काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बढ्दो लागत र विनिमय दरको अस्थिरताले गाडीको मूल्य उकालो लाग्दै जाँदा त्यसको प्रभाव नेपाली अटो बजारमा पनि देखिन थालेको छ। तर, तीव्र प्रतिस्पर्धा र संवेदनशील मागका कारण मूल्य कति बढाउने भन्ने निर्णयमा व्यवसायी अन्योलमा परेका छन्।
उत्पादन लागतमा वृद्धि र विदेशी मुद्रा विनिमय दरको उतारचढावका कारण आयात मूल्य महँगिँदै गएको छ, जसले नेपाली आयातकर्तालाई मूल्य समायोजनतर्फ धकेलेको छ। यद्यपि, सुस्ताएर विस्तारै लयमा फर्किन थालेको बजारमा अत्यधिक मूल्यवृद्धिले पुनः माग घटाउने जोखिम रहेको भन्दै व्यवसायी सतर्क देखिएका छन्। प्रतिस्पर्धा र लागतबीच सन्तुलन कायम गर्नु अहिले अटो क्षेत्रका लागि प्रमुख चुनौती बनेको छ।
स्टकमा रहेका गाडी पुरानै दरमा बिक्री भइरहे पनि ती रित्तिएपछि उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था आउने देखिएको छ। अहिले चिनियाँ मुद्रा क्रमशः बलियो बन्दै गएकाले यसको प्रत्यक्ष असर आयात लागतमा पर्ने सांग्रिला मोटर्सका निर्देशक जय गोल्छा बताउँछन्।
अहिले बजारमा विशेषगरी ५० देखि १०० किलोवाट किलोवाट क्षमताका ईभीको माग उच्च छ। स्टक सकिएपछि सोही मोडलका गाडी खरिद गर्दा ग्राहकले पहिलेको तुलनामा केही लाख रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ।
‘अहिले चिनियाँ करेन्सी क्रमशः बलियो बन्दै गएको छ। यसको प्रत्यक्ष असर आयात लागतमा पर्ने देखिन्छ,’ निर्देशक गोल्छा भन्छन्, ‘खासगरी प्रडक्टको आधार मूल्यभन्दा पनि करेन्सीको भ्यालु घटबढका कारण मूल्यमा असर पर्ने हो।’ लङटर्ममा करेन्सीको अवस्था हेरेर मात्र गाडीको मूल्य यति प्रतिशत बढ्ने थाहा हुने उनको भनाइ छ।
उनका अनुसार लङटर्ममा करेन्सीको अवस्था कस्तो हुन्छ भन्ने विषयमा अहिले नै ठोस प्रेडिक्ट गर्न गाह्रो रहेको छ। समयसँगै हेर्नुपर्ने अवस्था भए पनि हालको ट्रेन्डले केही न केही प्रभाव भने पार्ने देखिन्छ। यदि चिनियाँ करेन्सी निरन्तर बलियो हुँदै जाने हो भने आयातको कुल भ्यालु बढ्ने र त्यसको असर बजार मूल्यमा पर्नेछ। यस्तो अवस्थामा चिनियाँ ब्रान्डका अधिकांश प्रडक्टको मूल्य बढ्नेछ।
‘हामीले भर्खरै बी–१० आयात गरेका छौं। यसको बिक्री राम्रो भइरहेको छ,’ उनले भने, ‘जनवरीदेखि हाम्रो व्यवसायले क्रमशः पिकअप लिँदै गएको छ।’ यसअघि सुक्रअन्धका कारण बजारमा केही समय ग्राहक होल्डमा रहे पनि उक्त अवधि सकिएसँगै अहिले व्यवसायको अवस्था सुधार हुँदै गएको गोल्छाको भनाइ छ।
अहिले धेरै ब्रान्डका स्टकका गाडी सकिसकेका छन्। स्टकका गाडी सकिएपछि अब नयाँ आयात हुने विद्युतीय सवारीसाधन (ईभी) को मूल्य बढाउने तयारीमा व्यवसायी छन्। विदेशी मुद्रा अस्थिरता, कच्चा पदार्थ अभाव, ब्याट्री उत्पादन लागतमा वृद्धिसँगै उत्पादकले गाडीको मूल्य बढाएकाले अब नेपाली बजारमा आउने गाडीको मूल्य बढ्ने निश्चित छ।
व्यवसायीका अनुसार अहिले अधिकांश ब्रान्डका स्टकका गाडी सकिसकेका छन् अब आयात हुने नयाँ गाडीको भने मूल्य बढाउनुपर्ने बाध्यता छ।
