काठमाडौं। पछिल्लो समय नेपालमा विद्युतीय दुईपांग्रे सवारीसाधनको बिक्री बढ्दै गएको छ। तर, यसमा भएको ब्याट्रीका कारण मानिसले विश्वास गर्ने वातावरण अझै छैन। ईभी खरिद गर्दा धेरैको मनमा एउटै प्रश्न हुन्छ–यसको ब्याट्री कस्तो छ र कति टिक्छ? ईभीको मुटु मानिने ब्याट्रीको प्रविधि, प्रकार र आयुबारे धेरैको चासो देखिन्छ।
ब्याट्री विद्युतीय सवारीसाधनका इन्जिन हुन्। दुईपांग्रे ईभी माग बढेसँगै तिनमा प्रयोग हुने ब्याट्रीको मूल्य पनि घट्दै आएको छ। दुईपांग्रे ईभीमा भएको ब्याट्रीमा कम्पनीले १ वर्षदेखि ३ वर्षसम्मको वारेन्टी दिएका हुन्छन्। कम्पनीले ब्याट्रीमा दिएको वारेन्टी समय सकिएपछि यसको अवस्था के हुन्छ? कसरी फेर्न मिल्छ वा फेर्नै पर्दैन? फेर्नुपरे कति खर्च लाग्छ? त्यस्तै विषयमा मानिसको चासो रहेको छ।
अहिले नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका ईभी बाइक तथा स्कुटरमा फरक–फरक ब्याट्री प्रयोग भएर आएको याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालका प्रबन्ध निर्देशक उम्मिद श्रेष्ठ बताउँछन्। ‘नेपाली बजारमा उपलब्ध ईभी बाइक तथा स्कुटरमा फरक फरक टेक्नोलोजिका ब्याट्रीहरु प्रयोग भएका छन्,’ उनले भने, ‘हामीले बिक्री गर्ने ब्रान्डका स्कुटरमा ग्राफिन ब्याट्री र लिथियम आयोन फस्फोट ब्याट्रीमा उपलब्ध छन्।’
ग्राफिन, लिड एसिड र लिथिएम आयोन फस्फोट ब्याट्री गरी तीन प्रकारका ब्याट्री प्रयोग गरिएका ईभी स्कुटर अहिले नेपाली बजारमा उपलब्ध रहेको उनको भनाइ छ। उनका अनुसार याडियासँग ग्राफिन ब्याट्री र लिथियम ब्याट्री छ। यी दुवै ब्याट्री टेक्नोलोजी हुन्।
पहिला याडियासँग एनएमसी लिथिएम ब्याट्री थियो, जुन महँगो पथ्र्यो। त्यसलाई टर्नेरी ब्याट्री पनि भनिन्छ। अहिले टेक्नोलोजी परिवर्तन भएर चेन्ज भएर एलएफपी आइरन फस्फेट ब्याट्री आएको छ। अहिले प्राय सबैले लिथियम आयोन ब्याट्री प्रयोग भएका स्कुटर उपलब्ध छन्।
एलएफपी, लिथिएम आयोन र लिड एसिडबीचको फरक र आयु
अहिले नेपाली बजारमा लिथिएम आयन, लिथिएम आइरन फस्फोट (एलएफपी) र लिड–एसिड÷ग्राफिन गरी तीन प्रकारका ब्याट्री उपलब्ध छन्। लिथियम आयोन ब्याट्री सबैभन्दा बढी प्रयोग हुने प्रविधि हो। यो हल्का हुन्छ। प्रिमियम स्कुटरमा यही ब्याट्री प्रयोग गरिएको हुन्छ।
एलएफपी यो लिथियम–आयनकै एउटा सुरक्षित र बलियो प्रकार हो। यो बढी तापक्रम खप्न सक्छ र यसको आयु लिथियम–आयनको तुलनामा बढी हुन्छ। त्यस्तै, लिड एसिड/ग्राफिन ब्याट्री सस्तो स्कुटरमा प्रयोग गरिन्छ। गाफिन ब्याट्री सामान्य लिड–एसिड भन्दा राम्रो भए पनि लिथियम जति टिकाउ हुँदैनन्। यिनीहरू गह्रौं हुन्छन् र चार्ज हुन धेरै समय लाग्छ।
