काठमाडौं । लकडाउनको बहाना देखाउँदै स्थानीय सरकारले खानी सञ्चालन गर्न नदिएपछि सिमेन्ट उद्योग थप ७ महिना बन्द हुने अवस्था आएको छ । अहिले लकडाउन भएका कारण सिमेन्ट उद्योग बन्द छन् । लकडाउन खुल्ने बेलासम्म बर्षादको समय सुरु हुन्छ । बर्षादको समयमा खानी चल्दैनन्, । खानी नचल्ने वित्तिकै सिमेन्ट उद्योग बन्द गर्नुको अर्को विकल्प नहुने उद्योगीहरु बताउँछन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले सरकारले अहिले खानी सञ्चालन गर्न नदिए आगामी मंसिर/पुससम्म सिमेन्ट उद्योग बन्द हुने बताए । फागुनदेखि जेठसम्म खानीबाट धमाधमबाट कच्चा पदार्थ निकालेर स्टक गर्ने र बर्षादीको समयमा सोही मौज्दातबाट कच्चा पदार्थ निकालेर क्लिङ्कर बनाउने गरिँदै आएको थियो ।
तर, अहिले कोरोना भाइरसका कारण फागुनदेखि नै खानी बन्द भए । खानीबाट कच्चा पदार्थ निकाल्न सकिएको छैन् । कच्चा पदार्थ नै नभई उद्योग सञ्चालन गर्न सक्ने अवस्था नहुने थापा बताउँछन् ।
संघका अनुसार अहिले नेपालमा २१ ओटा क्लिङ्कर उद्योग छन् । ती उद्योगका एक देखि २ ओटा खानी हुन्छन् । त्यही खानीबाट कच्चा पदार्थ निकालेर क्लिङ्कर बनाउने हो । ‘स्थानीय सरकारले ढुवानी गर्न रोकेकाले आगामी असोसम्म उद्योग बन्द हुने अवस्था आएको छ,’ अध्यक्ष थापाले भने, ‘अहिले खानीबाट कच्चा पदार्थ ल्याएर उद्योगमा मौज्दात गर्न पाएको भए, लकडाउन खुल्ने वित्तिकै क्लिङ्कर बनाउन सकिन्थ्यो । यदि खानी चलाउन दिइएन भने उद्योग पूर्ण रुपमा बन्द गर्नु वा विदेशबाट क्लिङ्कर ल्याएर सिमेन्ट बनाउनुको विकल्प हुँदैन् ।’
‘खानी सञ्चालन गर्न दिँदा कोरोना संक्रमणको कुनै जोखिम हुँदैन । खानीमा एक देखि दुई जना मेसिन चालक र ट्रक चालक भन्दा अरु कोही हुँदैन । खानी सञ्चालन गर्नका लागि कुनै समस्या छैन्,’ अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका भन्छन्, ‘अहिले खानी सञ्चालन गर्न नदिने हो भने सिमेन्ट उद्योग बन्द हुने वा विदेशबाट क्लिङ्कर मगाएर उद्योग चलाउनु पर्ने बाध्यता आउँछ । आपूmसँग भएको खानी बन्द गर्ने र विदेशबाट क्लिङ्कर मगाएर सिमेन्ट बनाउँदा विदेशी मुद्रको चाप थप बढ्न सक्छ ।’
उद्योगी समेत रहेका थापाका अनुसार कि सबै कुराको जिम्मेवारी सरकारले लिनुपर्यो । सरकारले आफ्ना कामदारलाई तलब देउ पनि भन्न भएन । बैंकको ब्याज देउ पनि भन्न भएन । सबै हामी (सरकार)ले तिर्छौ भन्नुपर्यो । होइन भने खानी सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य जस्तो कुरालाई लापरबाही गर्नुपर्छ भनेको होइन । स्वास्थ्यलाई सबैभन्दा बढी प्राथमिकता दिने हो र सुरक्षित बनाएर आर्थिक गतिविधि बढाउनुपर्ने थापाको बुझाइ छ ।
‘विगत ७ दिनदेखि गृहमन्त्री रामबहादुर थापादेखि उद्योगमन्त्री लेखराज भट्टलाई समेत भेटेर खानी सञ्चालन गर्न दिनुपर्यो भनिरहेको छु,’ उनले भने, ‘तर, खानी सञ्चालन गर्न दिने विषयमा सरकार गम्भीर नै हुँदैन ।’
अहिले खानी सञ्चालन गर्न दिने हो भने लकडाउन खोलेको भोलिपल्टबाट उद्योग चलाउने उद्योगीहरु बताउँछन् । अबको १०÷१५ दिन कच्चा पदार्थ ओसार्न पाइएन भने मंसिर÷पुससम्म उद्योग बन्द हुने उनको भनाइ छ ।
सरकारले खानी सञ्चालन गर्न रोक लगाए पछि धेरै उद्योगीले भारतमा क्लिङ्करको अर्डर दिइसकेका छन् । सरकारले खानी सञ्चालन गर्न नदिएपछि उद्योगीले भारतबाटै क्लिङ्कर ल्याएर भए पनि लकडाउन खुल्ने वित्तिकै उद्योग चलाउने तयारी गरेका हुन् ।
पानी पर्ने समयमा खानी चलाउन सकिँदैन । बाटो पनि अप्ठयारो हुन्छ । त्यही भएर अहिले खानी मात्रै चलाउनु दिनुस्, भन्दा पनि सरकार सुन्ने पक्षमा नभएको उद्योगीको गुनासो छ ।
‘खर्बौ रुपैयाँ लगानीको भएको क्षेत्र मंसिर÷पुससम्म बन्द गर्नुपर्ने अवस्था आयो भने के हुन्छ ?’ थापाले भने । साधारतयः ४ महिना खानी चलाएर ८ महिनालाई स्टक राख्ने प्रचलन हुन्छ । फागुन, चैत, बैशाख र जेठसम्म खानी चलाउने र त्यहाँबाट कच्चा पदार्थ झिकेर मौज्दात गर्ने गरिएको उनको भनाइ छ ।