काठमाडौं। अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइ’मा अभियानअन्तर्गत ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम आयोजना गरेको छ।
इनड्राइभले चालक सशक्तीकरण, सडक सुरक्षा प्रवर्द्धनप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ।
तालिममा इनड्राइभका ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरणसम्बन्धी आवश्यक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। यसले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकको भूमिकालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
यस पहलको एक प्रमुख विशेषता भनेको इनड्राइभले आफ्नो विशिष्ट स्वतन्त्र छनोट मोडेलमाथि दिएको विशेष जोड हो। यो मोडेलले ड्राइभरलाई प्लेटफर्मभित्र काम गर्दा यात्रासम्बन्धी निर्णय स्वतन्त्र रूपमा लिन सक्ने अधिकार दिन्छ।
सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सत्रलाई नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिले सहजीकरण गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले इनड्राइभका लागि चालक साझेदारको सशक्तीकरण केवल प्रविधि उपलब्ध गराउने वा आम्दानीको अवसर सिर्जना गर्ने विषयमा सीमित नभएको र जिम्मेवार, सुरक्षित एवं दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले तालिम आयोजना गरिएको बताइन्।