काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को भारी जितपछि जापानको सेयर बजार सोमबार रेकर्ड उचाइमा पुगेको छ।
जापानको प्रमुख सूचकांक निक्केई २२५ सोमबार बिहान ५.५ प्रतिशतको उछालसँगै ५७,७५७ अंकको रेकर्ड उचाइमा पुगेको हो। त्यस्तै, अर्को महत्वपूर्ण सूचकांक टोपिक्समा ३ प्रतिशतभन्दा बढी वृद्धि हुँदै ३,८२०.७६ अंकमा पुगेको छ।
ताकाइचीको एलडीपीले ४६५ सदस्यीय प्रतिनिधिसभामा ३१६ सिट जितेको छ, जुन पार्टीको इतिहासमै सर्वोत्कृष्ट प्रदर्शन हो। गठबन्धन साझेदार जापान इनोभेसन पार्टीसँग मिलेर उनको पार्टीले ३५२ सिट हात पारेको छ, जसले बहुमत सुनिश्चित गरेको छ।
महाबहुमतले ताकाइचीलाई आफ्नो नीति तथा कार्यक्रम सहजै कार्यान्वयन गर्न र आवश्यक परे माथिल्लो सदनको निर्णय पनि खारेज गर्न सक्ने अधिकार दिएको छ।
बजारले ताकाइचीको आर्थिक नीतिलाई स्वागत गरेको छ। उनको आर्थिक कार्यक्रममा पूर्वाधार तथा आर्थिक प्रोत्साहनमा बढी खर्च गर्ने, उपभोग करमा ठूलो कटौती गर्ने, रक्षा र आणविक पूर्वाधारमा लगानी बढाउनेजस्ता योजना समावेश छन्। सोमबार बजारमा प्रविधि, औद्योगिक र खुद्रा क्षेत्रका सेयरमा सबैभन्दा बढी वृद्धि देखियो।
बैंक अफ अमेरिकाका विश्लेषकले निर्वाचनअघि नै जारी गरेको प्रतिवेदनमा भनेका छन्, ‘निर्वाचनले बजारको अनिश्चितता हटाएको छ। अनुकूल नीतिका साथै जापानी कम्पनीको बलियो आधारभूत स्थितिले सेयर बजारमा निरन्तर वृद्धिको सम्भावना छ।’
ताकाइचीको जितपछि जापानी मुद्रा येनमा भने सामान्य सुधार मात्र देखियो। अमेरिकी डलर र येनको विनिमय दरमा ०.३ प्रतिशतको गिरावट आएको छ। तर, हालैका हप्तामा येनमा निकै गिरावट आएको छ।
विश्लेषकका अनुसार ताकाइचीले आफ्नो महत्वाकांक्षी आर्थिक योजनाका लागि आवश्यक बजेट कसरी जुटाउने भन्ने अस्पष्टताले गर्दा सरकारी बन्डमा गिरावट आएको थियो, जसले येनलाई पनि कमजोर बनाएको हो।