काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा बन्द भएको छ। करिब १.५३ प्रतिशतको गिरावटले केही लगानीकर्तामा चिन्ता बढाए पनि बजार विश्लेषकहरूले यसलाई स्वाभाविक सुधार भनिरहेका छन्। मंगलबार पनि कारोबार रकम १४ अर्ब १६ करोड पुगेकाले बजार कमजोर भएको नभई प्रोफिट बुकिङका कारण भएका देखिन्छ।
बजार विश्लेषकहरूका अनुसार माघको पहिलो सातामा करिब १२० अंकभन्दा बढी वृद्धि भएपछि साना र मर्कामा परेका लगानीकर्ताले नाफा निकाल्न शेयर बिक्री गरेका हुन्। यसले बजारमा सेलिंग प्रेसर सिर्जना गरेको हो। तर कारोबार रकम उच्च रहेकाले यो बजारको स्वस्थ सुधार भएको बजार विश्लेषकहरूको भनाइ छ।
"लामो समयदेखि मर्कामा परेका लगानीकर्ताले बजार केही बढ्ने बित्तिकै नाफा निकाल्ने स्वाभाविक हो। तर कारोबार रकम १४ अर्बमाथि रहेकाले बजारमा पैसाको प्रवाह राम्रो छ। यो सकारात्मक संकेत हो," एक बजार विश्लेषकले भने।
माघदेखिको बजारको यात्रा
पुससम्म शिथिल रहेकाे बजार माघ लागेसँगै जोश आयो र लगातार बजार बढ्दै गयो। कारोबार रकमको प्रवृत्ति हेर्दा पनि सकारात्मक तस्वीर देखिन्छ। पुसमा दैनिक औसत कारोबार ७.५ अर्ब थियो भने माघमा यो बढेर १६ अर्बमा पुगेको छ। पछिल्लो केही दिनदेखि बजारमा फागुन २१ को चुनाव नहुने अफवाह फैलिएको छ। केही लगानीकर्ताले यो अफवाहलाई आधार मानेर शेयर बिक्री गरिरहेका छन्। तर राजनीतिक अवस्थाको विश्लेषण गर्दा चुनाव रोकिने कुनै सम्भावना देखिँदैन। सबै प्रमुख राजनीतिक दलहरू चुनावी प्रचारमा होमिइसकेका छन्, उम्मेदवार छनोट भइसकेको छ र निर्वाचन आयोगले तयारी पूरा गरिसकेको छ।
"यस्ता अफवाह केही समूहले जानाजानी फैलाएका हुन्। लगानीकर्ताले यस्ता अफवाहमा पत्याएर हतारमा निर्णय लिनुहुँदैन," एक बजार नियामकले भने।
बजार विश्लेषकहरूले एकदुई दिनको बजार हलचलले लगानी निर्णय नलिन आग्रह गरेका छन्। उनीहरूका अनुसार नेप्सेको आधार बलियो छ र यो तोडिएन भने बजार फेरि माथि जान्छ। "कारोबार रकम बढ्नु र सूचक घट्नुलाई मिक्स सिग्नल मान्नु गलत हुन्छ। वास्तवमा यो हेल्दी करेक्सनको संकेत हो। लगानीकर्ताले अत्तिएर निर्णय नलिई दीर्घकालीन परिप्रेक्ष्यमा सोच्नुपर्छ," एक लगाानीकर्ताले भने।
बजार विश्लेषकहरूले गुणस्तरीय कम्पनीको शेयरमा लगानी गर्न र अफवाहबाट टाढा रहन लगानीकर्तालाई सुझाव दिएका छन्। अगामी दिनहरूमा कम्पनीहरूको तेस्रो त्रैमासिक नतिजा आउँदै गरेकाले त्यसको आधारमा लगानी निर्णय लिन उपयुक्त हुने उनीहरूको भनाइ छ।
यस दिन ३३३ स्टकको १ लाख ४२ हजार ४७६ पटकको कारोबारमा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँबराबरको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.९३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५७ करोड ८५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको साढे ५७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ५१ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।