काठमाडौं। नेपालको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपअन्तर्गतको मैनावती स्टील इन्डस्ट्रिजको व्यापार घटेको छ। व्यापारमा मन्दी र बढ्दो लागतले कम्पनीको आम्दानी एक वर्षमै १३ प्रतिशतले घटेर करिब ३ अर्ब रुपैयाँमा संकुचित भएको हो।
सन् २०२४ मा ३ अर्ब ४८ करोड ९० लाख बढी आम्दानी गरेको कम्पनीले २०२५ मा २ अर्ब ९८ करोड ६० लाख रुपैयाँ मात्रै आम्दानी गर्न सकेको क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सद्वारा सार्वजनिक रिपोर्टले देखाएको हो।
सन् २०२३ मा भने मैनावती स्टील इन्डस्ट्रिजले ६ अर्ब ३ करोड ५० लाख र सन् २०२२ मा ४ अर्ब २९ करोड ८० लाख बराबरको आम्दानी गरेको थियो। नयाँ अर्डरमा आएको कमी र बजारको प्रतिकूल वातावरणले विगत २ वर्षयता कम्पनीको व्यापार लगातार घटेको रिपोर्टमा उल्लेख छ। कम्पनीको पछिल्लो २ वर्षको तथ्यांकले स्टील बजारको सुस्तता र मागमा आएको ह्रासलाई स्पष्ट झल्काउँछ।
व्यापारमा आएको सुस्ती र वित्तीय सूचक कमजोर बनेपछि इन्फोमेरिक्सले कम्पनीको क्रेडिट रेटिङलाई ‘डाउनग्रेड’ गरेको छ। यसअघि दीर्घकालीन कर्जाका लागि ‘त्रिपल बी माइनस’ र अल्पकालीनका लागि ‘ए थ्री’ रेटिङ पाएको कम्पनीले अहिले ‘डबल बी प्लस’ र ‘ए फोर प्लस’ रेटिङ पाएको छ।
कार्यशील पुँजी अभाव टार्न कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन क्रेडिट रेटिङ गराएको हो। इन्फोमेरिक्सले कम्पनीलाई कुल ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा सीमा निर्धारण गरेको छ, जसमा १ अर्ब २१ करोड २० लाख रुपैयाँ दीर्घकालीन र ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जा सीमा हो।
मैनावती स्टीलको नाफाको मार्जिनमा पनि ठूलो धक्का लागेको छ। सन् २०२३ मा ९.६४ प्रतिशत रहेको यस्तो मार्जिन २०२४ मा ६.६५ प्रतिशत र २०२५ मा आइपुग्दा ३.४६ प्रतिशतमा झरेको छ। बजारमा बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको बढ्दो लागत र मूल्य निर्धारणमा देखिएको सीमितताले कम्पनीको मुनाफालाई खुम्च्याएको रिपोर्टमा उल्लेख छ।
साथै, कम्पनीको खुद नाफा मार्जिन पनि सन् २०२५ मा मात्र ०.५५ प्रतिशतमा झरेको छ। यसले कम्पनीको सञ्चालन क्षमतामा परेको दबाबलाई संकेत गर्छ।
स्टील उद्योगमा उधारोमा सामान बेच्नुपर्ने र कच्चा पदार्थ आयात गर्दा नगदै भुक्तानी गर्नुपर्ने बाध्यताका कारण कम्पनीको कार्यशील पुँजी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सन् २०२५ मा कम्पनीको सञ्चालन चक्र २२४ दिन पुगेको छ। कम्पनीले सरदर १५० दिनसम्म सामान स्टक राख्नुपर्ने र ९३ दिनसम्म उधारो उठाउन कुर्नुपर्ने अवस्था छ। यसले गर्दा कम्पनी बैंक ऋणमा बढी निर्भर हुनुपरेको छ।
करिब तीन दशक लामो अनुभव बोकेको मैनावती स्टीलको मुख्य सबल पक्ष यसको विशाल ग्रुपसँगको आबद्धता हो। १७ प्रतिशत सेयर स्वामित्व लिएका त्रिलोकचन्द अग्रवाल अध्यक्ष रहेको कम्पनीको उत्पादन प्लान्ट सुनसरीको दुहवीमा छ। कम्पनीसँग वार्षिक १ लाख १३ हजार ९ सय मेट्रिक टन स्टीलजन्य सामग्री उत्पादन क्षमता छ।
कम्पनीले एमएस ब्ल्याक पाइप, जीआई पाइप, सटर प्रोफाइल, वायर र अन्य फलामे सामग्री उत्पादन गर्दै आएको छ। भारतीय सीमा नजिक कारखाना हुनु र विशाल गु्रपको बलियो नेटवर्क हुनुले ढुवानी लागत कम गर्न र बजार विस्तारमा मद्दत पुगेको छ।
यद्यपि, कच्चा पदार्थका लागि ८० प्रतिशत बढी आयातमा भर पर्नुपर्ने र भुक्तानी डलरमा गर्नुपर्ने हुँदा विनिमय दरको जोखिम सधैं कायमै छ। आगामी दिनमा निर्माण क्षेत्रमा आउने सुधार र कम्पनीले बढाउन सक्ने आफ्नो बजार हिस्साले नै यसको भविष्य तय गर्ने देखिन्छ।