काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालमा विदेशी मुद्रा सञ्चितीमा नकरात्मक असर पर्ने देखिएको छ । विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, वैदेशिक रोजगारी क्षेत्र संकुचनमा परेपछि यसको नकरात्मक असर विदेशी मुद्रा सञ्चितमा पर्ने देखिएको हो ।
पर्यटन उद्योग कम्तिमा एक वर्षसम्म नउठ्ने गरी थला परेको छ । यस्तै कोरोनाको असरले गर्दा विश्व आर्थिक मन्दी आएपछि लाखौं नेपालीले वैदेशिक रोजगारी गुमाउँदै छन ।
वैदेशिकर रोजगारीमा कमी आएपछि रेमिट्यान्स अप्रवाह घट्ने छ । विश्व बैंकले यो वर्ष नेपालको रेमिट्यान्स आप्रवाह १४ प्रतिशत घट्ने प्रक्षेपण गरेको छ । लकडाउन खुलेपछि डलरमा नाफा र लगानीफिर्ता हुन थाल्यो भने डलर सञ्चितीमा ठुलो असर पर्ने देखिन्छ ।
कोरोना महामारीले आगामी वर्ष विदेशी मुद्रा सञ्चितमा दवाव पर्ने नेपाल राष्ट्र बैंकका प्रवत्ता डा. गुणाकर भट्ट बताउँछन । उनले चालु आर्थिक वर्षमा खासै समस्या नआए पनि आगामी आर्थिक वर्षमा यसको असर पर्ने देखिएको जानकारी दिए ।
‘रेमिट्यान्स र पर्यटन क्षेत्रमा छिट्टै सुधार आएमा समस्या पर्दैन तर ढिलाइ हुन गयो भने अवश्य चाप पर्ने छ’ उनले भने । यस्तै विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक (एडीबी) र एसियाली पुर्वाधार विकास बैंक (आईआईएबी) बाट पनि सहयोग डलरमा आउने भएकाले समस्या नपर्ने संभावना रहेको उनको भनाई छ ।
यस्तै विश्व बजारमा तेलको भाउमा भारी गिरावट आएको र अहिले खपत पनि ज्यादै कम भएकाले यसबाट पनि डलर सञ्चिती जोगाउन सहज हुने उनको तर्क छ ।
प्रतिवद्धता जनाएको र आउने तयारीमा रहेका प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि मन्दीका कारण तत्काल आउने संभावना देखिन्दैन । यस्तै वैदेशिक व्यापारमा निकासी बढेकाले केही राहात हुने छ ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रेमिट्यान्स आप्रवाहमा कमी, निकासी व्यापारमा गिरावट र पर्यटक क्षेत्र ठप्प भएकाले विदेशी मुद्राको आर्जन कम हुने बताइसकेका छन ।
कोरोना भाइरसले विश्व अर्थतन्त्रमा ठुलो असर गरेसंगै रेमिट्यान्स अप्रवाह, पर्यटनबाट हुने आय र वैदेशिक लगानीमा संकुचन आई थप चुनौती बन्ने संभावना देखिएको उनले जानकारी दिए ।
वैदेशी मुद्राको संकट आएमा खाद्यान्न, औषधि, पेट्रोलियम पदार्थलगायत अन्यवस्तु आयातका स्रोत हुँदैन र यी वस्तुको आयात रोकिन सक्ने छ । विदेशी मुद्राको सञ्चिति घटेमा त्यसले आयात महँगो हुने छ । कच्चा पदार्थको मूल्य बढेर उद्योगको उत्पादन लागतमा वृद्धि भई महँगी बढ्न सक्ने संभावना छ ।
कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बृद्धि भई गएको फागुन मसान्तमा ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । यो विदेशी मुद्रा सञ्चितीले १० महिनाको वस्तु र ८ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।