काठमाडाैं। सुनचाँदीको मूल्यवृद्धिले विश्व मात्र नभई नेपाली बजारलाई पनि तताएको छ। अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनचाँदीले नेपालमा पनि दैनिक नयाँ कीर्तिमान बनाइरहेको छ। नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर रहन्छ। अन्तर्राष्ट्रिय वस्तु बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण गर्छ। जब अन्तर्राष्ट्रिय बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ।
सुनको भाउ हप्तैपिच्छे लगातार बढेपछि कारोबारमा आएको गिरावटले नेपालका सुनचाँदी व्यवसायीहरूमा यतिबेला अन्योलता पैदा भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वर्तमान अध्यक्ष मानिक रत्न शाक्यका अनुसार अनिश्चितताका कारण अहिले सुनचाँदीको मूल्यमा फेरबदल आइरहेको उनको बुझाइ छ।
पछिल्लो समयमा सुनचाँदीको मूल्यमा आएको फेरबदलले सुनचाँदी खरिद गर्ने र बिक्री गर्ने सबै वर्गमा अन्योल सृजना भएकाले केही दिन होल्ड गर्न शाक्यले सुझाव दिएका छन्। विगतमा गृहयुद्ध चल्दा अन्यत्र खनिज तथा वस्तुमा प्रभाव परे पनि हाल युद्धको स्वरूपले परिवर्तन गरेर सुन, शेयर कारोबार लगायत आर्थिक क्षेत्रमा असर पर्न थालेको शाक्यले बताएका छन्।
केही वर्षयता लगातार चलेको युद्ध तथा अमेरिकी बैंकको ब्याजदर नीतिका कारण सुनचाँदीको मूल्य बढेको सुनचाँदी व्यवसायीहरू बताउँछन्। यसरी सुनको भाउ बढ्दा नेपाली व्यवसायमा दिनदिनै नकारात्मक असर परिरहेको व्यवसायीहरूले अनौपचारिक रूपमा बताउँदै आएका छन्। नेपालमा सुनको प्रयोग सामाजिक संस्कृतिसँग जोडिएका कारण उपभोक्तामा पनि यसको प्रभाव परेको छ। अहिले विवाहको मुख्य सिजन भएकाले स्वदेशी बजारमा सुनको व्यापार राम्रो हुने व्यवसायीहरूले आकलन गरे पनि सुनचाँदीको मूल्यमा आएको उतारचढावका कारण सुनको व्यापारमा गिरावट आएको छ।
अहिले विश्व बजारमा आएको बदलाव तथा आर्थिक र भूराजनीतिक गतिविधिले गर्दा अन्यत्र क्षेत्रमा गरेको लगानी अस्थिर हुनु र केन्द्रीय बैंकले ब्याजदर घटाउनुका कारण डलरको अनुपातमा आफ्नो केन्द्रीय बैंकहरूले कम राख्नु तथा ठूला उद्योगहरूले पनि लगानीको सुरक्षित क्षेत्र भनेर सुनलाई प्राथमिकता दिँदा सुनको मूल्य बढेको अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले बताए। सुनचाँदीको मूल्य बढ्दा नेपालको अर्थतन्त्रलाई सिधै म्याक्रो इकोनोमीमा ठूलो असर नगरेता पनि आगामी दिनमा आम उपभोक्ताले सुनको वस्तु लगाउन तथा उपभोग गर्न निकै चुनौती हुने निश्चितप्राय छ।
नेपाली अर्थतन्त्रमा पर्ने बहुआयामिक असर
विश्व बजारमा आएको परिवर्तनले नेपालको हकमा भने विदेशी मुद्रा ड्रेनेज हुने तथा कालो अर्थतन्त्र सृजना गर्न थप सघाउ पुग्नुको साथै सीमित वर्गले बजारमा विदेशी मुद्रा हातमा लिन सक्ने हुँदा नेपाल राष्ट्र बैंकले सजगता अपनाएर मुद्राको अनुगमनको दायरा बढाउन कुनै कसर बाँकी राख्न नहुने अर्थशास्त्री अधिकारीकाे भनाइ छ। सुनको मूल्य बढ्दा सुन विक्री गरेर कर्जा लिने वर्गका नागरिकहरू प्रत्यक्ष मारमा पर्ने उनकाे भनाइ छ।
