काठमाडौं। सूचना र प्रविधिको विकास भएसँगै चुनावी प्रचार शैलीमा पनि रुपान्तरण हुँदै गएको छ। बदलिँदो समाजमा आएको परिवर्तनले प्रचार शैलीमा फेरबदल आएको हो। नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी हुँदै गएको छ।
नेपालमा विसं २०७९ सालमा भएको स्थानीय निर्वाचनमा नयाँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले प्रचार गरेको शैलीलाई लिएर प्रदेश र संघीय निर्वाचनमा पुरानो दलले पनि प्रचार शैलीको सिको गरेका थिए। फलस्वरुप अहिले राजनीतिक दलका सबै उम्मेद्वारले प्रचार शैलीलाई परिमार्जन गर्दै आफ्नो ऐजेण्डा सूचना र प्रविधिको माध्यमबाट पेस गरिरहेका छन्।
एक दशकअघिका चुनावहरुमा अगाडि भाषण र र्यालीका आवाज चोकचोक र गल्लीगल्लीमा सुनिन्थे। अहिले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममार्फत भिडियो सन्देश र एआईमार्फत सिर्जित सामाग्रीको सहयोगबाट प्रचार गर्न तत्पर छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार २०८१ फागुनसम्म इन्टरनेटको ग्राहकको घनत्व १३५ दशमलव ३६, मोबाइल टेलिफोन ग्राहकको घनत्व २०८१ फागुनसम्म १०२ दशमलव १ प्रतिशत रहेको छ।
सोही तथ्यांकलाई आधार मानेर दलहरुले एकै पटक धैरै मानिससम्म पुग्न सकिने भएकाले उम्मेद्वारहरुले प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गरेको पाइन्छ। देशका ठूला शहरका मानिसहरु कुनै न कुनै प्रकारको सञ्जालमा आवद्ध भएकाले आधुनिक प्रचार शैली प्रभावकारी हुने गर्छ। तर अहिले दूरदराजका नागकिरसँग पनि सूचना र प्रविधिको पहुँच भएकाले यसको प्रभाव पर्ने निश्चित प्राय: छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राज्यका सबै संरचनाहरु चुनावी संघारमा जुटेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ७५ हजार ५९१ र पुनस् श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ जना रहेका छन्। उनीहरूले श्रम स्वीकृति लिई श्रम गन्तव्य मुलुक मलेसिया, कतार, साउदी अरेबिया, कुवेतलगायतका थुप्रै मुलुकमा पुगेका छन्। सोही मानिसहरुलाई प्रभावमा पार्न सकियो भने उनीहरुको परिवारलाई प्रभाव पार्न डिजिटल प्रचारशैली अवलम्बन गर्दै आएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राज्यका सबै संरचना चुनावी संघारमा जुटेका छन्। राजनीतिक दलका नेता तथा उम्मेद्वारहरुले डिजिटल तौरतरिकाबाट प्रचार प्रसार गर्न सुरुवात गरेका छन्। यसमध्ये नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी भिडियो सन्देशमार्फत सबै नेता, कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आग्रह गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमाफर्त यस्तो सन्देश प्रवाह गरेका हुन्।
यस्तै, आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं। २ बाट सिफारिस भएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामप्रसाद सापकोटा 'दीपशिखा'ले पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार प्रसार गरेका छन्। उनले आफ्नो उम्मेद्वारी किन भनेर उत्तर दिएका छन्।
नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन थापाले चुनावसँगै पार्टीले भोग्नु परेको जटिलतालाई सामाजिक सञ्जालबाट पेश गर्दै आएका छन्। 'समय र प्रक्रियागत बाध्यताबीच समावेशी सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,' उनले एक भिडियो सन्देशमा भनेका छन्, 'भोलि सबै जना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारित उम्मेद्वारको पक्षमा एक ढिक्का भएर लागौँ। यो व्यक्तिगत होइन पार्टीको साझा अभियान हो।'
