काठमाडौं। अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) को अध्यक्षमा कैलाश विजयानन्द चयन भएएका छन्। काठमाडौंमा आयोजित एमच्याम नेपालको चौथौ वार्षिक साधारणसभाले विजयानन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। उनी ग्लोबल टेक कम्पनी लिपफ्रगका प्रमुख कार्यकारी अधिकृत हुन्।
लिपफ्रग टेक्नोलोजीले नेपालसहित भारत, बेलायत, स्वीट्जरल्याण्ड, क्यानडा र अमेरिकामा विगत करिब दुई दशकदेखि सेवा दिइरहेको छ। प्रोग्रमरका रुपमा करिअर सुरुआत गरेका विजयानन्दले पोर्टसमाउथ विश्वविद्यालयबाट कम्प्युटर साइन्समा डिग्री हासिल गरेका छन्।
कार्यसमितिको बोर्ड सदस्यहरुमा फोर्ड कम्पनीका आकाश गोल्छा, जुनो कम्पनीका मनिष थापा, मोघा इनर्जीका समराथ मोघा, बोटलर्स नेपालका स्नेह राजभण्डारी, पठाओ नेपालकी सुरक्षा हमाल, डियर होल्डका सचिन करनजीत चयन भएका छन्। साथै एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित बिक्रम शाह, सेमन्त दाहाल र निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ पनि बोर्ड सदस्यमा चयन भएका छन्।
राजदूत थम्पसनले व्यापार, लगानी तथा पारदर्शी र पूर्वानुमानयोग्य व्यावसायिक वातावरणको प्रवद्र्धनमा अमेरिकी दूतावास नेपाल र एमच्याम नेपालबीचको सुदृढ साझेदारीलाई विशेष रूपमा उल्लेख गरे। उनले एमसिसी नेपाल कम्प्याक्टले अमेरिकी तथा नेपाली कम्पनीका लागि सृर्जना गर्ने रूपान्तरणकारी अवसरबारे प्रकाश पार्दै, नेपाली बजारमा अमेरिकी कम्पनीहरूको निरन्तर प्रवेश भइरहेको तथ्यबारे चर्चा गरे।
यसका साथै, नेपालले लगानीमैत्री वातावरणलाई थप सुदृढ गर्न तथा नीतिगत स्थायित्व र निश्चितता प्रदर्शन गर्न सक्ने केही व्यावहारिक कदमहरूको आवश्यकता औंल्याए। उनले गत सेप्टेम्बर ८–९ मा नेपालमा भएका घटनाहरूको सन्दर्भमा नेपाल तथा अमेरिकी व्यावसायिक समुदायले देखाएको सहनशीलता र दृढतालाई प्रशंसा गर्दै, स्थिर र दीर्घकालीन आर्थिक वृद्धिप्रति निरन्तर समर्थन रहने प्रतिबद्धता पुनः व्यक्त गरे।
कार्यक्रममा नेपालस्थित अमेरिकी दूताबासका डेपुटी चिफ अफ मिसन स्कट अर्बन, पब्लिक अफेयर्स प्रमुख माइक हार्कर, इकोनोमिक प्रमुख केट लेहयी र इकोनोमिक अफिसर जेरहा नाक्भी र आनन्द गुरुङलगायतको उपस्थिती थियो। त्यस अवसरमा एमच्याम नेपालका कार्यकारी निर्देशक अमीरराज थापाले बोर्डको प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले बोर्डको प्रतिवेदन र कम्पनीको वित्तीय प्रतिवेदन अनुमोदन गरिएको थियो।