काठमाडौं। पहिलो संस्करणको सफलतापछि ठूलो अपेक्षासहित आयोजना गरिएको दोस्रो संस्करणको ‘वाडा अटो शो २०२६’ आज सम्पन्न भएको छ। पहिलो पटक आयोजना गरिएको वाडा अटो शोको उल्लेखनीय सफलतापछि ठूलो अपेक्षासहित दोस्रो संस्करण आयोजना गरिए पनि यस वर्षको वाडा अटो शो २०२६ अपेक्षाअनुसार उत्साहजनक बन्न सकेन।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)ले गत बुधबारदेखि पोखराको ताल बाराही चोकस्थित खेल मैदानमा आयोजना गरेको वाडा अटो शो पाँच दिनसम्म सञ्चालन भयो। गत वर्ष चार दिनसम्म चलेको अटो शोमा करिब २० हजार आगन्तुकले अवलोकन गरेका थिए। यस वर्ष ३५ हजारले अटो शो अवलोकन गरेको आयोजको दाबी छ।
गत वर्षको तुलनामा यस कम ब्रान्डको सहभागिता रह्यो। अटोमोबाइल बजारलाई चलायमान बनाउने उद्देश्यले दोस्रो पटक वाडा अटो शोको आयोजना गरिए पनि यस पटकको शोमा गत वर्षको जस्तो उत्साह र रौनक भने देखिएन।
लोकेसनका कारण सोचेअनुसार जति दर्शकहरू आउँछन् भन्ने अपेक्षा थियो त्यो पूरा नभएको वाडाका अध्यक्ष दिपेन्द्र कोइराला बताउँछन्। ‘लोकेसनका कारण सोचेअनुसार जति दर्शकहरू आउँछन् भन्ने अपेक्षा थियो। त्यो पूरा भएन,’ उनले भने, ‘तर, भित्र आएर अवलोकन गर्नेहरू वास्तविक ग्राहक नै थिए। त्यस हिसाबले बुकिङ राम्रो भएको छ।’ यस वर्ष लोकेसन परिवर्तन गरिएकाले अपेक्षाअनुसार अवलोकनकर्ता नआएको उनको भनाइ छ।
उनका अनुसार यस वर्ष लोकेसन परिवर्तन गरिएको थियो। त्यसले गर्दा अलिकति ग्राहकको संख्या कम भएको महसुस भयो। हिजो भने निकै राम्रो माहोल थियो। दर्शक तान्न वाडाले भिन्टेज गाडी र रोबोटहरू पनि प्रदर्शनीमा राखिएको थियो, तर पानीले गर्दा सोचेजस्तो भिड भएन।
यस वर्ष त्यस्तो उत्साह कम देखिएको हो। केही कम्पनीले भने सीमित अफर र नयाँ उत्पादन सार्वजनिक गरे पनि समग्र माहौल भने सुस्त देखियो।
‘सबै कुरा सोचेको जस्तो नभए पनि अटो शो राम्रोसँग सम्पन्न भयो। पाँच दिनमा ३५ हजारले अटो शो अवलोकन गरे,’ उनी भन्छन्, ‘हामी सन्तुष्ट छौँ। हाम्रा प्रदर्शकहरू पनि सन्तुष्ट नै छन्।’ पाँच दिनमा १०० बढी सवारी साधन बुकिङ भएको कोइरालाले जानकारी दिए।
गत वर्ष दर्शक, ग्राहक तथा अटोमोबाइल कम्पनीहरूको उल्लेखनीय सहभागिताले चर्चा कमाएको उक्त अटो शो यस पटक केही फिका देखिएको हो।
कम्पनीहरुको अफर र सहभागिता
नाडा प्रिजेन्ट्स ‘वाडा अटो शो २०२६’ मा सहभागी कम्पनीले गाडी खरिदकर्तालाई छुट तथा आकर्षक अफर पनि दिएका छन्। वाडा अटो शो अवधिभर गाडी खरिद गर्न चाहने ग्राहकका लागि विभिन्न ब्रान्डले बम्पर अफर सार्वजनिक गरेका हुन्। वाडा अटो शोमा प्रदर्शनीमा राखिएका विभिन्न ब्रान्डमध्ये ६ ब्रान्डका गाडीले अटो मेलाभरि गाडी खरिदकर्तालाई विभिन्न खाले अफर सार्वजनिक गरेका छन्।
प्रदर्शनीमा सहभागिता जनाएका चार पांग्रे ब्रान्डमा बीवाईडी, सुजुकी, निसान, ओमोडा एन्ड जेक्को, फोरथिङ फ्राइडे ब्रान्डका गाडी खरिदका लागि कम्पनीले ग्राहक लक्षित अफर दिएका हुन्। गत वर्ष नयाँ-नयाँ मोडल, आकर्षक अफर तथा उच्च उपस्थिति देखिएको थियो। यस वर्ष त्यस्तो उत्साह कम देखिएको हो। केही कम्पनीले भने सीमित अफर र नयाँ उत्पादन सार्वजनिक गरे पनि समग्र माहौल भने सुस्त देखियो।
दोस्रो पटकको वाडा अटो शोमा १६ ब्राण्डका चार पांग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका दुई पांग्रे, एउटा हेभी कमर्सियल ब्रान्डले सहभागिता जनाए। गत वर्षको तुलनामा यस वर्ष अटो शोमा दुई पांग्रे ब्रान्डको सहभागिता बढे पनि अन्य ब्रान्डको सहभागिता कम रह्यो। गत वर्ष पहिलो संस्करणको वाडा अटो शोमा ७ दुई पांग्रे ब्रान्ड, १९ चार पांग्रे ब्रान्ड र ६ लाइट कमर्सियल ब्रान्डले सहभागी जनाएका थिए।