काठमाडौं। नेपाल निर्यात परिषद्ले २८औं वार्षिक साधारणसभा अवसरमा १०औं निर्यात दिवस मनाउने भएको छ। परिषद्को साधारणसभा तथा निर्यात दिवसबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा परिषद् अध्यक्ष नरेशलाल श्रेष्ठले यस्तो जानकारी दिएका हुन्।
निर्यात दिवसमा निर्यात क्षेत्रसँग सरोकार राख्ने सरकारी, निजी, विदेशी तथा अन्य निकायको उपस्थिति रहने उनले बताए। यसले निर्यात क्षेत्रसँग सम्बन्धित सरोकारका विषयबारे उजागर गर्न र नीति निर्माण तहमा रहेका राज्यका निकायलाई झकझक्याउन भूमिका खेल्नेछ।
नेपाल निर्यात परिषद् तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको लागत साझेदारीमा आयोजना गरिने निर्यात दिवस २०८२ को प्रमुख उद्देश्य नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्वबारे नीति निर्माता, निजी क्षेत्र र आम नागरिकमा चेतना अभिवृद्धि गर्ने, सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्ने, निर्यात प्रवर्द्धनमार्फत उत्पादनमुखी, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
यस्तै, हस्तकला, कृषि, घरेलु तथा साना–मझौला उद्योगका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै नेपाली उत्पादन पहिचानमा सुदृढ गर्ने, निर्यात व्यापारमा देखिएका नीतिगत, संरचनागत तथा व्यावहारिक समस्या, चुनौती र अवसरबारे सरोकारवालाबीच खुला संवाद र छलफलको वातावरण सिर्जना गर्नु रहेको श्रेष्ठले जानकारी दिए।