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोविता गौतमले पनि सामाजिक सञ्जालमा परिवर्तनको उद्घोष सभामा आह्वान गर्दै मैथली भाषामा निर्माण गरिएको पार्टीको संगीतमाफर्त सन्देश दिएकी छन्।
आगामी निर्वाचनलाई लिएर प्रचार गरिएको यी केही प्रतिनिधि मात्रै हुन्। आगामी निर्वाचनमा उम्मेद्वार छनोट भएका उम्मेद्वारहरुले आफ्नो सामाजिक सञ्जाल तथा अन्य वैकल्पिक माध्यमबाट भरपूर सन्देश दिइरहेका छन्।अहिले सबै राजनीतिक दल तथा नेताले चुनावसम्बन्धी सामाग्री सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने लहर चलेको छ।
विगतका प्रचार शैली
नेपालमा सबैभन्दा पहिलो निर्वाचन ६७ वर्षपहिले अर्थात विं। सं। २०१५ सालमा फागुन ७ गते भएको थियो। त्यतिबेला निर्वाचनमा मतदातासम्म सन्देश प्रवाह गर्न गीतकाररगायकरकवि र लेखकहरुको प्रयोग गरिन्थ्यो।
हिले भएको प्रचारको शैलीमा नियमन हुन नसकेको अवस्थामा समाजमा असर पुग्छ।
त्यसयता नेपालमा कयौँपटक निर्वाचन भएका छन्। चुनावमा गरिने प्रचार- प्रसार शैली पछिल्लो दिनसम्म आइपुग्दा फरक र रोचक बन्न पुगेको छ।पहिला निर्वाचनमा उम्मेद्वारले आफ्नो विचार, एजेण्डा प्रस्तुत गर्न भेला, जमघट, सभा गरेर प्रचार हुँदै आएको पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल बताउँछन्। निर्वाचनमा प्रचार प्रसारका शैली सभाबाट रेडियो, माइक, मोबाइल हुँदै अहिले कृत्रिम बुद्धिमता (एआई)सम्म आइपुगेको उनको बुझाइ छ।
समय सन्दर्भअनुसार चुनावी प्रचार प्रसार गर्दा प्रभाव हुने भए पनि शैलीभन्दा मर्यादितका विषय महत्वपूर्ण रहने पूर्वप्रधानमन्त्री खनालले बताए। अहिले भएको प्रचारको शैलीमा नियमन हुन नसकेको अवस्थामा समाजमा असर पुग्छ। त्यसैले सम्बन्धित निकायले नियमनमा जोड दिनुपर्ने खनालले बताए।
विगतदेखि वर्तमानसम्म भाषण गीत कागजी पर्चा पम्पेलट र पोस्टरबाट सुरु भएको अर्थात भौतिक रुपबाट सुरु भएको चुनावी शैली अहिले डिजिटल माध्यम हुँदै एआईसम्म आइपुग्दा निर्वाचन आचार संहिताले यसलाई समेट्छ कि समेट्दैनरु त्यसलाई ध्यान दिन आवश्यक रहेको उनले बताए।
निर्वाचन आचार संहितामा के छ?
निर्वाचन आचारसंहिता २०८२ अनुसार निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले कसैले सामाजिक सञ्जाल खाता सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने उल्लेख गरेको छ।
यस्तै, सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना समप्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण अर्थात घृणास्पद भाषण तथा अभिव्यक्ति जस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने, विषय निर्वाचन आचारसंहितामा उल्लेख छ।
कुनै प्रयोजनका लागि प्रकाशन वा प्रशारण भएको सूचना वा सामाग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने प्रस्ट लेखिएको छ।
निर्वाचनको विश्वसनीयतामा आयेग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने, उम्मेद्वारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेद्वार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्ता सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचार प्रसार गर्न कुनै विद्युतीय सामाग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामाग्री सेयर गर्न वा त्यस्ता सामाग्री प्रतिक्रिया दिन नहुने व्यवस्था रहेको छ।