काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका मन्त्री खनालले आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपाल–भारतबीचका सीमासम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताएका हुन्।
उनले सीमा विवादमा नेपालले बेलायतको मध्यस्थता नखोजेको दाबी गरे।
तर, जेठ १७ मा प्रतिनिधिसभाबाट प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यक परे सीमा विवाद सल्टाउन बेलायतसँग सम्पर्क पुगिने बताएका थिए।
यद्यपि परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै यस सम्बन्धमा नेपालले भारत र चीनसमक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिए।
‘नेपाल–भारतको वर्तमान सीमा सन् १८१६ को सन्धिबाट निर्धारित भएको हो । यी विषयहरू द्विपक्षीय वार्ता र कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनेछन्। हामी सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ,’ उनले भने। दुई देशका प्रधानमन्त्रीको सहमतिमा गठित समूहले तयार गरेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन उनीहरुलाई नै बुझाउनुपर्ने बताए।
अर्को प्रश्नको जवाफमा नेपालले आफ्ना दुवै छिमेकीसँग सहकार्य गर्ने मन्त्री खनालको भनाइ थियो। उनले मुलुकका परराष्ट्र नीतिका प्राथमिकता, नेपाल–भारत सम्बन्ध, तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे पनि स्पष्ट गरे।