अहिले सुनसहितका बहुमूल्य धातुको माग विभिन्न कारणले गर्दा उकासिएको हो। असामान्य मुद्रास्फीति, कमजोर अमेरिकी डलर, देशका केन्द्रीय बैंकहरूले किनेकाले र युएस फेडरल रिजर्भले यो वर्ष फेरि ब्याजदर घटाउन सक्ने सम्भावना भएकाले पनि सुनको माग विश्वभर बढेको छ। युक्रेन युद्ध र गाजा युद्ध अनि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गरेकाले पनि सुनको भाउ बढ्न गएको अनुमान गरिएको छ। सुनप्रति मानिसको बढी आकर्षण हुनुको एउटा कारण यो धातु त्यति सुलभ नहुने भएकाले पनि अहिलेको अवस्था आएको हो। यसरी सुनचाँदीको मूल्यमा आएको वृद्धिले सामाजिक र आर्थिक रूपमा असर गर्ने गरेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताएका छन्।
उत्पादनशीलतामा असर
मानिसहरूले बैंकमा राख्ने पैसा सुनचाँदीमा लगानी गरे भने त्यो पैसा उत्पादनशील नहुने गर्दा त्यसले कुनै प्रतिफल नदिने थापाले बताए। त्यसैले कुनै व्यक्तिलाई प्रतिफल दिएको अवस्थामा मुलुक र अर्थतन्त्रलाई पनि रिटर्न दिने उनको भनाइ छ। पुँजीगत लाभले व्यक्तिलाई लाभ दिए पनि अर्थतन्त्रलाई कुनै पनि लाभ दिँदैन। उद्योग व्यवसायमा प्रयोग हुने सम्भावित स्रोतहरू अनुत्पादक क्षेत्रमा लगानीमा रह्यो भने उत्पादन र रोजगारीमा सम्भावित प्रभाव पर्ने पूर्वकार्यकारी निर्देशक थापाकाे भनाइ छ।
विश्वव्यापी आर्थिक संकटको संकेत
पछिल्लो तीन वर्षयता विश्व अर्थतन्त्रमा सुनको मूल्य मात्र नभई अन्य क्षेत्र तथा वस्तुको मूल्य बढ्दै गएको छ। क्रिप्टोकरेन्सी, बिटक्वाइन र डलरको मूल्य बढ्दै गएकाले गर्दा मोनिटरी इकोनोमिक्समा अपरिवर्तनीय मुद्राहरूको विश्वासनीयतामा गम्भीर संकट उत्पन्न भएको अर्थविश्लेषक अरुण सुवेदी बताउँछन्। विकसित मुलुकदेखि विकासोन्मुख देशहरूले अहिले क्रिप्टोकरेन्सी, डलर, सुन लगायत बहुमूल्य वस्तुको सञ्चिती गर्न थालेको दृश्यले संसारभर क्राइसिस रहेको पुष्टि हुने उनले बताएका छन्।
सुवेदीका अनुसार नेपाली मुद्राको क्रयशक्ति पनि घट्दै गइरहेको छ। इजर्नीको सेक्युरिटी नहुने, केही वस्तुको आपूर्तिमा बाधा हुने अवस्था तथा भेनेजुएलामा एउटा वातावरण निर्माण भयो, ग्रीनल्याण्डमा अर्को वातावरण निर्माण भइरहेकाले गर्दा चीन र भारतको ऊर्जा क्षेत्रमा गम्भीर समस्या पार्न सक्छ। त्यो भयो भने हाम्रो ऊर्जा क्षेत्रदेखि अन्यत्र क्षेत्रमा पनि असर गर्नसक्ने सुवेदीले आकलन गरेका छन्।
पछिल्लो तथ्यांकले विभिन्न राज्यले सुन, डलरदेखि क्रिप्टोकरेन्सी लगायत क्षेत्रमा होल्ड गरेको अवस्थामा नेपाली अर्थतन्त्रलाई संरक्षण र संवर्धन कसरी गर्ने भनेर राजनीतिक दल तथा विज्ञहरूमा बहस छलफल हुनुपर्ने भए पनि नेपालमा त्यो नहुनु दुखद पक्ष रहेको सुवेदीले बताए।
पुँजी पलायनको जोखिम
यता नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्टको बुझाइ फरक रहेको छ। सुनचाँदीको मूल्यले आम मानिसलाई असर गर्छ भन्न सकिँदैन। तर, विवाह उत्सवका कार्यहरूमा सुन खरिद गर्दा केही प्रभावित हुन सक्ने उनले बताए। तर अहिले देखिएको दृश्यले विश्वव्यापी रूपमा सुनको मूल्य बढ्दै गयो भने पुँजी पलायन हुने जोखिम रहने भट्टले बताए।
सुन बढिरहँदा नेपाली लगानीकर्ता कुनै न कुनै रूपमा अन्तर्राष्ट्रिय रूपमा लगानी गर्ने, सुन संकलन गर्ने भयो भने प्रत्यक्ष रूपमा पुँजी पलायनलाई पनि सहयोग पुर्याउन सक्छ भन्ने एउटा जोखिम कायम रहेको भट्टले बताएका छन्।
किन बढिरहेको छ सुनको भाउ?
