काठमाडौं। नेपालमा डिजिटल पहुँच तीव्र गतिमा बढे पनि लैङ्गिक र भौगोलिक खाडल अझै गहिरो रहेको राष्ट्रिय तथ्यांक कार्यालयको ताजा सर्वेक्षणले देखाएको छ। नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार प्रत्येक पाँच घरपरिवारमध्ये चार घर अर्थात ८२ प्रतिशत घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरण प्रयोग गरेको पाइएको छ। तर, मोबाइल फोनको स्वामित्व र प्रयोगमा महिला र पुरुषबीच झन्डै १० प्रतिशतको अन्तर रहेको छ।
सर्वेक्षणका अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ भने सोही उमेर समूहका पुरुषमध्ये ९०.४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको देखिन्छ। यसले लैङ्गिक डिजिटल विभाजन अझै कायमै रहेको संकेत गर्छ।
मोबाइल प्रयोगमा पनि फरक
मोबाइल फोनको स्वामित्वमा मात्र होइन, प्रयोगमा पनि महिला र पुरुषबीच उल्लेखनीय अन्तर देखिएको छ। सर्वेक्षणअघिल्लो तीन महिनामा ७२.७ प्रतिशत महिलाले मोबाइल फोन प्रयोग गरेको पाइएको छ भने पुरुषको हकमा यो प्रतिशत ७८.७ रहेको छ। यसले महिलाहरूसँग मोबाइल फोन भए पनि नियमित प्रयोग गर्ने दर पुरुषको तुलनामा कम रहेको देखाउँछ।
विशेषज्ञहरूले महिलाहरूमा डिजिटल साक्षरताको अभाव, आर्थिक निर्भरता, सामाजिक मान्यता र पहुँचमा रहेको बाधा यस खाडलको मुख्य कारण भएको बताउँछन्। मोबाइल फोन किन्न र प्रयोग गर्न पनि धेरै महिलाहरू परिवारको निर्णयमा निर्भर हुन्छन्।
विद्युत् र टेलिफोनमा सुधार
सर्वेक्षणले नेपालमा आधारभूत सेवाहरूमा उल्लेखनीय सुधार भएको देखाएको छ। देशभरका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवाको निरन्तर स्रोतमा पहुँच पुगेको छ। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश ९९.५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेश ८०.८ प्रतिशत रहेको छ। यसले कर्णाली प्रदेशमा अझै पनि पाँच घरमध्ये एक घरमा विद्युत् सेवा पुगेको नभएको संकेत गर्छ।
टेलिफोन सेवाको हकमा पनि नेपालले उल्लेखनीय प्रगति गरेको छ। देशभरका ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन स्थिर टेलिफोन वा मोबाइल फोन सुविधाको पहुँच रहेको छ। प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेश ९७.१ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेश ९२.६ प्रतिशत रहेको छ।
बाल मृत्युदरमा सुधार तर चुनौती कायमै
सर्वेक्षणले बाल स्वास्थ्य क्षेत्रमा पनि महत्त्वपूर्ण तथ्याङ्कहरू प्रस्तुत गरेको छ। प्रति एक हजार जीवित जन्मेका शिशुहरूमध्ये २७ जनामा शिशु मृत्यु रहेको देखिएको छ भने पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजार जीवित जन्मेका बालबालिकामा ३१ जना रहेको छ। नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा १७ जना रहेको छ।
प्रदेशगत आधारमा हेर्दा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति एक हजार जन्ममा २६ जना छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ। यसले सुदूरपश्चिम र बागमती प्रदेशबीच झन्डै ढाई गुणाको अन्तर रहेको देखाउँछ।
बाल पोषणमा चिन्ताजनक अवस्था
पाँच वर्षमुनिका बालबालिकाहरूको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कम भएका बालबालिकाहरू तिल्खुरे २४.३ प्रतिशत र उमेर अनुसार उचाइ कम भएका बालबालिकाहरू पुड्को ३१.५ प्रतिशत रहेको पाइएको छ। उचाइ अनुसार तौल कम भएका बालबालिकाहरू ख्याउटे ७.६ प्रतिशत रहेको छ।
उमेर अनुसारको तौल कम भएका बालबालिकाहरू सबैभन्दा बढी ३३.२ प्रतिशत मधेश प्रदेशमा र सबैभन्दा कम ९.६ प्रतिशत बागमती प्रदेशमा देखिएको छ। यसले मधेश प्रदेशमा बाल पोषणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको संकेत गर्छ।
स्तनपान गराउने अभ्यासमा भने सकारात्मक प्रवृत्ति देखिएको छ। तीन जना आमाहरूमध्ये दुई जना ६९.७ प्रतिशत ले आफ्नो बच्चालाई जन्मेको छ महिनासम्म आफ्नो दूध मात्र खुवाउने गरेको पाइएको छ। प्रदेशगत आधारमा सो प्रतिशत सबैभन्दा बढी ७६.६ प्रतिशत सुदूरपश्चिम प्रदेशमा देखिएको छ।
प्रजनन् स्वास्थ्यमा मिश्रित तस्बिर
