काठमाडौं। कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (क्यूसीसीआई) प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् ( (जेबीसी)सम्बन्धी छलफलका लागि काठमाडौं आइपुगेको छ।
संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतारी अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो। सम्झौताले नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाएको छ।
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा काठमाडौं आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदलीले गरेका छन्। आजदेखि दुई दिनसम्म काठमाडौंमा परिषद् बैठक बस्नेछ।
संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवर्द्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो। काठमाडौं बसाइका क्रममा प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटघाट गर्नेछ।
प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा तथा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट्ने कार्यक्रम छ।
संयुक्त व्यवसाय परिषद्ले अन्तिम रूप दिई सक्रिय बनाउनु द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन तथा दुवै देशका व्यवसायीहरूबीच साझेदारी सुदृढ गर्न महत्वपूर्ण हुने महासंघ अध्यक्ष ढकालले बताए। अध्यक्ष ढकालका अनुसार छलफल परिषद्लाई व्यावहारिक र परिणाममुखी बनाउने तथा सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित रहनेछन्।
नेपाल र कतारबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध र सशक्त जनस्तरीय सम्पर्क रहेको छ, जुन अहिले थप गहिरो आर्थिक सहकार्यतर्फ अघि बढिरहेको छ।
पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको छ र महासंघले भ्रमणलाई त्यस दिशामा समयोचित कदमका रूपमा लिएको छ।
नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि–प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा आकर्षक लगानी अवसर उपलब्ध छन्।
महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसायदेखि व्यवसाय सम्पर्क प्रवर्द्धनमा प्रतिबद्ध छ। बैठकका उपलब्धिले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पुर्याउने महासंघको अपेक्षा छ।