काठमाडौं। यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनको भारवहन क्षमता र कुल वजन कायम गर्दा प्रचलित कानुन र निर्देशिका उल्लंघन नगर्न मातहतका कार्यालयहरुलाई कडा निर्देशन दिएको छ।
केही यातायात व्यवस्था कार्यालयहरुले ‘मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४’ विपरीत आफूखुशी सवारीको वजन र क्षमता कायम गरेको पाइएपछि विभागले मन्त्रालयमार्फत यस्तो सचेत गराएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६ (३) मा मालवाहक सवारीको दर्ताको प्रमाणपत्रमा कुल वजन, भारवहन क्षमता तथा भाररहित वजन समेत छुट्टाछुट्टै रुपमा स्पष्ट हुने गरी उल्लेख गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, भारवहन नियमन सम्बन्धी निर्देशिकाको बुँदा नं. ९(क), १३(क)–२ तथा अनुसूची–१ अनुसार सडकमा सञ्चालनका क्रममा कायम हुनुपर्ने कुल वजन स्पष्ट देखिने गरी उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ।
यस विषयमा यातायात व्यवस्था विभागबाट पटक–पटक परिपत्र जारी हुँदै आएको र पछिल्लो पटक २०८१/१०/११ तथा २०८२/०३/१२ मा समेत सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरिएको भए पनि केही यातायात व्यवस्था कार्यालयहरूले हालसम्म पनि निर्देशिका विपरीत आफूखुशी सवारीको कुल भजन तथा भारवहन क्षमता कायम गर्ने गरेको पाइएको विभागले जनाएको छ।
निर्देशिकाविपरीत भएका यस्ता कार्यहरू तत्काल सच्याउनुपर्ने भन्दै विभागले कार्यालयहरूबाट जारी हुने सवारी दर्ता प्रमाणपत्र, बाटो इजाजत पत्र र जाँचपास प्रमाणपत्रमा सवारीको कुल वजन र भारवहन क्षमता स्पष्ट रूपमा उल्लेख गर्न तथा सोको प्रभावकारी अनुगमन हुने व्यवस्था गर्न मन्त्रालयस्तरबाट निर्देशन आवश्यक रहेको जनाएको छ।
विभागको मिति २०८२/१०/२६ को निर्णय अनुसार उक्त व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग औपचारिक निर्देशन दिन अनुरोध गरिएको हो।