कूल प्रजनन् दरका सन्दर्भमा प्रति महिला १५ देखि ४९ वर्ष उमेर समूहले १.९ जीवित बच्चा जन्माएका पाइएको छ। किशोरी प्रजनन्दरका सन्दर्भमा प्रति एक हजार किशोरीहरूले ४८ जीवित बच्चा जन्माएका पाइएको छ भने २० देखि २४ वर्ष उमेर समूहका दश जना महिलामध्ये एक जना ११.२ प्रतिशत महिलाले १८ वर्ष उमेरअघि नै जीवित बच्चा जन्माउने गरेको पाइएको छ। यसले बाल विवाह र किशोरी गर्भधारण अझै महत्त्वपूर्ण समस्या रहेको देखाउँछ।
१५ देखि ४९ वर्ष उमेर समूहका हालै विवाहित महिलाहरूमध्ये प्रत्येक तीन जनामध्ये एक जना ३५ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको उपाय तथा साधनहरू परम्परागत वा आधुनिक विधि को प्रयोग गरेको देखिएको छ।
सर्वेक्षणभन्दा दुई वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ८५ प्रतिशतले सिफारिश भए बमोजिम कुनै स्वास्थ्यकर्मीसँग कम्तिमा चार पटक पूर्वप्रसूति जाँच गराएको देखिएको छ। त्यसै गरी ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामा, ९१.४ प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५.३ प्रतिशतले शल्यक्रियाको माध्यमबाट प्रसूति गराएको देखिएको छ।
शिक्षामा विद्यालय बाहिर बालबालिका
शिक्षा क्षेत्रमा अझै पनि उल्लेखनीय चुनौती रहेको सर्वेक्षणले देखाएको छ। आधारभूत विद्यालय कक्षा १ देखि ५ मा ४.५ प्रतिशत र कक्षा ६ देखि ८ मा ३.६ प्रतिशत तथा माध्यमिक विद्यालय ९ देखि १२ मा १३.२ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर रहेको देखिएको छ। माध्यमिक तहमा विद्यालय बाहिर बालबालिकाको उच्च दर चिन्ताजनक छ।
आधारभूत विद्यालय कक्षा १ देखि ५ को पहिलो कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ४१.२ प्रतिशत मात्र रहेको छ, जसले समयमै विद्यालय भर्ना हुने दर कम रहेको देखाउँछ।
३६ देखि ५९ महिनाका बालबालिकाहरूमध्ये ५७.९ प्रतिशत बालबालिकाले सर्वेक्षणको अवधिमा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा जाने गरेको पाइएको छ भने समग्रमा प्रारम्भिक बाल विकास सूचकांक २०३० को लक्ष्य ६३.३ प्रतिशत रहेको देखिएको छ।
खानेपानी र सरसफाइमा सुधार
खानेपानी र सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भएको सर्वेक्षणले देखाएको छ। नेपालको कूल जनसंख्याको ९८.२ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानीको स्रोत प्रयोग गरेको देखिएको छ। तर, पानीको गुणस्तर परीक्षण गर्दा ६०.४ प्रतिशत घरपरिवार सदस्यहरूले पिउने पानीमा जीवाणु एक सीएफयू प्रति १०० मिलिलिटर वा बढी पाइएको छ। यसले पानीको पहुँच भए पनि गुणस्तर समस्या रहेको संकेत गर्छ।
नेपालको कूल परिवारका सदस्यहरूमध्ये ९२.४ प्रतिशतले सुधारिएको चर्पीहरूको प्रयोग गरेको पाइएको छ जसमध्ये ७९.९ प्रतिशत परिवारका सदस्यहरूले सुधारिएको चर्पी आफैले मात्र एकल रूपमा प्रयोग गर्ने गरेको देखिएको छ। ८६.४ प्रतिशत घरपरिवारसँग हात धुनको लागि निर्दिष्ट स्थानमा पानी तथा साबुन वा अन्य सफाइका वस्तु राखिएको भेटिएको छ।
स्वास्थ्य बीमाको हकमा अझै पनि धेरै नेपालीहरू बाहिर रहेको सर्वेक्षणले देखाएको छ। १५ देखि ४९ वर्ष उमेर समूहका महिला १७.८ प्रतिशत तथा पुरुष १९.६ प्रतिशतले स्वास्थ्य बीमा गरेको पाइएको छ। त्यसै गरी पाँच देखि १७ वर्ष उमेर समूहका बालबालिका १५ प्रतिशत तथा पाँच वर्षमुनि बालबालिका ११.७ प्रतिशतले स्वास्थ्य बीमा गरेको पाइएको छ।
नेपालमा ५.१ प्रतिशत तथा ४१.८ प्रतिशत क्रमशः १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअघि नै एक खिल्ली चुरोट वा बिडी पूरै सेवन गरेको पाइएको छ।
बालबालिकाको सुरक्षा र जन्मदर्ता
पाँच वर्षमुनिका बालबालिकाका आमा वा स्याहार गर्ने व्यक्तिहरूमध्ये ८२.९ प्रतिशतलाई जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइएको छ। त्यसै गरी, पाँच वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता ८५.४ प्रतिशत रहेको छ। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी ९५.८ प्रतिशत कर्णाली प्रदेशमा र सबैभन्दा कम ७८.४ प्रतिशत कोशी प्रदेशमा देखिएको छ।
शून्य देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूको जन्म दिने आमाबाबु एक वा दुवै को मृत्यु ३.४ प्रतिशत रहेको पाइएको छ भने आमाबाबु एक वा दुवै विदेशमा बसोबास गर्ने ३३.२ प्रतिशत रहेको पाइएको छ। प्रदेशगत आधारमा सबैभन्दा बढी ४०.८ प्रतिशत गण्डकी प्रदेशमा र सबैभन्दा कम २१ प्रतिशत बागमती प्रदेशमा देखिएको छ।