काठमाडौं । आगामी आर्थिक वर्षको बजेट कोरोना भाइरस महामारी असरबाट सिर्जना भएको वहुपक्षिय समस्या निराकरणसहित पुर्वाधार विकासमा केन्द्रीत हुने भएको छ ।
बजेटले गुमेको रोजगारीलाई पुनर्स्थापना गरी थप अवसरको सिर्जना, स्वास्थ्य पुर्वाधार विकासका साथै निजी क्षेत्रलाई करमा सहुलियतसहितको पुनरुत्थान आर्थिक सुधारको प्याकेज ल्याउने भएको छ ।
थप काम र रोजगारी सिर्जनासहितको सामाजिक सुरक्षा, आधुनिक प्रविधिको विस्तारका साथै सामाजिक न्यायसहितको आर्थिक वृद्धि हासिल गर्नमा बजेट केन्द्रीत हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन । कोरोना महामारीले शिथिल बनाएको अर्थतन्त्रलाई भूकम्पपछिको जस्तै उठ्ने गरी गतिशिल बनाउने उनले जानकारी दिए ।
आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई करमा सहुलियतका साथै मौद्रिक नीतिबाट राहातको प्याकेज ल्याउने जानकारी दिएका छन । आगामी वर्ष सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान, गुमेको रोजगारी पुनर्स्थापना र कृषिमा क्रान्ति बजेटको मुल लक्ष्य हुने अर्थमन्त्री खतिवडाले बताएका छन ।
कृषिलाई बजारको सुनिश्चितता, सामूहिक खेतीमा जोड, निर्यातमुलक उद्योगको संरक्षण सरकारका मुल प्राथमिकता रहेका छन ।आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सिद्धान्त संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोना महामारी नियन्त्रणमा चालिएका कदमबाट बढेका दायित्वलाई पुरा गर्दै उच्च आर्थिक वृद्धिको लक्ष्यमा बजेट केन्द्रीत हुने बताएका छन ।
उनले आगामी बजेटमा संघ र प्रदेश सरकारहरुको समन्वयनमा स्वास्थ्य पूर्वाधारको विकास गर्ने, सबै जनतालाई आधारभूत स्वास्थ्य सेवा दिने, स्वास्थ्य प्रणालीलाई अझ सबल बनाउने लक्ष्य लिएको खतिवडाले सुनाए । कोरोना महामारीले गर्दा सरकारका प्राथमिकतामा पुनः परिभाषा गर्नुपर्ने, पर्यटन, श्रम र आपूर्ति श्रङखलामा गहिरो प्रभाव परेको उनको भनाई छ ।
अर्थमन्त्रीले द्रुत विकास गरेर अर्थतन्त्रलाई थप गतिशील बनाउन चुनौति रहेको स्वीकार गरेका छन । बजेटले वामपन्थी चुनावी घोषणापत्रमा लिएका लक्ष्यहरुको कार्यन्वयन गर्दै देशलाई मध्यआय भएको मुलुकमा रुपान्तरण गर्ने, सार्वजनिक, निजी र सहकारी साझेदारीमा आन्तनिर्भर, उन्नतशील र स्वतन्त्र अर्थतन्त्र बनाउनमा केन्द्रीत हुने उनले संसदलाई जानकारी गराए ।
उत्पादनका साधनहरुको अधिकतम प्रयोग गरेर रोजगारी दिने, रुपान्तरणकारी आयोजनाहरुलाई बढी बजेट दिने, आन्तरिक राजश्वलाई आयको मुल आधार बनाउने र थप वैदेशिक सहायताको परिचालन गर्ने बजेटको मुल सिद्धान्त रहेको उनले जानकारी दिए ।
मूल्यवृद्धिलाई वान्छित सीमामा राख्ने, बैंकहरुको लगानी उत्पादनमुलक क्षेत्रमा केन्द्रीत गर्ने, अनौपचारिक श्रमिकलाई रोजगारीमा आवद्ध गर्ने र वैदेशिक लगानीलाई थप प्रोत्साहित गर्ने बजेटका प्राथमिकता रहेका छन । सरकार गठन भएको २ वर्षमा संघीयता कार्यन्वयनमा आएको, आर्थिक गतिविधिमा विस्तार भएको अर्थमन्त्री खतिवडाको दावी छ । अर्थमन्त्रीले विनियोजन विद्ययेकका सिद्धान्त र प्राथमिकता छलफल गरियोस भन्ने प्रस्तावलाई संसदमा पेश गरेका छन ।