काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ अनुसार योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ। मन्त्रालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरेको हो।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।
कार्य भिसामा विदेश गई कम्तीमा ११ वर्ष काम गरेर फर्किएका तथा नेपाल फर्किएपछि कम्तीमा एक वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका उद्यमीले आवेदन दिन सक्नेछन्। आवेदन फाराम भरी श्रम स्वीकृति, भिसासहितको राहदानी, व्यवसाय तथा कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्रलगायत कागजात संलग्न गर्नुपर्नेछ।
पाँच वर्षभित्र यस मन्त्रालयबाट यस्तै प्रकृतिको पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि आवश्यक पर्नेछ। आवेदन मन्त्रालयको सूचना प्रविधि तथा तथ्यांक शाखामा दर्ता गर्न वा स्क्यान गरी ईमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ।
उद्यमी छनोट गर्दा रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन–स्रोत र प्रविधिको प्रयोग, उत्पादन तथा निर्यात, सामाजिक दायित्व, वातावरणमैत्री प्रविधि, प्रदूषण व्यवस्थापन तथा उद्यम सञ्चालन गरिएको भौगोलिक क्षेत्रलाई आधार बनाई मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ।