काठमाडौं। लामो समय अस्पताल व्यवस्थापन तथा स्वास्थ्य सेवामा सक्रिय रहेका व्यवसायी रामशरण (आरएस) भण्डारीले अटोमोबाइल क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै अब दुई पांग्रे सवारी साधन पनि नेपाली बजारमा ल्याउने भएका छन्।
अस्पताल क्षेत्रबाट व्यवसायिक यात्रा सुरु गरेका भण्डारीले केही समयअघि चार पांग्रे विद्युतीय सवारी साधन (ईभी)को आधिकारिक बिक्रेताका रूपमा अटो क्षेत्रमा प्रवेश गरेका थिए। अटो क्षेत्रमा सकारात्मक प्रतिक्रिया पाएपछि उनले अब मोटरसाइकल तथा स्कुटरजस्ता दुई पांग्रे सवारी साधन पनि नेपाली बजारमा भित्र्याउने तयारी गरेका हुन्।
चार पांग्रे ईभीमा पाएको सफलता र उत्साहजनक प्रतिक्रियापछि उनले आफ्नो व्यापारिक पोर्टफोलियो विस्तार गर्दै इन्धन र ईभी दुई पांग्रे सेग्मेन्टमा लगानी गर्ने निर्णय गरेका हुन्।
नेपालको अटोमोबाइल बजारमा ईभीको बढ्दो मागलाई मध्यनजर गर्दै हाइली एड्भान्स मोटर (ह्याम्स) कम्पनीले आफ्नो व्यवसायलाई आक्रामक रूपमा विस्तार गर्ने योजना बनाएको छ। कमर्सियल ईभी भ्यानहरूको सफल बिक्रीपछि कम्पनीले अब दुई पांग्रे सवारी साधनको बजारमा हात हाल्न लागेको हो। हस्पिटलपछि अब ईभी गाडीको व्यवसायमा लागेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी बताउँछन्।
नेपालको अटोमोबाइल क्षेत्रमा अत्याधुनिक र गुणस्तरीय सवारी साधन भित्र्याउने लक्ष्यका साथ ह्याम्सले आफ्नो व्यवसाय विस्तारलाई तीव्रता दिएको छ।
‘अहिले ईभी गाडीको व्यापारमा लागेको छु। कमर्सियल ईभी आइसकेको छ,’ उनले भने, ‘हामीले ११, १४ र १६ सिटरको ईभी भ्यान ल्याएर बिक्री गरिरहेका छौँ।’ अहिलेसम्म ३५० युनिट जति ईभी भ्यान बिक्री गरेको उनको भनाइ छ। ‘यो सबैमा हामीले १ अर्ब २५ करोड जति लगानी गरेका छौँ। यसपछि अब दुई पांग्रे सवारी साधन पनि ल्याउने योजना बनाएका छौँ,’ उनले भने।
अस्पताल सेवाबाट व्यवसायिक यात्रा सुरु गरेका भण्डारीले कमर्सियल ईभी गाडी बिक्री गर्दै आएका छन्। नेपालको अटोमोबाइल क्षेत्रमा अत्याधुनिक र गुणस्तरीय सवारी साधन भित्र्याउने लक्ष्यका साथ ह्याम्सले आफ्नो व्यवसाय विस्तारलाई तीव्रता दिएको छ।
ह्याम्सले हालसम्म अटोमोबाइल क्षेत्रमा करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी गरिसकेको छ। यस अवधिमा कम्पनीले करिब ३५० युनिट ईभी बिक्री गरिसकेको जनाएको छ। कम्पनीले दुई पांग्रे सवारी साधनमा पनि राम्रो सम्भावना रहेको अपेक्षा गरेको छ।
ईभी भ्यानपछि बेनेलीको सब ब्रान्ड क्युजे ल्याउँदै, नेपालमै एसेम्बल गरिने
अटोमोबाइल क्षेत्रमा नयाँ सम्भावना देख्दै ह्याम्सले ईभी कमर्सियल भ्यानपछि अब दुई पांग्रे सवारी साधनको बजारमा पनि प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले बेनेलीको मदरहुड ब्रान्ड क्यजे ब्रान्डका बाइक तथा स्कुटर नेपाल भित्र्याउने तयारी गरेको हो। ह्याम्सले हालसम्म ११, १४ र १६ सिटरका ईभी भ्यान नेपाली बजारमा ल्याइसकेको छ।
प्यासेन्जर सेग्मेन्टमा ७ सिटर ईभी बिक्री गर्दै आएको छ। कमर्सियल र प्यासेन्जरपछि अब दुई पांग्रे सवारी साधनमा विस्तार गर्ने योजनाअनुसार क्यजे ब्रान्डका बाइक पेट्रोल भर्सनमा र स्कुटर भने ईभी तथा पेट्रोल दुवै भर्सनमा उपलब्ध गराइने भण्डारीको भनाइ छ। क्यजे इटालियन ब्रान्ड भए पनि उत्पादन भने चीनमा हुनेछ।