नेपाली बजारमा उपलब्ध ईभी सकुटरको ब्याट्री फरक–फरक प्रविधिका भएकाले यसको मूल्य र आयु पनि फरक हुने बिजी भिडियो एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक गृहेन्द्र वज्राचार्य बताउँछन्। ‘नेपाली बजारमा अहिले मुख्यतया लिथियम आयन र लिड एसिड ब्याट्री भएका स्कुटर धेरै उपलब्ध छन्,’ उनले भने, ‘यी स्कुटरमा प्रयोग भएका ब्याट्रीको आयु र मूल्य फरक छ।’
उनका अनुसार अन्यको तुलनामा लिथियम–आयन ब्याट्रीको आयु लामो हुन्छ। तर, मूल्य पनि महँगो पर्छ। यो ब्याट्रीको आयु मूल्य अनुसार २–५ वर्षसम्मको हुन्छ। ईभीको सुरुआती चरणमा ग्राफिन ब्याट्री प्रयोग गरिएका स्कुटर आएका थिए भने अहिले धेरैजसो लिथियम आयोन ब्याट्री प्रयोग गरिएका स्कुटर उपलब्ध छन्। यी दुवै ब्याट्री टेक्नोलोजी हुन्।
ग्राफिन भनेको लिड–एसिड टेक्नोलोजीकै एडभान्स भर्सन हो। लिड–एसिड टेक्नोलोजीमै ग्राफाइट प्रयोग गरेर यसलाई अलिकति एडभान्स बनाइएको हुन्छ।
बजारमा पाइने सामान्य लिड–एसिड ब्याट्रीमा लाइफ–साइकल हुन्छ। लाइफ–साइकल सकेपछि ब्याट्री एक्कासि बन्द हुँदैन, त्यो बिस्तारै डिग्रेड हुँदै जान्छ।
सामान्य लिड–एसिड ब्याट्रीको लाइफ–साइकल करिब ३००–४०० साइकल हुन्छ। त्यसको वारेन्टी करिब ६–७ महिना मात्र हुन्छ। यसमा ओभर चार्जिङ भयो भने ब्याट्री फुल्ने डर हुन्छ। नेपालमा प्रायः राती चार्ज गरेर सुत्ने बानी हुन्छ, त्यसैले यस्तो समस्या देखिन्छ।
आजभोलि चार्जर र कन्ट्रोलरमा अटो कट–अफ टेक्नोलोजी आएको छ, तर लिड–एसिड ब्याट्रीको क्वालिटी त्यति स्टेबल हुँदैन। त्यसैले लिड–एसिड सस्तो पर्छ तर आयु छोटो हुन्छ। ग्राफिन ब्याट्री लिड–एसिडकै परिवार हो। तर, ग्राफाइट टेक्नोलोजी प्रयोग गरेर धेरै एडभान्स बनाइएको हो। ग्राफिन ब्याट्रीमा २ वर्ष वा २० हजार किलोमिटर वारेन्टी छ। यसको ब्याट्री लाइफ–साइकल ८०० देखि १००० साइकलसम्म छ।
लिड–एसिडमा ६ महिना वारेन्टी हुन्छ भने ग्राफिनमा २ वर्ष यो ठूलो फरक हो। अब मार्केटमा अरू ब्रान्डका ग्राफिन ब्याट्री पनि छन्, तर धेरैजसोमा १ वर्ष मात्रै वारेन्टी हुन्छ। कुजु नेपालका प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन्, ‘अब लिथियम ब्याट्रीतर्फ आउँदा पहिला हामीसँग एनएमसी लिथियम ब्याट्री थियो, जुन महँगो पथ्र्यो। त्यसलाई टर्नेरी ब्याट्री पनि भनिन्छ। अहिले टेक्नोलोजी परिवर्तन भएर चेन्ज भएर एलएफपी ब्याट्री आएको छ। यसले कस्ट कम गरिदिएको छ।’ उनले भने।
ब्याट्रीको आयु मुख्यतया चार्ज साइकलमा निर्भर गर्छ। एकपटक फुल चार्ज गरेर शून्यमा पुग्नुलाई एक साइकल भनिन्छ। लिथियम–आयन ब्याट्री साधारणतया ८०० देखि १५०० साइकलसम्म चल्छन्। यदि दिनको एक पटक चार्ज गर्ने हो भने, यो ४ देखि ६ वर्ष सम्म चल्न सक्छ।
एलएफपी ब्याट्री २००० भन्दा बढी साइकलसम्म चल्न सक्छ, जसले गर्दा यसको आयु धेरै वर्ष सम्म हुन सक्छ। नेपाली बजारमा हाल चर्चित रहेका एथर, टिभीएस, बजाज चेतक, सेग्वेयमा लिथियम आयन ब्याट्री प्रयोग गरिएका छन्।