बागलुङ। उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा भएको बागलङ महोत्सवमा आठ करोडको कारोबार भएको छ। संघका अनुसार महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गरिएका छन्।
बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा पुस ११ गतेदेखि सुरु महोत्सव पुस २२ सम्म सञ्चालन गरिएको थियो।महोत्सवमा विभिन्न व्यावसायिक स्टल साथै, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तुको बिक्री वितरण तथा प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो।
महोत्सवमा निसीखोलामा भेंडाको उनबाट बनेका काम्ला, अल्लोको कपडा, गुन्द्रक, भाँगो, मकैको पिठो, कोदोको पिठोलगायत वस्तु, सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, सुन्तला, किवीलगायतका स्थानीय उत्पादनले बजार पाएको जनाइएको छ।
महोत्सवमा अटो मोबाइलदेखि होटल रेस्टुरेन्ट र विभिन्न प्रकारका व्यापारिक स्टल राखिएका थिए। स्टलमा पनि उल्लेखनीय व्यापार भएको उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए।
महोत्सवमा रमाइलो मेला सञ्चालन गर्नुका साथै गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, महिलाका लागि लठ्ठो तान्ने प्रतियोगिता, घैंटोफोर प्रतियोगिता, भाले छुनेलगायन विभिन्न प्रतियोगिता सञ्चालन गरिएको थियो।
संघले महोत्सवबाट संकलन भएको रकमबाट सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रम बागलुङका लागि पाँच लाख ११ हजार १११ लाख र नेपाल पत्रकार महासंघ बागलुङका लागि एक लाख सहयोग प्रदान गरेको संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए।
महोत्सवबाट बचेको रकम व्यावसायीको कल्याणकारी कोष, बागलुङ बजारमा सिसीक्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोसेली घर सञ्चालन आदिमा खर्च गरिनेछ।–रासस