अहिले बजारमा विशेषगरी ५० देखि १०० किलोवाट किलोवाट क्षमताका ईभीको माग उच्च छ। स्टक सकिएपछि सोही मोडलका गाडी खरिद गर्दा ग्राहकले पहिलेको तुलनामा केही लाख रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ।
सिजी मोटर्सका सीईओ कपिल शिवाकोटी बजेटमा ल्याएका गाडीका केही स्टक बाँकी नै भएको अहिले नगद छुट दिइरहेकाले तत्कालका लागि मूल्य नबढ्ने बताउँछन्। ‘अहिले हामीले स्कटका गाडी नै बेचिरहेका छौं। त्यसकारण नगद छुट दिएको हो,’ उनले भने, ‘नयाँ आयात पनि गरिरहेका छौं स्टकका गाडीमा नगद छुट दिएका छौं।’ नयाँ आयात भएकोमा नगद छुट नभए पनि मूल्य भने नबढ्ने उनको भनाइ छ।
उनका अनुसार सिजी मोटर्सले नयाँ गाडी आयात गरिरहेको छ। तर, नयाँ आयात भएका गाडीमा नगद छुट नदिए पनि पहिले कै मूल्यमा बिक्री भइरहेको छ।
चालू आर्थिक वर्षको बजेटमार्फत् सरकारले ईभीको कर बढाउने हल्लाले व्यवसायीले ठूलो मात्रामा गाडी भित्र्याएका थिए। उक्त समय भित्र्याएका गाडी अहिले पनि कति व्यवसायीले नगद छुटसहित बेचिरहेका छन्। अब स्टक सकिएपछि आयात हुने नयाँ गाडीको मूल्य बढ्ने व्यवसायीको भनाइ छ।
पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनीलबहादुर क्षेत्री बजेटअघि धेरै गाडी आयात गरेकाले तीमध्ये केही अझै स्टकमा बाँकी छन्।
अब ती स्टक लगभग सकिन लागेका छन्। स्टक सकेपछि प्राइस बढ्ने बताउँछन्। ‘बजेटअघि हामीले धेरै गाडी आयात गरेकाले थियौं। तीमध्ये केही अझै स्टकमा बाँकी छन्। अब ती स्टक लगभग सकिन लागेका छन्,’ उनले भने, ‘स्टक सकेपछि केही प्रतिशत गाडीको मूल्य बढ्नेछ।’
सुस्ताएर विस्तारै लयमा फर्किन थालेको बजारमा अत्यधिक मूल्यवृद्धिले पुनः माग घटाउने जोखिम रहेको भन्दै व्यवसायी सतर्क देखिएका छन्।
नयाँ गाडी आयत नभएकाले कति बढ्छ भन्ने फाइनल भएको नभएको उनको भनाइ छ। उनका अनुसार चीनबाट आयात गर्दा चाइनिज करेन्सी अप्रिसियट भएको छ। अहिले सीएनवाईको रेट २० रुपैयाँ ८२ पैसा छ, जबकि जेठमा त्यो १९ रुपैयाँ जति थियो। लगभग दुई रुपैयाँको फरकले नै एक लाख सीएनवाईमा करिब दुई लाख रुपैयाँसम्म लागत बढ्छ। त्यसैले नयाँ आयात हुने गाडीको मूल्य बढ्ने सम्भावना छ।
अहिले नेपालको अटोमोबाइल बजारमा आयातकर्ता धेरै भएकाले प्रतिस्पर्धा निकै बढेको छ। यसले गर्दा लागत मूल्यमा आएको वृद्धिलाई व्यवसायीले पूर्ण रूपमा ग्राहकमाथि थोपर्न सकेका छैनन्। हाल गाडीको मूल्य बढ्नुमा उत्पादन लागत बढ्नु र करेन्सीले असर परेको लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया बताउँछन्।
‘अहिले विभिन्न कारणले मूल्य बढाउनुपर्ने अवस्था आए पनि धेरैजसो म्यानुफ्याक्चरर र डिस्ट्रिब्युटरले कस्ट आंशिक रूपमा एब्जर्ब गरेका छन्,’ उनले भने, ‘प्रतिस्पर्धा धेरै भएकाले मूल्य धेरै बढाउँदा ग्राहकको आकर्षण घट्ने डर हुन्छ।’ १०–१५ प्रतिशत मूल्य बढाउनुपर्ने अवस्था भए पनि ५ प्रतिशत मात्र बढाएर बाँकी आफैंले व्यहोर्ने गरेको ट्रेन्ड देखिएको उनको भनाइ छ।