काठमाडौं। सुपर खुदी हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुलाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ मा अनुमति पाएको थियो।
यसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको हो। आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये ६ लाख २० हजार कित्ता लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ र ३ (साविक घनपोखरा गाविस वडा–१, ५, ६, ७ र ८ र साविक खुदी गाविसको वडा नं. १ देखि ९) का स्थानीयका लागि रहेको छ।
बाँकी ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका–१, ४, ५, ६, ७, ८ र ९ (साविक घनपोखरा गाविस–२, ३, ४ र ९, साविक ताघ्रिङ गाविस–१ देखि ९, साविक घेर्मु गाविस–१ देखि ९, साविक बाहुनडाँडा गाविस–१ देखि ९, साविक भुलभुले गाविस–१ देखि ९ र साविक सिम्पानी गाविस–१ देखि ९) का स्थानीय बासिन्दाका छुट्याइएको छ।
आईपीओ न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले माघ ६ गतेसम्म र वैदेशिक रोजगारेले पुस २९ सम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ।