काठमाडौं। छिमेकी बंगलादेशको आमनिर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले बहुमत ल्याएको छ। कुल ३०० सिटमध्ये हालसम्म बीएनपीले २११ सिट जितेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
जमुना टीभी प्रसारकले प्रारम्भिक परिणाम उद्धृत गर्दै बीएनपी र उसका सहयोगीले २९९ निर्वाचन क्षेत्रका सिटमध्ये २११ जितेका बताएको छ। प्रतिद्वन्द्वी जमात–ए–इस्लामी गठबन्धनले ७० सिट जितेको छ। यो बीएनपीका लागि ठूलो विजय हो।
यद्यपि लामो समय सत्तामा रहेको शेख हसिनाको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएपछि ठूलो संख्याले मतदान नगरेको बताइन्छ। हसिना हाल भारतमा निर्वासित जीवन बिताइरहेकी छन् भने उनले निर्वाचन परिणामलाई अस्वीकारेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

बंगलादेशको निर्वाचन आयोगले ४८ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको छ। पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित छ।
बिहीबार बंगलादेशमा १२ करोड ७० लाख बढी मतदाताले निर्वाचनसँगै संवैधानिक सुधारका लागि ‘जुलाई राष्ट्रिय बडापत्र’सम्बन्धी जनमतसंग्रह पनि एकैसाथ आयोजना गरिएको थियो। यसपटकको निर्वाचनमा ५१ राजनीतिक दलका १ हजार ९८१ उम्मेदवार चुनावी मैदानमा थिए।
तारिक रहमान प्रधानमन्त्री
तारिक रहमान २५ डिसेम्बर २०२५ मा ब्रिटेनबाट बंगलादेश फर्किएका थिए। उनको फर्किएको पाँच दिनपछि पूर्वप्रधानमन्त्री तथा उनकी आमा खालिदाको निधन भयो । त्यसपछि बीएनपीको पूर्ण नेतृत्व उनको हातमा आयो।
तारिकमाथि २००१ देखि २००६ को बीएनपी शासनकालमा भ्रष्टाचारका आरोप लागेका थिए। २००७ मा अन्तरिम सरकारको समयमा उनी १८ महिना जेल बसेका थिए। पक्राउबाट बच्न २००८ मा उनी लन्डन भागेका थिए। त्यसबेला उनलाई उपचारका लागि देशबाहिर जाने अनुमति दिइएको थियो। त्यसपछि उनी देश फर्किएनन्।

टाइम म्यागजिनका अनुसार, देशबाहिर बस्दा पनि बीएनपीमा तारिकलाई नै पार्टीको नेता मानिन्थ्यो। पार्टीको रणनीति, आन्दोलन र राजनीतिक निर्णयमा उनकै हात हुन्थ्यो।
सदनमा कुल ३५० सांसद हुन्छन्, जसमध्ये ३०० सांसद एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुन्छन्। थप ५० सिट महिलाका लागि आरक्षित छन्। एक उमेदवारको मृत्युका कारण २९९ सिटमा मात्र निर्वाचन भएको थियो।
बंगलादेशमा सन् २०२४ को विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनपछि पहिलो निर्वाचन हो, जसले १५ वर्षको शेख हासिना शासन अन्त्य गरेको थियो।–एजेन्सी