काठमाडौं। काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध प्रकाशन तथा प्रशारण भएका झूटो, भ्रमपूर्ण र अनर्गल लेख तथा समाचार बन्द गर्न आदेश दिएको छ। खगेन्द्रराज कँडेल (रविन) समेतका विरुद्ध दायर निवेदनमा बिहीबार यस्तो आदेश जारी भएको हो।
रिलायन्सले कँडेलका साथै नेपाल सेयर बजार लगानीकर्ता संघलगायतले अर्थसंचार, विजशाला, अर्थसंचार यूट्युब च्यानल, टंक दाहाल नामक यूट्युब च्यानल जस्ता प्लेटफर्मबाट झुटो भ्रमपूर्ण लेख तथा समाचार प्रशारण तथा प्रकाशन गरेको, कम्पनीको विवरणपत्रमा उल्लेखित विषयहरुको बारेमा अनर्गल र गलत तथ्य उल्लेख गरी नीतिगत भ्रष्टाचार, संस्थागत अपराध, वित्तीय आतंकवाद, ठगी जस्ता अप्रमाणित र मानहानीपूर्ण आरोप लगाई कम्पनी र कम्पनीको संस्थापकलाई बेईज्जी गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रशारण गरिएको भन्दै बुधबार निशेधाज्ञा तथा गाली बेइज्जती मुद्दा दायर गरेको थियो। न्यायाधीश रामचन्द्र खड्काको इजलाशले बिहीबार सुनुवाई गर्दै प्रथम दृष्टिमै ती लेख र समाचारलाई झूटो, भ्रमपूर्ण र अनर्गल भनेको छ।
‘अर्थसंचार, विजशाला, अर्थसंचार यूट्युब च्यानल, टंक दाहाल नामक यूट्युब च्यानल जस्ता विभिन्न सामाजिक सञ्जाल मार्फत झुटो भ्रमपूर्ण लेख तथा समाचार प्रशारण तथा प्रकाशन गरेको, कम्पनीको विविरणपत्रमा उल्लेखित विषयहरुको बारेमा अनर्गल र गलत तथ्य उल्लेख गरी नीतिगत भ्रष्टाचार, संस्थागत अपराध, वित्तीय आतंकवाद, ठगी जस्ता अप्रमाणित र मानहानीपूर्ण आरोप लगाई कम्पनी र कम्पनीको संस्थापकलाई बेईज्जी गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रशारण गरिएको कार्य प्रथम दृष्टिमा नै देखिएको हुँदा,’ आदेशमा भनिएको छ, ‘उल्लेखित शिर्षकका सम्बन्धी सामाग्रीहरु संचार माध्यम तथा अनलाईन समेतमा प्रकाशन प्रसारण नगर्न नगराउन र प्रकासन प्रशारण गरिसकेका उक्त सामाग्रीहरु थप सम्प्रेषण हुन नदिनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’
अदालतको आदेशले भ्रमपूर्ण कथा बनाएर पुँजी बजारमा आफ्नो स्वार्थशिद्ध गर्ने प्रवृत्तिमा लगाम लागेको छ। रिलायन्सको आईपीओ रोक्न करिब २ वर्षदेखि विभिन्न मुद्दा मामिला गरे पनि अदालतको आदेशपछि शेयर निष्काशन भएपछि उक्त समूहले केही अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत भ्रमको खेती गरेको थियो।
रिलायन्स स्पिनिङ मिल्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतको प्रक्रियामा गइसकेको छ। रिलायन्सले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको थियो। बुक बिल्डिङ बिधिमार्फत निष्काशित कूल सेयरको ४० प्रतिशत (७ लाख ७० हजार ६४० कित्ता) शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिएको छ। संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९१२ रुपैयाँको दरले शेयर बिक्री गरिएको थियो।
बुक बिल्डिङ निर्देशिका बमोजिम ६० प्रतिशत शेयर आमसर्वसाधारण, वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, म्युचुअल फण्ड तथा कर्मचारीलाई बाँडफाँट गरिएको छ। निर्देशिका अनुसार संस्थागत लगानीकर्तालाई बिक्री गरिएको ‘कट अफ’ मूल्यको १० प्रतिशत डिस्काउन्ट गरेर प्रतिकित्ता ८२०.८० रुपैयाँ तय भएको थियो।
ग्लोबल आईएमई क्यापिटलको निष्काशन तथा बिक्री प्रवधकत्वमा भएको आईपीओमा गोला प्रथाबाट प्रतिआवेदक न्यूनतम ५० कित्ताको दरले शेयर बाँडफाँट गर्दा २१ हजार ८०७ जनाले शेयर पाएका छन्। आमसर्वसाधारणतर्फ १८ हजार ४९५ जना र वैदेशिक रोजगारी समूहतर्फ २ हजार ३११ जनालाई शेयर बाँडफाँट गरिएको ग्लोबल आईएमी क्यापिटलले जनाएको छ। तीनवटै समूहमा गरेर ५ लाख ७४ हजार ६९२ आवेदक थिए, जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५३२ रुपैयाँ जम्मा भएको थियो।