उनका अनुसार क्यजे ब्रान्डका बाइक र स्कुटर आयातका लागि अर्डर भइसकेको छ। हाल चीनमा छुट्टीको सिजन चलिरहेकाले आगामी दुईदेखि तीन महिनाभित्र पहिलो चरणका बाइक तथा स्कुटर नेपाल आइपुग्ने छन्। बाइक १२५ सिसीदेखि ३०० सिसीसम्मका पाँच मोडलमा आउने छन्। स्कुटरमा ईभीका तीन र पेट्रोलका तीन मोडल उपलब्ध हुने छन्। ईभी स्कुटरले एक पटकको फुल चार्जमा करिब २०० किलोमिटरसम्म रेन्ज दिने भण्डारीको दाबी छ।
दुई पांग्रे सवारीतर्फ पहिलो चरणमा कम्पनीले चीनमै फिटिङ गरेर बाइक तथा स्कुटर नेपाल ल्याउने योजना बनाएको छ।
‘सुरुवाती चरणमा २५०–३०० युनिट बाइक तथा स्कुटर आयात गरी परीक्षण गर्ने योजना छ,’ उनले भने, ‘बाइक तथा स्कुटर परीक्षण गरेको ६ महिनापछि उक्त बाइक तथा स्कुटर नेपालमा नै एसेम्बल गर्ने योजना बनाएका छौँ।’ दुई पांग्रे सवारीसाधनको एसेम्बल प्लान्ट काठमाडौं उपत्यका वरिपरि नै गर्ने उनको भनाइ छ।
दुई पांग्रे सवारीतर्फ पहिलो चरणमा कम्पनीले चीनमै फिटिङ गरेर बाइक तथा स्कुटर नेपाल ल्याउने योजना बनाएको छ। ती युनिटलाई नमुनाका रूपमा परीक्षण गरेपछि सीकेडी मोडलमा नेपालमै एसेम्बल गर्ने तयारी रहेको छ। आयात र परीक्षण सम्पन्न भएपछि करिब छ महिनाभित्र नेपालमै एसेम्बलिङ सुरु गर्ने लक्ष्य राखिएको छ। कम्पनीले काठमाडौं उपत्यका आसपास नै एसेम्बल प्लान्ट राख्ने योजना बनाएको छ। युरोपियन स्ट्यान्डर्डअनुसार उत्पादन हुने भएकाले क्यजे ब्रान्डका सवारीसाधन गुणस्तरीय हुने कम्पनीको विश्वास छ।
भण्डारीका अनुसार नेपालमा दुई पांग्रे सवारी साधनको वार्षिक बजार करिब साढे दुई लाख रहेको छ। अहिले चर्चित कम्पनीहरुले वार्षिक ३०–३५ हजार युनिट बाइक तथा स्कुटर आयात गर्दै आएका छन्। अहिले नेपाली बजारमा इन्धरतर्फ अधिकांश भारतीय ब्रान्डका बाइक तथा स्कुटर आयात हुने गरेका छन्। ईभीमा भने चिनियाँ ब्रान्डको वर्चस्व रहेको छ।
कम्पनीले सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आफ्नै वर्कशप निर्माण गरिरहेको छ। डिलरमार्फत पनि वर्कशप विस्तार भइरहेको जनाएको छ। ‘हामीले गाडी तथा बाइकको लागि वर्कशप पनि बनाइरहेका छौँ। डिलरमार्फत पनि बनिरहेको छ,’ उनले भने, ‘अहिले हामी आफैले बसुन्धारमा चार रोपनी जग्गामा वर्कशप बनाएका छौँ।’
चार पांग्रे ईभीमा बलियो उपस्थिति
ह्याम्सले हाल बढ्दो ईभी बजारलाई मध्यनजर गर्दै ईभी भ्यानहरु बिक्री गरिरहेको जनाएको छ। कम्पनीले छोटो समयमै चार पांग्रे सवारीको बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ।
हाल कम्पनीले बिक्री गरिरहेको ११ सिटर ईभी भ्यानको मूल्य ४५–४६ लाख रुपैयाँ निर्धारण गरिएको छ। १४ सिटरको मूल्य ५८ देखि ६२ लाख रुपैयाँ र १६ सिटरको ६५–६६ लाख रुपैयाँ रहेको छ। जुन ब्याट्री क्षमताअनुसार फरक रहेको छ। साथै, कर्पोरेट प्रयोजनका लागि लक्षित आइबि ब्रान्डको प्यासेन्जर सेग्मेन्टका गाडी पनि कम्पनीले बिक्री गर्दै आएको भण्डारीले बताए।
‘हामीले प्यासेन्जर सेग्मेन्टमा आइबी ब्रान्डका गाडी ल्याएका छौँ। जुन कर्पोरेट अफिसलाई लक्षित गरि ल्याइएको हो। यो अन्यको तुलनामा अलि महँगो छ। यसको मूल्य ७० लाख रुपैयाँ छ,’ भण्डारीले भने।
ह्याम्सले सुरु गरेको यो व्यवसायलाई अटोमोबाइल र वित्तीय क्षेत्रका अनुभवी व्यक्तिहरूले नेतृत्व गरिरहेका छन्। जसमा चार्टर एकाउन्टेन्ट राजेश पराजुली, होण्डा र यामाहा जस्ता प्रतिष्ठित ब्राण्डमा लामोसमय काम गरेर अनुभव बटुलेका प्रकाश देवकोटा र धर्मेन्द्र श्रेष्ठलगायत रहेका छन्।