काठमाडौं। पर्यटक आगमनको ग्राफ निरन्तर उकालो लागिरहेका बेला जेनजी आन्दोलनका क्रममा राजधानीमै रहेका विश्वप्रसिद्ध होटल ब्रान्ड हिल्टन र हायात आगजनीमा परेपछि नेपाली पर्यटन क्षेत्रमा नकारात्मक सन्देश गएको छ।
कोभिड १९ ले थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै रिकभर भइरहेका बेला दुई ठूला होटलमा भएको आक्रमणले पुनः पर्यटनमा ब्रेक लागेको हो।
आन्दोलनका कारण होटलको भवन मात्र जलेन। लगानी र गन्तव्यको छविमा विश्वास बढ्दै गएको समय भएको यो घटनाले सुरक्षा, स्थायित्व र लगानीमैत्री वातावरणप्रति पुनः प्रश्न उठाएको छ।
होटलभित्र पर्यटक बसिरहँदा आन्दोलनकारीबाट भएको आगलागीबाट हायात रिजेन्सी होटलमा एक भारतीय पर्यटकको ज्यानसमेत गयो। अन्य पर्यटकलाई नेपाली सेनाले उद्धार गर्याे। अमेरिकी चेन होटलको रुपमा सञ्चालित दुई ठूला होटलमा भएको आगजनी र तोडफोडले नेपालको गन्तव्य असुरक्षित रहेको सन्देश विश्व बजारमा पुगेको छ, जुन पर्यटन क्षेत्रका लागि ठूलो दुर्भाग्य हो।
पर्यटक आगमनमा रिकभर हुँदाहुँदै आक्रमण
कोभिड १९ नेपालको मात्र हैन, विश्व पर्यटनका लागि घातक बन्यो। नेपालसहित विश्वका अधिकाशं मुलुकमा लामो समय बन्दाबन्दी भयो। २०२१ देखि विस्तारै खुल्दै गयो।
हालसम्म प्रहरीले होटलमा तोडफोड र आगजनी गर्नेलाई कारबाही दायरामा नल्याउँदा पनि नकारात्मक सन्देश फैलिएको व्यवसायीको गुनासाे छ।
सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो। २० लाख पर्यटक ल्याउने घोषणासहित सरकारको तयारीपछि निजी क्षेत्र पनि उत्साहित भएर होटल तथा रेस्टुरेन्टमा व्यापक रुपमा लगानी विस्तार गरेको थियो। तर, २०१९ को अन्तिममा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को कारण सबै क्षेत्र ध्वस्त भयो।
कोभिड संक्रमण अन्त्य भएसँगै नेपालको पर्यटन क्षेत्रले विस्तारलै लय समात्दै गयो। २०२४ मा आइपुग्दा २०१९ कै हाराहारीमा पर्यटक नेपाल आए। अर्थात्, २०२४ मा ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल आए भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटकले भ्रमण गरे।

कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो। सन २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो। २०२५ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिए।
कोभिड १९ पूर्वको हाराहारीमा पर्यटक आगमनको संख्या पुगिरहेको बेला २०२६ देखि पूर्ण रुपमा सुधार हुने अपेक्षा गरिएको थियो। तर, जेनजी आन्दोलनको क्रममा दुईवटा पाँचतारेसहित केहि होटलमा भएको आक्रमण र निजी क्षेत्रको सम्पत्तिमाथिको तोडफोडले नेपालमा मात्र हैन, विश्व पर्यटन बजारमा समेत नकरात्मक सन्देश गएको पर्यटन व्यवसायीको भनाइ छ।
सुरक्षा प्रत्याभूति भएन
जेनजी आन्दोलनको क्रममा पर्यटक सवार यातायातमा कुनै तोडफोड र आगजनी गरिएन। तर, हायात, हिल्टन र वर्णवास म्यूजियम होटलमा भएको आगजनीले पर्यटकका लागि सुरक्षित छैन कि भन्ने चिन्ता विश्व पर्यटन बजारमा फैलिएको छ।
हालसम्म प्रहरीले होटलमा तोडफोड र आगजनी गर्नेलाई कारबाही दायरामा नल्याउँदा पनि नकारात्मक सन्देश फैलिएको व्यवसायीको भनाइ छ।
पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील एक पर्यटन व्यवसायीका अनुसार तीन ठूला होटलमा भएका आक्रमणले विश्व पर्यटन बजारमा नेपालका होटल असुरक्षित छन् भन्ने नकारात्मक हल्ला फैलिएको छ।
‘सामान्यतया पर्यटकले होटल बसाइँ, अझ चेन होटलको बसाइँ पूर्ण रुपमा सुरक्षित ठान्छन्। उनीहरु विश्व भ्रमणमा जाँदा चेन होटल नै रोज्नुको मुख्य कारण सुरक्षित हुन्छु भन्ने हो’, ती व्यवसायीले भने, ‘तर, जेनजी आन्दोलनका क्रममा पर्यटकलाई भित्र राखेर आगो लगाउनु र तोडफोड गरेर विश्वभर नकरात्मक सन्देश फैलाएको छ।’
ट्राभल एडभाइजरी हटाउन कूटनीतिक पहल आवश्यक
छिमेकी भारतसहित विभिन्न मुलुकले जेनजी आन्दोलनपछि नेपालमा अत्यावश्यक कामबाहेक नजान आफ्ना नागरिकलाई सुझाएका छन्। आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरी सचेतसमेत गराएका छन्।
आन्दोलन भएको ४ महिना पुगिसक्दा र मुलुकमा शान्ति कायम भइसकेको अवस्थामा ट्राभल एडभाइजरी जारी राखिरहँदा घुम्न आउन चाहनेलाई असर पुगेको भन्दै सरकारले कूटनीतिक पहल गरी खुलाउनुपर्ने होटल एसोसिएन अफ नेपाल(हान)अध्यक्ष विनायक शाहको भनाइ छ। उनले नेपालमा रहेका राजदूतलाई मात्र भए पनि सरकारले एकपटक सामूहिक रुपमा छलफल गरी पर्यटकका लागि खुला र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए।