काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ३८ वटा जिल्लामा अधिवेशन सकिएको छ। कतिपय जिल्लामा सर्वसम्मत कार्यसमिति चयन भएका छन्। अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति निर्वाचित गरिएको रास्वपाले जनाएको छ।
बागमती प्रदेशका ९ वटा जिल्लामा अधिवेशन भएको छ भने ८ वटा जिल्लामा कार्यसमिति टुंगो लागिसकेको छ। सिन्धुपाल्चोकमा आज निर्वाचन हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
कोसी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका ६ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवशेन हुन गइरहेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुनेछ।
आयोगका अनुसार शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन सम्पन्न भएका छन्।
यसैगरी स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन भई नयाँ नेतृत्व चयन भइसकेको छ।
प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ। अन्य १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवशेनपछि हुनेछ।
जेठ २६ गतेदेखि सो पार्टीको प्रदेश अधिवेशन प्रारम्भ हुनेछ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदै छ।