परम्परागत रूपमा कमजोर डलर र अमेरिकी ब्याजदरमा कमीले सुनजस्तो गैर आम्दानीयुक्त धातुको आकर्षण बढाउँछ। आर्थिक र भूराजनीतिक अनिश्चितता पनि सुनको लागि सकारात्मक चालक हुन्छन्। किनभने यसको सुरक्षित आश्रय स्थिति र भरपर्दो मूल्य भण्डारण क्षमता छ।
अन्य सम्पत्ति वर्गसँग यसको कम सम्बन्ध छ, त्यसैले बजार खस्कँदा र भूराजनीतिक तनावको समयमा बीमाको रूपमा काम गर्न सक्छ। तर हाल सुनको मागका विविध र तरल चालकहरूलाई हेर्दा यो धातुले मुद्रा अवमूल्यन विरुद्धको हेजको रूपमा र अमेरिकी ट्रेजरी र मनी मार्केट कोषका लागि गैर आम्दानीयुक्त प्रतिस्पर्धीको परम्परागत भूमिका दुवै खेलेको देखिन्छ।
मागमा भारी वृद्धि
"२०२५ को तेस्रो त्रैमासिकमा लगानीकर्ता (ईटीएफ, फ्युचर्स, बार र सिक्का) र केन्द्रीय बैंकको सुनको माग कुल करिब ९८० टन थियो, जुन अघिल्लो चार त्रैमासिकको औसतभन्दा ५० प्रतिशतभन्दा बढी हो," जेपी मोर्गनको आधार र बहुमूल्य धातु रणनीति प्रमुख ग्रेगरी शियररले भने।
हालैको मूल्य वृद्धिपछि मागमा भएको वृद्धि नाममात्र दृष्टिकोणबाट अझ स्पष्ट छ। करिब ९५० टन २०२५ को तेस्रो त्रैमासिकमा औसत ३,४५८ डलर प्रति औंसको मूल्यमा करिब १०९ बिलियन डलरको त्रैमासिक माग प्रवाहमा अनुवाद हुन्छ – अघिल्लो चार त्रैमासिकको औसतभन्दा करिब ९० प्रतिशत बढी।
२०२६ मा मुख्य खरिदकर्ता को हुन्?
सुनको निरन्तर उकालोपछि केही लगानीकर्ताले २०२६ मा सुनको प्रमुख खरिदकर्ता को हुनेछन् भन्ने प्रश्न उठाएका छन्। जेपी मोर्गन ग्लोबल रिसर्चको मूल्य अनुमानको आधार निरन्तर बलियो लगानीकर्ता र केन्द्रीय बैंकको सुनको माग हो, जुन औसतमा प्रति त्रैमासिक करिब ५८५ टन हुने अनुमान छ। लगातार तीन वर्ष एक हजार टनभन्दा बढी केन्द्रीय बैंक सुन खरिद भएपछि पनि २०२६ मा उच्च केन्द्रीय बैंक खरिदको संरचनात्मक प्रवृत्ति जारी रहने जेपी मोर्गनले बताएको छ।
२०२६ मा करिब ७५५ टन केन्द्रीय बैंक खरिद हुने अपेक्षा छ। पछिल्लो तीन वर्षको एक हजार टनभन्दा बढीको शिखरभन्दा एक चरण तल, तर २०२२ अघिको ४०० देखि ५०० टनको औसतको तुलनामा अझै उच्च। यो गिरावट केन्द्रीय बैंक व्यवहारमा संरचनात्मक परिवर्तनभन्दा बढी यान्त्रिक परिवर्तन हो। मूल्य चार हजार डलर र माथि हुँदा केन्द्रीय बैंकहरूले आफ्नो सुन हिस्सालाई इच्छित प्रतिशतमा सार्न धेरै टन सुन किन्न आवश्यक पर्दैन।
"केन्द्रीय बैंकको माग अर्को वर्ष उच्च रहने हाम्रो विश्वास छ र २०२५ को तेस्रो त्रैमासिकमा धेरै उच्च सुनको मूल्यसहित पनि बलियो खरिदबाट प्रोत्साहित भएका छौं," शियररले भने। अमेरिकी डलर भण्डार होल्डिङबाट विविधीकरण, अझै मध्यम भए पनि, हालका वर्षहरूमा तीव्र भइरहेको छ। विश्वव्यापी रूपमा केन्द्रीय बैंक सुन होल्डिङ झण्डै ३६,२०० टन छ र आधिकारिक भण्डारको झण्डै २० प्रतिशत ओगट्छ, जुन २०२३ को अन्तमा करिब १५ प्रतिशतबाट बढेको हो।
सुनको कारोबारको हालको स्थिति
साताको पहिलो कारोबार हुने दिन अर्थात् आइतबार सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ। सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत बिहीबार एकैदिन ऐतिहासिक वृद्धि भएको सुनको भाउ शुक्रबार सोही अनुपातमा घटेको हो। गत बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २० हजार ५ सयले बढेर प्रतितोला तीन लाख ३९ हजार तीन सय कायम भएको थियो। शुक्रबार २० हजार ५ सय रुपैयाँले नै घटेर प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि एक हजार ५ सय ६५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य ४ सय ४० ले घटेर तोलाको सात हजार ६५ पुगेको थियो। केही दिनयता नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्यमा आएको उतारचढावले सुनको मूल्य बढ्दै गएको छ। सुन र अमेरिकी डलरको बजार मूल्य/विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर आम उपभोक्ताको खरिद क्षमतासँगै समग्र नेपालको अर्थतन्त्रमा परेको सम्बद्ध अधिकारीहरूको बुझाइ छ।