काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सरकारको निर्णयबमोजिम गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।
निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं प्राधिकरण सञ्चालक समिति (बोर्ड) अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले सहिद परिवारका २७ जनालाई रोजगारी दिने निर्णय गरेको हो।
जेनजी सहद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन दिइएको थियो। निवेदकको यकिन गरी पायक पर्ने प्राधिकरणको कार्यालयमा निजको शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा करार नियुक्त गर्ने निर्णय भएको हो। सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायतासम्बन्धी कार्यविधिबमोजिम र सहिद परिवारका सदस्यका निवेदनका आधारमा २७ जनालाई रोजगारी दिने निर्णय भएको घिसिङले बताए।
कार्यविधिमा जेनजी प्रदर्शनमा घाइते तथा अपांगता भएका व्यक्ति वा नजिकको परिवारका सदस्य र शहीद परिवारको सदस्यलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत र रोजगारीसम्बन्धी व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र उद्योग, वाणिज्य तथा आपूर्तिलगायतका विषयगत मन्त्रालयबाट मिलाउने गरी आवश्यक कार्य हुने व्यवस्था छ।
आन्दोलनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई सरकारले सहिद घोषणा गरेको थियो।