर्यटकले नेपालमा गरेको खर्च १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो।
नीतिगत अस्थिरताले समस्यामा ट्राभल एजेन्सी उद्योग
घुम्न जाने र आउनेको संख्या बढिरहे पनि नीतिगत समस्याले ट्राभल एजेन्सी उद्योग भने गम्भीर समस्यामा परिरहेको जनाएको छ। नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईले ट्राभल एजेन्सी व्यवसायको संरचना र अधिकारबारे सरकारसँग स्पष्ट दृष्टिकोण नहुँदा समस्या भइरहेको बताए। सरकारले अनुमति दिएको कामका लागि आवश्यक अधिकार नदिँदा उद्योग दबाबमा परेको उनको गुनासो छ।
केही समयअघि नेपाली पर्यटकको घुमघामको लागि प्रमुख रोजाइ दुबई थियो।
ट्राभल एजेन्सी सेवा बेच्ने व्यवसाय हो। डाक्टर, इञ्जिनियर वा अन्य पेशाजस्तै, ट्राभल एजेन्सीले पनि विभिन्न सेवाहरू, हवाई टिकट, होटल, भिसा, यातायात र भ्रमण- को संयोजन गरी प्याकेज तयार गर्छ। त्यसबापत सेवा शुल्क वा कमिसन लिन्छ।
यही आम्दानीबाट कार्यालय सञ्चालन, कर्मचारी तलब, कर तथा प्रशासनिक खर्च धानिन्छ। तर, नेपालमा हवाई टिकट बिक्रीमा एयरलाइन्सले कमिसन नदिने अभ्यासले यो व्यवसाय धरासायी बनिरहेको नाट्टा अध्यक्ष थपलियाको गुनासो छ।
‘कमिसन नहुँदा ट्राभल एजेन्सीहरूले सेवा शुल्क थप्नुपर्छ। तर, त्यसमा भ्याट र आयकर तिर्नुपर्ने हुन्छ,’ अध्यक्ष थपलियाले भने, ‘यसैबीच, सामान्य सेवा शुल्क लिँदा पनि ‘ठगी’को आरोप लाग्ने जोखिम रहन्छ।’
विगत छ वर्षदेखि सरकारसँग निरन्तर संवाद गर्दै स्पष्ट नीति, सेवा शुल्कको कानुनी व्यवस्था र नीतिगत स्थिरताको माग गरिरहे पनि वेवास्था गरेको उनको भनाइ छ। अहिलेसम्म ठोस निर्णय नआउँदा चार हजारभन्दा बढी ट्राभल एजेन्सी र हजारौँ रोजगारी जोखिममा परेको नाट्टाको भनाइ छ।
यदि, ट्राभल एजेन्सीले दर्ता गरिएको कामका लागि उचित सेवा शुल्क लिन पाउने अधिकार सुनिश्चित हुँदैन भने उद्योग दीर्घकालीन रूपमा टिक्न नसक्ने दाबी नाट्टाको छ।
दुबईपछि थाइल्याण्ड
केही समयअघि नेपाली पर्यटकको घुमघामको लागि प्रमुख रोजाइ दुबई थियो। तर, हाल बैंकक सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा उभिएको छ। छोटो दूरी, सजिलो भिसा प्रक्रिया, किफायती होटल र मनोरञ्जनको विविधताले बैंकक नेपाली बजारमा आकर्षक बनेको छ। त्यस्तै, धार्मिक र सांस्कृतिक भ्रमणका लागि श्रीलंकातर्फको यात्रामा पनि क्रमशः वृद्धि देखिएको छ।
माल्दिभ्स भने अहिले सीमित वर्गमा मात्र केन्द्रित देखिन्छ। विशेष गरी वेडिङ कपल र हनिमुन लागि माल्दिभ्स अझै आकर्षक रहे पनि समग्र माग पहिलेको जस्तो उच्च नभएको व्यवसायीको भनाइ छ।