काठमाडौं। देउराली जनता फर्मास्युटिकल्सले एक वर्षमै साढे २ अर्ब नजिकको व्यापार गरेको छ। निजी क्षेत्रको अग्रणी औषधी उत्पादक संस्था देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो।
सन् १९९१ मा स्थापित देउराली जनताले हृदय रोग, मधुमेह, स्त्री रोग, बाल स्वास्थ्य, ग्यास्ट्रोलोजिक, डर्मेटोलोजीलगायतका विभिन्न रोगका २ सय ५० भन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आएको छ।
एक वर्षको अवधिमा उद्योगले आफ्नो व्यापारमा झन्डै १६ प्रतिशतले वृद्धि गर्दै गरेको छ। सन् २०२४ मा देउराली जनताले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीको विगत पाँच वर्षको वित्तीय अवस्था हेर्दा व्यापार निरन्तर उकालो लागेको देखिन्छ। सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले २०२२ मा १ अर्ब ७० करोड ५० लाख र २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन १९ प्रतिशत रहेको छ।
देउराली जनताले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको छ। व्यापारमा भएको वृद्धि र बलियो वित्तीय अवस्थालाई मध्यनजर गर्दै क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको कर्जाको रेटिङ पुनः पुष्टि गरेको छ।
इक्राले देउराली जनताले यसअघि गराएको क्रेडिट रेटिङलाई नै पुनः पुष्टि गरेको हो, जसमा १ अर्ब ६ करोड १० लाख रुपैयाँ कर्जा सीमा निर्धारण गरिएको छ। इक्रा नेपालले कम्पनीको १८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘एलए माइनस’ र १ अर्ब ४ करोड ३० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एटु प्लस’ रेटिङ लिएको छ।
देउराली जनताले यसअघि पनि बैंकिङ कर्जा सुविधाका लागि क्रेडिट रेटिङ गराएको थियो। जसमा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ कर्जा सीमा इक्राले निर्धारण गरेको थियो। उक्त सिमामा देउराली जनताले ४४ करोड ६५ लाख रुपैयाँ कर्जा उपयोग गरिसकेको छ।
कम्पनीले कर्जा नवीकरण गर्न रेटिङ गराउँदा कर्जा सिमा भने घटाइएको हो। कम्पनीको व्यापार बढेपनि समग्र अर्थतन्त्रको मन्दी प्रभाव, मागमा आएको संकुचन, कच्चा पदार्थको मूल्य वृद्धि र नीतिगत परिवर्तनका चुनौतीले गर्दा ऋण सीमा घटाइएको इक्राको रेटिङ रिपोर्टमा उल्लेख छ। तर, प्राप्त रेटिङले भने देउराली जनताको कर्जा तिर्ने क्षमता भने बलियो रहेको जनाउँछ।
कम्पनीको उधारो असुली चक्र १ सय ४३ दिन पुगेको छ। बजारमा बढ्दो प्रतिस्पर्धा र तरलता अभावका कारण औषधिको पैसा उठ्न समय लाग्ने गरेको छ। यसले गर्दा कम्पनीको ठूलो नगद बजारमै अड्किने जोखिम बढाएको छ। औषधी उत्पादनका लागि आवश्यक पर्ने ‘एक्टिभ फर्मास्युटिकल इन्ग्रेडियन्ट्स’का लागि कम्पनी पूर्णतः आयातमा निर्भर छ। यसले डलरको विनिमय दरमा हुने उतारचढाव र अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आउने अवरोधले उत्पादन लागत बढाउन सक्छ।
सन् १९९१ मा स्थापित देउराली जनता नेपालको औषधि बजारमा ३ दशकभन्दा लामो इतिहास बोकेको स्थापित उद्योग हो। यसले हृदय रोग, मधुमेह, स्त्री रोग, बाल स्वास्थ्य, ग्यास्ट्रोलोजिक, डर्मेटोलोजीलगायतका विभिन्न रोगका २ सय ५० भन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आएको छ।
कम्पनीका देशभर २०० बढी वितरक सञ्जाल छन्। सन् २०२५ को तथ्यांक अनुसार कम्पनीको कुल बिक्रीमा टप १० वितरकको हिस्सा करिब १८ प्रतिशत रहेको छ। कम्पनीमा हरिभक्त शर्माको करिब ७१ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी हिस्सा उनका परिवारका सदस्य र सहयोगीको छ। शर्मा कम्पनीको अध्यक्ष तथा कार्यकारी निर्देशक हुन्।
कम्पनीले औषधी उत्पादनका लागि आवश्यक पर्ने लगभग सबै कच्चा पदार्थ विदेशबाट आयात गर्दै आएको छ। इक्रा नेपालका अनुसार नेपाल सन् २०२६ नोभेम्बरदेखि ‘अति कम विकसित मुलुक’बाट स्तरोन्नति हुन लागेका कारण भविष्यमा बौद्धिक सम्पत्ति र रोयल्टीका कारण उत्पादन लागत बढ्न सक्ने र यसले मार्जिनमा केही दबाब सृजना गर्न सक्ने चुनौती देखिएको छ।
भारतीय औषधी उद्योगको ठूलो परिमाणको उत्पादन र कम मूल्यसँग प्रतिस्पर्धा गर्नु कम्पनीका लागि सधैंको चुनौती हो। साथै, सरकारले औषधीको मूल्यमा लगाउने सिमाले पनि भविष्यको आम्दानीमा असर पार्न सक्छ। यद्यपि, कम्पनीको हालको बलियो पूँजीगत संरचना र अनुभवी व्यवस्थापनका कारण यसको क्रेडिट प्रोफाइल सकारात्मक रहेको रेटिङ रिपोर्टमा उल्लेख छ।