काठमाडौं । चीनले थेग्नै नसक्ने गरी औषधिको कच्चा पदार्थ (एपीआई)को मूल्य बढाएपछि नेपालका अधिकांश औषधि उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
एकातिर सरकारले औषधिको उपभोक्ता मूल्य तोकिदिएको अवस्था र अर्कोतिर चीनले औषधि बनाउन प्रयोग हुने एक्टिभ फर्मास्यूटिकल इन्ग्रेडिएनट (एपीआई)को मूल्य २ सय प्रतिशतसम्म बढाएपछि नेपाली औषधि उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालका अनुसार चीनले २ सय प्रतिशतसम्म एपीआईको मूल्य बढाएको छ । संसारभर एपीआईको माग ह्वात्तै बढ्यो र चीनले त्यही मौकामा त्यसको मूल्य पनि दोब्बर बनाएको उनको भनाइ छ ।
हरेक औषधि बनाउन प्रयोग एपीआईको प्रयोग हुन्छ । एपीआईको प्रयोग बिना औषधि बनाउन सकिँदैन । ‘जुनसुकै औषधिको कच्चा पदार्थ हो–एपीआई’ उनले क्यापिटल नेपालसँग भने, ‘अहिले चीनले उक्त कच्चा पदार्थको मूल्य दोब्बर भन्दा पनि बढी बनाएको छ ।’
नेपाली औषधि उत्पादकका अनुसार केही महिना अघिसम्म प्रतिकेजी २ डलरमा पाउने एपीआईलाई अहिल ८ डलसम्म बेच्न थालेको छ । २ डलरमा पाउने कच्चा पदार्थलाई ८ डलर तिरेर ल्याउँदा औषधिको उत्पादन लागत दोब्बर हुने व्यवसायीहरु बताउँछन् ।
महँगो मूल्यमा कच्चा पदार्थ किनेर ल्याएर त्यसको आधारमा औषधि बेच्न नपाईने उद्योगीहरु बताउँछन् । किनभने सरकारले उपभोक्ता मूल्य तोकेको छ । यसरी महँगो मूल्यमा एपीआई खरिल गरेर ल्याएर सस्तो मूल्यमा औषधि बेच्न नसकिने भएपछि अधिकांश औषधि उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
चीनले एपीआई उत्पादनमा एकछत्र राज गरेको छ । चीनबाटै भारतले पनि एपीआई ल्याएर औषधि बनाएर विश्व बजारमा पठाउने गरेको छ । चीनले एपीआईको मूल्य ह्वात्तै बढाएकाले भारत पनि यसबाट संकटमा परेको छ ।
नेपालमा जति औषधि उत्पादन भएका छन्, त्यसमा अनिवार्य रुपमा एपीआईको प्रयोग हुन्छ । तर, अहिले किन्नै नसक्ने गरी एपीआईको मूल्य आकाशिए पछि उद्योगीले विस्तारै उत्पादन घटाउँदै लगेको दाहाल बताउँछन् । नेपाल ४५ प्रतिशत औषधिमा आत्मनिर्भर भइसकेको छ । अझै पनि ५५ प्रतिशत औषधि आयात गर्नुपर्ने अवस्था छ ।